आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बझाङमा पहिरोको बितण्डा, ठाउँठाउँमा पहिरो

शनिबार, १२ भदौ २०७८, २१ : ०६
शनिबार, १२ भदौ २०७८

लगातारको वर्षाका कारण बझाङका विभिन्न ठाउँमा पहिराले क्षति पुर्याएको छ । पहिरोका कारण केही परिवार विस्थापित भएका छन् । गए राति वित्थडचिर गाउँपालिका–६ मा दिलबहादुर धामीको चार कोठे तीनतले घरको पछाडिबाट आएको पहिराले घरमा क्षति पुगेको छ । 

पहिराले घरको पर्खाल भत्काउँदा घरभित्र रहेका भाँडाकुँडा र अन्नमा क्षति पुगेको छ । धामीको परिवार विस्थापित भएर अर्को घरमा सरेका छन् । पहिरो आएको थाहा पाएपछि मानवीय र पशु चौपाया जोगाउन सकिएको धामीले बताए । यस्तै पहिराले केदारस्युँ गाउँपालिका–५ चौडेल्लीमा देवबहादुर गुधार्मीको घरमा पनि क्षति पुर्याएको छ ।

गुरुधार्मीको परिवार छिमेकीको घरमा बसिरहेको प्रहरीले जनाएको छ । सोही ठाउँकै करन धामीको घरको आँगन भत्किँदा घर जोखिममा परेको जनाइएको छ । चौडेल्लीकै नरुवा धामी, जयभान धामी, जसुवा धामीको घरमा पहिरो आएर सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध

लगातारको अविरल वर्षाका कारण आएको पहिराले बझाङको चैनपुर ताक्लाकोट सडकखण्ड अवरुद्ध बनेको छ । जयपृथ्वी नगरपालिका–११ कपडे पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिराले सडक अवरुद्ध भएपछि सुनिकोट, धमेना, रुपातोला, तलकोट, साइपाल तथा गाउँकै विभिन्न स्थानबाट चैनपुर आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् । अविरल वर्षाका कारण बझाङको जयपृथ्वी राजमार्ग र यसका शाखा सडकमा पहिरो आउँदा अवरुद्ध बनेका छन् ।

गए रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्गअन्तर्गत नारुगौडा खोलामा आएको बाढीले गर्दा आज दिउँसो १२ बजेपछि मात्रै सञ्चालनमा आएको छ । यस्तै बुङ्गल–४ झापामा पहिरो आउँदा बिजगडा–कफलसेरी ग्रामीण सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । गए रातिदेखि पहिरो खसिरहेको कचाली खोलामा बेला–बेलामा खोल्दै अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप