ad
विश्लेषण

केपी vs माधव : को बलियो, को दुब्लो ?

person explore access_timeभदौ ११, २०७८ chat_bubble_outline1

 


कुनै पनि विषयको विश्लेषण गर्दा SWOT एनालाइसिस सम्बन्धी एउटा मान्य सिद्धान्त छ । यो सिद्धान्तअनुसार विश्लेषण गर्दा सबलता (Strength), कमजोरी (Weakness), अवसर (Opportunity) र चुनौती (Threat Analysis) समेत चारवटा पक्षलाई हेर्ने गरिन्छ । विश्लेषणको यो सिद्धान्तले विषयवस्तुलाई न्याय गर्न सक्छ र यसमा कसैप्रति पनि पूर्वाग्रह वा आशक्ति झल्कँदैन । 
 
प्रस्तुत लेखमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) को विश्लेषण गर्ने प्रयास गरिएको छ । ओली नेतृत्वको नेकपा एमालेका सबलता, दुर्बलता, अवसर अनि चुनौती के–के छन् ? त्यस्तै माधव नेपालसँग के कस्ता सबलता, दुर्बलता, अवसर र चुनौतीहरु छन् ? यिनै विषयमा यहाँ चर्चा गरिनेछ । तर, एमालेका विभाजित दुई समूहबारे विश्लेषण गर्नुअघि अर्को एउटा ‘हाइपोथेटिकल’ प्रश्नमा बहस गर्न जरुरी देखिएको छ । र, यो प्रश्नचाहिँ SWOT एनालाइसिस भन्दा बाहिरको विषय हो ।



नेकपा एमाले विभाजित हुँदै गर्दा ओली पक्षका नेताले अक्सर के भन्ने गरेका छन् भने फुटेको पार्टीको भविश्य छैन । पूर्वमाले, शेरबहादुर देउवाले फुटाएको काँग्रेस प्रजातान्त्रिक वा माओवादीबाट फुटेका विभिन्न चोइटाहरुको दृष्टान्त दिँदै माधव नेपालको पनि  भविश्य राम्रो नरहेको विश्लेषण एमालेको संस्थापन पक्षबाट हुँदै आएको यहाँ स्मरणीय छ । फुटेर जाने माधव नेपालहरुको भविश्य नै छैन त ? भविश्य जति सबै एमालेको पोल्टामा मात्रै आरक्षित छ त ? यस्तो ‘हाइपोथेटिकल’ विषयमा भविश्यवाणी गर्नु यो लेखको उद्देश्य होइन । 



यो लेखमा माधव नेपालको भविश्य राम्रो छ भनेर सिद्ध गर्न खोजिएको होइन । तर, हामीले माले–एमालेको पुरानो विभाजनलाई सन्दर्भ सामग्रीका रुपमा लिँदैगर्दा प्रकृति र समाजको यो नियमलाई पनि ख्याल गर्न जरुरी छ कि इतिहास पुरानै तरिकाले हुबहु दोहोरिन्छ वा नयाँ तथ्य र परिघटनाका आधारमा नयाँ घटनाक्रम विकसित हुँदै जान्छ ? नयाँ राजनीतिक घटनाक्रमलाई पुरानोकै पुनरावृत्तिका रुपमा सूत्रवद्ध गरेर हेर्नु विज्ञानसम्मत् दृष्टिकोण हो वा जडसूत्रवाद हो ?



पार्टीमा आउने टुटफुटको आन्तरिक विश्लेषण नगरी बाहिरी दृष्टान्तको मात्रै कुरो गर्ने हो भने धेरै टाढा जानुपर्दैन, एकपटक सिक्किमतिर फर्केर हेरौं ।



फुटेको पार्टीको ऐतिहासिक स्कोर !



सन् १९७४ मा सम्पन्न चुनावमा लेण्डुप दोर्जे खाङसार्पाको दल सिक्किम काँग्रेसले संसदका कुल ३२ मध्ये ३१ सिट जित्यो । जबकि १९७९ को चुनावमा लेण्डुपको पार्टीले एक सीट पनि जितेन । त्यसपछिको डेढ दशकसम्म सिक्किम संग्राम परिषदका नेता नरबहादुर भण्डारीको रजगज शुरु भयो ।

मुख्यमन्त्रीका रुपमा भण्डारीले सन् १९७९ देखि १९९४ सम्म, अर्थात १५ वर्षसम्म तीन कार्यकाल जितेको जित्यै गरे । विधानसभाका ३२ सीटमध्ये उनको पार्टीले प्रायः ३२ सीट नै जित्यो, दुई–चार सिटमा हारे पनि अन्य सांसदहरु सिक्किम संग्राम परिषदमै प्रवेश गर्थे र विधानसभा विपक्षीविहीन बन्न पुग्थ्यो । सिक्किममा नरबहादुर भण्डारीलाई चुनौती दिन सक्ने न कुनै दल थियो, न पार्टीभित्र कुनै प्रतिस्पर्धी नेता ।
 
सिक्किम संग्राम परिषदभित्र अन्तरविरोध देखा पर्न थाल्यो । भण्डारीको कार्यशैली, राज्यमा बढेको भ्रष्टाचार र बेथितिको विरोध गर्दै आफ्नै पार्टीका नेता पवन चाम्लिङले प्रश्न उठाउन थाले । पवन चाम्लिङ एउटा सामान्य गरिब परिवारमा जन्मेका कार्यकर्ता थिए, भण्डारी दिल्लीले समेत पत्याएका शक्तिशाली नेता । 
 
चाम्लिङले पार्टीभित्र प्रश्न उठाउन थालेपछि भण्डारीले उनीमाथि घोर अपमान सुरु गरे । भण्डारीले उनलाई ‘गुहुको किरा’ भन्ने शब्दवाण प्रहार गरे । त्यसपछि चाम्लिङले अपमानित महसुस गरेर भण्डारीविरुद्ध विद्रोह बोले । सिक्किम संग्राम परिषदबाट विद्रोह गरेर उनले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टी गठन गरे ।
 
पार्टी बनाएको अर्को वर्ष १९९४ मा चुनाव भयो, चाम्लिङ मुख्यमन्त्री बने । १९९९ मा दोस्रो चुनाव भयो, एसडीएफले बहुमत पायो र चाम्लिङ नै मुख्यमन्त्री बने । २००४ तेस्रो चुनाव भयो, फेरि पवन चाम्लिङ नै मुख्यमन्त्री बने । सन् २०१९ सम्म पवन चाम्लिङ चुनाव जित्दै मुख्यमन्त्री बन्दै गरिरहे । उनले पश्चिम बंगालका ज्योति बसुलाई पनि उछिनेर भारतमा सबैभन्दा बढी समय मुख्यमन्त्री बन्ने रेकर्ड बनाए  । पवन चाम्लिङ उनै व्यक्ति थिए, जसले नरबहादुर भण्डारीको शक्तिशाली पार्टीबाट अपमानित महसुस गरेर अर्को दल दर्ता गरेका थिए । 
 
दशकौंसम्म लगातार सत्तारोहण गरेका पवन चाम्लिङलाई चुनौती दिने सिक्किममा न कुनै पार्टी थियो, न कुनै नेता । तर, २०१९ मा उनले आफैंबाट फुटेको एउटा चोइटो पार्टीसँग चुनाव हारे । र, सन् २०१९ देखि आफ्नै पूर्वकार्यकर्ता प्रेमसिंह तामाङ गोले सिक्किमको मुख्यमन्त्री बनेका छन् । गोले नेतृत्वको ‘सिक्किम क्रान्तिकारी मोर्चा’ सन् २०१३ मा पवन चाम्लिङको एसडीएफबाटै फुटेर बनेको हो, जसले स्थापनाको ६ वर्षपछि चुनावमार्फत् पवन चाम्लिङको पार्टीलाई विस्थापित गरिदियो । यसरी, सिक्किममा पटक–पटक फुटेको पार्टीले माऊ पार्टीलाई विस्थापित गरिदिएको रेकर्ड छ । चाहे नरबहादुर भण्डारीका पालामा होस्, चाहे पवन चाम्लिङका पालामा ।

नेपालमा प्रश्न उठ्छ– हामीले नेकपा मालेलाई मात्रै हेर्ने कि सिक्किमतिर पनि हेर्ने ? फ्रान्सका म्याक्रोन वा दिल्लीका केजरीवाललाई पनि हेर्ने कि देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकलाई मात्र हेर्ने ? राप्रपा र राप्रपा नेपाललाई पनि हेर्ने कि ? नेपालको उदाहरणमात्रै हेर्ने कि बाहिरको पनि हेर्ने ? पश्चिम बंगालका ज्योति बसुलाई हेर्ने कि आँखा चिम्लने ? नेपालकै उदाहरण हेर्दा पनि एमालेलाई मात्र हेर्ने कि प्रजापरिषदलाई पनि हेर्ने ? पुष्पलालको पार्टीलाई हेर्ने कि नहेर्ने ? विद्रोही झापाली समूह (माले) लाई हेर्ने कि नहेर्ने ? मोहनविक्रम सिंह र प्रचण्डको पार्टीलाई तुलना गर्ने कि नगर्ने ?

यसरी उदाहरणहरुको पछाडि कुदेर नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का बारेमा सही निश्कर्ष निकाल्न सकिँदैन । राजनीतिशास्त्र एवं समाजशास्त्रको आधुनिक सिद्धान्तले भन्छ, तथ्यहरुमा आधारित भएर विश्लेषण गर्नुपर्छ । सर्भे गर्नुपर्छ । रिसर्च गर्नुपर्छ । मार्क्सवादले पनि भनेकै छ, परिवर्तनको मुख्य आधार बाह्य होइन, आन्तरिक हो । त्यसर्थ, केपी ओली र माधव नेपालको पार्टीको भविश्य कस्तो होला भनेर विश्लेषण गर्नका लागि उनीहरुको आन्तरिक सबलता, दुर्बलता अनि सम्भावना र चुनौतीहरुको ‘माइक्रो एनालाइसिस’ गर्नुपर्ने हुन्छ । नेपाली समाजको वस्तुगत अवस्था र एमालेको धरातलमै टेकेर विश्लेषण गर्नुपर्ने हुन्छ ।

अब SWOT एनालाइसिस विधिबाट नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को विश्लेषण गरौं ।

नेकपा एमालेको विश्लेषण : 

सबलता (Strength)–प्रथमतः केपी ओली नेतृत्वको नेकपा एमालेको सबल पक्ष भनेको पार्टी विभाजन हुँदा नाम र चुनाव चिन्ह सुरक्षित हुनु हो । परिचित नाम र चुनाव चिन्हबाट भोट माग्ने एमालेलाई सुविधा छ । 

दोस्रो– एमालेका अध्यक्ष केपी ओली राष्ट्र, अन्तरराष्ट्रले चिनेका नेता हुन् । ओलीजस्तो शक्तिशाली व्यक्ति नेतृत्वमा हुनु एमालेको सबल पक्ष हो । ओलीमा अधिक सक्रियता छ । उनमा संकटलाई पचाउने र जुध्ने ईच्छाशक्ति पनि बलियो छ ।

तेस्रो– एमालेसँग देशभरि बलियो र स्थापित संगठनको जालो छ । पार्टी फुटे पनि संघीय संसदमा एमाले नै सबैभन्दा ठूलो दल हो । संघीय संसदका १५४ सांसद ​ ( प्रतिनिधिसभाका १२१ र राष्ट्रियसभाका ३३ समेत)  ​मध्ये ३४ जना (सनाखत नभएका ४ सहित) माधव नेपालको पार्टीमा लागेका छन् भने एमालेसँग अझै  दुबै सदनमा १२० सांसद छन् । प्रदेशमा पनि विपक्षीकै रुपमा भए पनि एमालेको उपस्थिति बलियो छ । स्थानीय तहमा ठूलो संख्यामा जनप्रतिनिधिहरु छन् । देशैभरि कार्यकर्ता र सदस्यहरुको ठूलो संख्या छ । शिक्षक, कर्मचारीहरुको ठूलो पंक्ति एमालेसँग छ । एमालेलाई उच्च–मध्यम वर्गको बलियो साथ छ । सरकारमा हुँदा गरिएका संवैधानिक नियुक्ति आदि कारणले राज्यका सबै निकायमा पार्टीको पहुँच छ । एमालेलाई राष्ट्रपतिको पनि साथ छ ।

चौथो– एमालेको पार्टी–संगठन सापेक्षितरुपमा माथिदेखि तलसम्म चलायमान छ । ओलीलाई ‘बा’ भन्ने र जुनसुकैबेला सडकमा झण्डा बोकेर उत्रन सक्ने युवाहरुको सक्रिय टिम छ । सरकारको सानो कमजोरी देखिनासाथ विरोध जनाइहाल्ने चनाखो घ्राणशक्ति छ ।

पाँचौं– एमाले अध्यक्ष ओलीसँग सत्ता र पार्टी चलाएको अनुभव छ । यही प्रभावका कारण ठूला घरानियाँ व्यापारीहरुको पनि साथ रहेकाले पार्टीमा आर्थिक अभाव छैन ।
छैंठौं– एमालेले विस्तारै दक्षिणपन्थी शक्तिहरुको पनि समर्थन पाउन थालेको अवस्था छ । संघीयता, धर्म निरपेक्षताको विरोध गर्ने अनि हिन्दुधर्म र एकल राष्ट्रवादको वकालत गर्ने जनमत पनि विस्तारै ओलीतर्फ आकर्षित हुन थालेको छ ।

र, सातौं– पछिल्लो समय माधव नेपाल समूहमा रहेको तेस्रो धारलाई पनि आफूसँगै ल्याएर ओली थप बलियो बनेका छन् । आगामी मंसिरमा महाधिवेशन गर्ने कार्यसूची तय गरेको एमालेको अध्यक्ष पदमा ओलीलाई चुनौती दिने प्रतिपक्षी नेताको अभाव देखिएको छ । प्रस्तावित विधानले पनि ओलीलाई पार्टीभित्र थप शक्तिशाली बनाएको छ । समग्रमा भन्दाखेरि माधव नेपाल पक्ष पार्टीबाट बाहिरिए पनि एमाले कमजोर नहुने विश्वास सो पार्टीका नेताहरुमा विश्वास देखिएको छ, जुन एमालेको सबल पक्ष हो । 

कमजोरी (Weakness)–  एमालेको पहिलो कमजोरी स्वयं केपी ओली नै हुन् । सामुहिक नेतृत्व नभएर व्यक्ति सर्वेसर्बा भएकाले ओलीले गल्ती गर्दा सिंगै पार्टीलाई क्षति पुगेको छ । सामुहिक निर्णयमा चलेको भए दुईचोटि संसद विघटन हुने थिएन र पार्टीलाई यति धेरै क्षति, यतिधेरै बदनामी हुने थिएन । त्यसैले, ओलीको व्यक्तिवाद र सामुहिक लिडरसिपको अभाव एमालेको पहिलो कमजोरी हो ।

दोस्रो– एमालेको तेस्रो कमजोरी पराजयको विरासत हो । सरकारमा रहँदा दुई तिहाई गुमाएको, प्रधानमन्त्रीको लोभमा परेर माओवादी र एमालेको एकतालाई जोगाउन नसकेको, माधव नेपाल पक्षलाई अपमानित गरेर एमालेभित्र पनि फुटको वातावरण बनाएको इत्यादि आक्षेपहरु एमाले नेतृत्वमाथि लागेका छन् । र, यसैको जवाफ फर्काउँदैमा एमाले नेताहरुको ऊर्जा नाश भइरहेको छ । छँदाखाँदाको सत्ता चलाउन नजानेको, विपक्षी अनि आफ्नै कमरेडहरुमाथि छुद्र बचन लगाएर वातावरण बिगार्ने गरेको, विपक्षीसँग रुखो हुने गरेको, पार्टी भन्दा पनि गुटमा रमाउने गरेको आदि इत्यादि जुन आरोपहरु एमालेको नेतृत्वमाथि लाग्ने गरेका छन्, यी आरोप मात्र होइनन्, एमालेका कमजोरी पनि हुन् । तर, एमाले नेतृत्वको भवितव्य के हो भने उनीहरुले यी कमजोरीलाई देख्न वा स्वीकार्न सकेका छैनन् । यो उनीहरुको कमजोरीमाथिको अर्को कमजोरी हो । अहिले पार्टी फुटेर सीमित नेता–कार्यकर्ताहरु माधव नेपालतिर लागे पनि यसले आगामी चुनावमा एमालेलाई थप कमजोर बनाउने छ । एमालेले बोकेको पराजयको यो विरासत आगामी चुनावमा निकै महंगो पर्न सक्छ ।

तेस्रो– गुमेको राजनीतिक साख एमालेको चौथो कमजोरी हो । एमालेले संविधान, संसदीय मूल्य मान्यता, स्वतन्त्र न्यायालय र लोकतन्त्रमाथिको प्रतिवद्धता ‘लुज’ गरेको छ । राजनीतिक–वैचारिक रुपमा हेर्दा कम्युनिस्ट विचार र सिद्धान्तमा भन्दा पनि कमल थापाको जस्तै रामपन्थी र दक्षिणपन्थी लाइनमा ढल्कन खोज्नु एमालेको वैचारिक कमजोरी हो । महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाएर दक्षिणपन्थी छनक दिइसकेका छन् । यो दक्षिणपन्थी मोहबाट एउटा तप्काको विश्वास त जित्न सकिएला, तर यसले पार्टीको पुरानो वैचारिक धरातल र जनाधार भत्काउन सक्छ । नेपालमा वामपन्थीहरुको जनाधार कमजोर छैन । दक्षिणपन्थीलाई खुशी पारेरै शक्ति आर्जन हुने भए गाई चुनाव चिन्ह भएको राप्रपा २४ सीटबाट एक सीटमा झर्ने थिएन । त्यसैगरी, राष्ट्रवादी जनमतलाई विश्वासमा लिन चर्को राष्ट्रवादको कुरा गर्ने, सत्ता जोगाउन भारतसँग लपक्क हुँदै गुप्तचरसँग सम्बन्ध बढाउने र महन्थ ठाकुरसँग साँठगाँठ गर्नसम्म तयार हुने एमालेको व्यवहारले उसको वैचारिक प्रतिवद्धता अस्थिर एवं कमजोर बनाएको अवस्था छ  । अहिले पनि एमालेभित्र संसद विघटनलाई हेर्ने दृष्टिकोणमा एकरुपता छैन । सर्वोच्च अदालतको फैसलालाई हेर्ने बुझाइमा पनि एमालेभित्र अन्तरविरोध कायमै छ । यसरी, राष्ट्रिय मुद्दामै पार्टीभित्र समान बुझाइ नहुनु र मत बाझिनु एमालेको ‘ट्रेजेडी’ हो ।

चौथो – एमालेको अर्को कमजोरी भनेको गुटबन्दी र पार्टी विभाजन हो । पार्टीलाई एकतावद्ध बनाउन नसक्नु एमालेको ठूलो कमजोरी हो । संगठन सञ्चालनका हिसाबले ओली ‘होमोजिनियस’ विचारका पक्षपाती हुन् । उनी गुटका प्रवर्तक हुन् । विपक्षीविहीन पार्टी ओलीको परिकल्पना र चाहना हो । तर, यस्तो परिकल्पनाले गुट बनाउन सकिन्छ, पार्टी बनाउन सकिँदैन । यस्तो ‘एकमनावादी’ कमजोरीका कारण एमालेभित्र फेरि गुटबन्दी मौलाउन सक्छ । किनभने, अहिले पनि एमालेमा ‘पूर्वमाधव नेपाल समूह’ र ‘पूर्वमाओवादी समूह’ बाँकी नै छन् । पूर्वमाओवादीले पार्टीभित्र भाग खोज्ने र पूर्वमाधव समूहले राजनीतिमा ‘स्पेस’ खोज्ने परिस्थितमा ओलीले के गर्लान् ? ओलीको कमजोरी फेरि पनि यहीँनेर प्रकट हुन सक्छ । 

पाँचौं– नेकपा एमालेभित्र केपी ओली शक्तिशाली नै रहे पनि ओली समूहभित्र अन्तरविरोध छ । कतिपय नेताहरुवीच पानी बाराबारको अवस्था छ । जस्तो–महेश बस्नेत र गोकुल बास्कोटाबीच राम्रो सम्बन्ध छैन । राजनीतिक मुद्दाहरुलाई हेर्ने मामिलामा पृथ्वीसुब्बा गुरुङ र केपी ओलीकै मतो मिल्दैन । सुवास नेम्वाङ पनि ओलीका गतिविधिसँग पूर्णरुपमा सन्तुष्ट देखिँदैनन् । महासचिव ईश्वर पोखरेल ओली समूहबाटै दमित पात्र हुन् ।  एमालेमा लागेका भनिएका प्रभु साह अर्कै दल खोल्ने तयारीमा लागिसकेका छन् । पार्टीभित्र राष्ट्रपतिको बेग्लै गुट छ, जस्तै– राष्ट्रपतिनिकट शिवमाया तुम्वाहाङ्फे चुनावमा उठे बागी उठ्ने तयारीमा ओली समूहकै नेताहरु छन् । यसरी बाहिरबाट हेर्दा एउटै देखिए पनि अन्तरविरोधको जञ्जालमा घेरिएको छ एमाले, जुन उसको कमजोरी हो ।

अवसर (Opportunity)

एमाले अध्यक्ष केपी शर्मा ओली ‘भल छोप्न’ सिपालु नेता मानिन्छन् । अहिलेको परिस्थिति र आफ्ना कमजोरीहरुलाई उनले अवसरमा बदल्न कोसिस गर्न सक्छन् । त्यसो गर्दा नेकपा एमालेसामु केही अवसरहरु पनि छन् । जस्तो– शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आउँदो १६ महिनामा राम्रो छवि कायम गर्ने सम्भावना देखिएको छैन, यो नेकपा एमालेका लागि एउटा अवसर हो । नेपाली काँग्रेस महाधिवेशनको आन्तरिक किचलोमा छ, माओवादीले पनि प्रभावकारी काम गर्न सकेको छैन । जसपा आफैं फुटेको छ । गठबन्धन सरकारको काम गराइप्रति जनता खासै सन्तुष्ट हुन सकेका छैनन् । आगामी फागुनमा हुने स्थानीय चुनावसम्म एमालेले सत्तापक्षको यो असन्तुष्टिलाई ‘क्यास’ गर्ने अवसर उसँग छँदैछ ।

पार्टीभित्र जसरी माधव नेपाल पक्षका नेताहरु आएका छन् र माओवादी नेताहरु आएका छन्, उनीहरुलाई विश्वासमा लिएर अघि बढ्यो भने प्रचण्ड र माधव नेपालतर्फका कार्यकर्तालाई आकर्षित गर्ने अवसर पनि एमालेसँग छ । तयार यसका लागि उसले माओवादी जनयुद्धलाई विद्रूपीकरण नगर्ने र संसद विघटन लगायतका विषयमा तेस्रो धारको लाइनलाई समर्थन गर्नुपर्ने हुन्छ । त्यो अवस्थामा एमाले प्रचण्ड–माधव नेपालसँग रहेका कार्यकर्तालाई तान्न सक्छ । वा फराकिलो छाती बनाएर फेरि वाम एकता वा गठबन्धनको दिशातिर जाने वातावरण निर्माण गर्न सक्छ । वाम गठबन्धनको मौहाल बनाउन सक्यो भने एमालेले आगामी चुनावमा आउने संकटलाई फेरि २०७४ सालमा जस्तै अवसरमा बदल्न सक्छ ।
देउवा सरकारको अलोकप्रियतालाई क्यास गर्ने मामिलामा त एमाले नेताहरु लाग्लान्, तर उनीहरुले काँग्रेससँग गठबन्धन बनाएका वामपन्थी दललाई आगामी चुनावसम्म आफ्नो नजिक ल्याउलान् त ? दोस्रो प्रश्नलाई उनीहरुले गम्भीरतापूर्वक लिएनन् भने एकमना पार्टी बनाएरै बहुमत जुटाउने दुस्साहसतर्फ लाग्नुबाहेक अर्को विकल्प एमालेसँग छैन, जुन निकै नै चुनौतीपूर्ण छ । किनभने, एमाले अहिले चुनौतीको घेराबन्दीमा परेको पार्टी हो ।    

चुनौती (Threat Analysis) –

नेकपा एमालेको सबैभन्दा ठूलो चुनौती भनेको काँग्रेस–माओवादीसमेत बनेको पाँच दलीय गठबन्धन नै हो । यो गठबन्धन आगामी चुनावसम्म पनि कायमै रह्यो भने एमालेमाथि ठूलो ‘थ्रेट’ हुन सक्छ । माधव नेपालहरुले फुटेर बेग्लै पार्टी बनाएको अवस्थामा गठबन्धनसँग चुनावको सामना गर्नु सामान्य चुनौती हुनेछैन । यसमा माधव नेपाल पक्षले गणितीयरुपमा एमालेलाई ठूलो क्षति नपुर्याउलान्, माधव नेपालहरुले विगतको मालेले जस्तै चुनाव नजित्लान्, तर एमालेलाई हराउनका लागि माधव नेपालहरुको भूमिका पर्याप्त हुन सक्छ । र, यसको सोझो फाइदा काँग्रेसले लिन सक्छ । 
सारमा– नेकपा एमालेका जे–जति कमजोरी छन्, तिनको समाधान गर्नु उसका लागि सबैभन्दा ठूलो चुनौती हो । परिस्थितिले अहिले एमालेलाई संघ र प्रदेशका सरकारहरुबाट बाहिर पारेको छ, भोलि गठबन्धनले मिलेर स्थानीय तहबाट पनि एमालेलाई बहिर्गमित गराउने खतरा छ । यो खतराको सामना कसरी गर्ने भन्ने नै एमालेको सबैभन्दा ठूलो चुनौती हो । राजनीतिक क्षेत्रमा एमालेको चुनौती सत्तारुढ गठबन्धन हो भने सांगठानिकरुपमा उसको चुनौती माधव नेपाल समूह हो । र, वैचारिकरुपमा एमालेको चुनौती दक्षिणपन्थी ‘तीर्थयात्रा’ हो । अझ, यी चुनौतीहरुको सामना केपी ओलीकै नेतृत्वमा गर्न खोज्नु एमालेभित्रको अर्को बडेमान चुनौती हो । 

नेकपा (एकीकृत समाजवादी) को विश्लेषण

 

सबलता (Strength)–नेकपा एमालेका पूर्वमहासचिव, पूर्वप्रधानमन्त्री तथा निवर्तमान बरिष्ठ नेता माधवकुमार नेपालले २०३ मध्ये ५५ जना केन्द्रीय सदस्यहरु र १५४ मध्ये ३४ जना सांसद (सनाखत नभएका ४ सहित) लिएर भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् । संसदमा उपस्थितिका हिसाबले एकीकृत समाजवादी पार्टी चौथो शक्ति बनेको छ, जुन किनारामा पारिएका विद्रोही एमाले नेताहरुको पहिलो सफलता हो । माधव नेपालको पहिलो सबल पक्ष भनेको अब उनीसँग आफ्नै नेतृत्वमा र विचारमा अघि बढ्न सक्ने पार्टी छ ।  

दोस्रो– केपी ओलीले सरकार र पार्टीमा गरेका कामहरुको सुरुदेखि नै आलोचना गर्दै आएका नेता नेपालले दुबैचोटि संसद विघटन हुँदा त्यसको राजनीतिक प्रतिरोध गरे । दोस्रोचोटि संसद विघटन हुँदा पनि दह«ोसँग खुट्टा टेकेर उचिए । यो भूमिकाका कारण माधव नेपाल र एकीकृत समाजवादी पार्टीका नेताहरुको लोकतन्त्रप्रतिको निष्ठा र छवि राम्रो बनेको छ । संसद विघटन गरेर एमालेले लगाएको दाग माधव नेपालको दौरामा परेको छैन, यो वैचारिक हिसाबले सबल पक्ष हो ।

तेस्रो– अहिलेको सरकारमा माधव नेपालको पार्टी गणतीय हिसाबले निर्णायक पोजिसनमा छ । कतिपय प्रदेशहरुमा पनि एकीकृत समाजवादी पार्टी निर्णायक पोसिजसनमा छ । स्थानीय तहको अवस्था धेरै खुलिसकेको छैन । तर, धेरै ठाउँमा स्थानीय जनप्रतिनिधिहरु माधव नेपालको पक्षमा लाग्ने अनुमान गरिएको छ । एकीकृत समाजवादी पार्टी नवगठित नै भए पनि माधव नेपाल नेतृत्वको यस पार्टीको उपस्थिति देशैभरि छ । झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल, प्रदीप नेपाल बाहेक पहिलो पुस्ताका ठूला नेताहरु नयाँ दलमा खासै नलागे पनि केन्द्रीय कमिटीमा ५५ जनाको डफ्फा छ । संसदमा पनि चौथो शक्तिका रुपमा ३० जनाको उपस्थिति छ ।  विगतमा सामानान्तर संगठन बनाइएकाले देशैभरि सानै पैमानामा भए पनि संगठनको अस्थित्व छ । संगठनात्मक हिसाबले यो सबल पक्ष हो ।

चौथो– अब हुने मन्त्रिपरिषद विस्तारमा माधव नेपालको पार्टीले महत्वपूर्ण मन्त्रीहरु पाउने पक्कापक्की छ । यदि यो पार्टीका नेताहरुले सरकारमा गरेर राम्रो काम गरेर जनताको मन जितेर देखाए भने त्यसले पार्टी संगठनको विकास र विस्तारमा सकारात्मक योगदान पुर्याउन सक्छ । यसरी सरकारमा गएर भूमिका खेल्ने अवस्थामा हुनु एकीकृत समाजवादी पार्टीको अर्को सबल पक्ष हो । संघमा मात्र होइन, वागमती वा प्रदेश १ मा पनि एकीकृत समाजवादीले गठबन्धनबाट मुख्यमन्त्री पाउने सम्भावना छ । 

पाँचौं– केपी ओली वा अन्य नेताहरुका कारण असन्तुष्ट, अपमानित र निराश बनेका कार्यकर्ताहरुलाई समेट्ने र नयाँ ढंगबाट शक्ति आर्जन गर्ने सम्भावना पनि माधव नेपालको पार्टीलाई छ, जुन अर्को सबल पक्ष हो । कम्युनिस्ट पार्टी कम पराउने, एमालेसँग असन्तुष्ट रहेका तर माओवादीमा पनि जान नचाहनेहरुलाई समेट्ने स्पेस माधव नेपालहरुसँग देखिन्छ ।
 
छैठौं– नेकपा एमालेका संस्थापक नेतासमेत रहेका माधव नेपाल तुलनात्मकरुपमा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डभन्दा सादगी नेता मानिन्छन् । पछिल्लो समयमा प्रतिगमनविरुद्ध लिएको अडानले नेता नेपालको छवि राम्रो बनाएको छ ।  माधव नेपालजस्तो शीर्ष तहको अनुभवी नेता साथमा हुनु एकीकृत समाजवादी पार्टीको अर्को सबल पक्ष हो । साथै, पूर्वप्रधानमन्त्री झलनाथ खनालको बैचारिक साथ अर्को सबल पक्ष हो ।        

कमजोरी (Weakness)–  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सबैभन्दा ठूलो कमजोरी भनेकै यो चिचिलो पार्टी हो । चिचिलोलाई अरुले निमोठिदिने सम्भावना हुन्छ । भोलि अदालतमा मुद्दा हालेर वा नकारात्मक प्रचार गरेर यो पार्टीलाई विपक्षीले सिध्याइदिने सम्भावना रहन्छ । पार्टीको नाम र चुनाव चिन्ह नयाँ भएकाले जनतामा परिचित हुन सकेको अवस्था छैन । साथै यो पार्टीले एमालेसँग अलग हुनुपर्ने कारण केपी ओलीको दक्षिणपन्थी अवसरवादलाई बताए पनि वैचारिक–राजनीतिक भिन्नताहरु प्रष्ट पार्न भ्याएको वा सकेको छैन । आफ्नो सिद्धान्त मदन भण्डारीको जबज नै रहने बताएको छ । जनतामा एमालेभन्दा फरक देखाउन नसक्नु वा नभ्याउनु यो पार्टीको कमजोर पक्ष हो ।

एकीकृत समाजवादी पार्टीमा पूर्वप्रधानमन्त्रधी माधव कुमार नेपाल र झलनाथ खनालको सहभागिता रहे पनि नेताहरुको टिम पर्याप्त छैन । युवा पुस्ताले कति पिकअप लिन्छ, यो पनि अहिल्यै भन्न सकिँदैन । नयाँ पार्टी बनाउने बलियो अठोट भए पनि नेतृत्वको स्थापित टिम साथमा नहुनु एकीकृत समाजवादी पार्टीेको अर्को कमजोरी हो ।  

लामो समयसम्म आफूसँग रहेका तेस्रोधारका नेताहरुलाई माधव नेपालले आफूसँग राख्न सकेनन् । यो माधव नेपालको दोस्रो कमजोरी हो । हिजो नेकपा सिंगै भएका बेला निर्वाचन आयोगमा भएको आधिकारिकतासम्बन्धी विवादमा केपी ओली अल्पमतमा परेको अवस्थामा सूर्य चिन्ह र एमालेको नाममा बढी आशक्ति नदेखाएर चाँडै दाबी प्रस्तुत गरेको भए पार्टीले त्यसबेलै बैधानिकता पाउन सक्थ्यो र अहिले सिंगो नेकपा (ओलीबाहेक) एकै ठाउँ हुन सक्थ्यो । किनभने, त्यसबेला नेकपामा माधव समूहसँग संसद र केन्द्रीय कमिटी दुबै ठाउँमा ५० प्रतिशतभन्दा बढी संख्या थियो । तर, त्यतिबेला माधव नेपालले सूर्यचिन्हको लोभमा कमजोरी गरे । अथवा उनी मध्यमार्गी नेताहरुको कुरा सुनेर अलमलमा परे । 
एमालेजनहरुको नजरमा माधव नेपालको सबैभन्दा ठूलो कमजोरी भनेकै पार्टी फुटाउनु हो । यसलाई तटस्थभावले हेर्दा यसो पनि भन्न सकिन्छ– पार्टी विभाजन किन गरिएको हो भनेर कार्यकर्ता पंक्तिमा औचित्य प्रष्ट्याउन सकेनन् भने यसलाई माधव नेपालको मुख्य कमजोरी मान्नैपर्ने हुन्छ । पार्टी भर्खरै बनेको हुनाले यो प्रश्नको परीक्षण भइसक्न अझै बाँकी छ । सम्भवतः यसको फाइनल परीक्षा आगामी फागुनमा हुने स्थानीय चुनावमा सम्पन्न हुनेछ ।

अवसर (Opportunity) –मूलतः नेकपा एमालेभित्र जुन प्रकारको वैचारिक र संगठनात्मक समस्या छ, त्यसलाई क्यास गरेको खण्डमा नयाँ पार्टी निर्माणका लागि माधव नेपालले अवसर पाउन पनि सक्छन् । सत्तारुढ गठबन्धनमा रहेका कारण जनता समाजवादी पार्टी केही सुविधाजनक अवस्थामा छ ।

 माधव नेपालमा जुन दृढ अठोट देखिएको छ, यसलाई युवा पुस्ताका नेताहरुले वैकल्पिक पार्टी निर्माणको अवसरका रुपमा उपयोग गर्न सक्छन् । माधव नेपालको पार्टीसँग अर्को अवसर पनि छ, त्यो के हो भने एमालेको विकल्पमा देशका सबै वामपन्थी पार्टीहरुको ध्रुवीकरण गर्ने र मूल प्रवाह बन्ने ।     

आगामी फागुनमा हुने स्थानीय चुनाव पनि माधव नेपालका लागि अर्को अवसर बन्न सक्ने देखिन्छ । पार्टी निर्माण भएको केही महिनामै हुने यो चुनावले पार्टीलाई वडा तहसम्म विस्तार गर्ने छ । एमालेबाट टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई माधव नेपालले स्थानीय तहमा टिकट दिन सक्छन् । साथै काँग्रेस, माओवादी र जसपासँग गठबन्धन गरेर उनले स्थानीय तहमा उपस्थिति बनाउन सक्छन् । र, यसले प्रदेश र संघको चुनावका लागि आधार तयार पार्न सक्छ । 


  
चुनौती (Threat Analysis) –माधव नेपाल नेतृत्वको सबैभन्दा ठूलो चुनौती नेकपा एमाले हो । अब नयाँ पार्टीलाई केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा आधार दिनका लागि अब उसले जतासुकै एमालेको सामना गर्नुपर्ने हुन्छ । हिजो माधव नेपालको समूहमा बस्न तयार भएका नेता कार्यकर्ताहरु एमाले नै छाडेर नयाँ पार्टीमा जान हिच्काइरहेको देखिन्छ, जुन माधव नेपालका सामुन्ने उत्पन्न मुख्य चुनौती हो ।  नेता नेपालले नयाँ पार्टी बनाउने आँट त गरेका छन्, तर यो आँटलाई कार्यकर्ताहरुले साथ दिएनन् भने ‘आँट सिद्धान्त’ले मात्रै शक्ति आर्जन हुन सक्दैन । त्यसैले नयाँ पार्टी निर्माण गर्नु निकै नै चुनौतीपूर्ण काम हो ।’ नयाँ पार्टी बनाउँदै गर्दा माधव नेपाल पक्षका नेताहरुले 

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वा उपेन्द्र–बाबुराम नेतृत्वको जसपासँग पार्टी एकता हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ माधव नेपालले दिन सकेका छैनन् । नयाँ पार्टीको सिद्धान्त जबज नै भनिएको हुनाले प्रचण्डहरुसँग एकताको सम्भावना तत्काल देखिँदैन । तर, माओवादीहरु चाहिँ माधव नेपाललाई  ‘कोप्ट’ गर्न लालायित देखिन्छन् । उता, जसपाका अध्यक्ष उपेन्द्र यादव भन्छन्– हामीले कम्युनिस्ट छाडिसक्यौं, हामीसँग पार्टी एकता गर्नेभए कम्युनिस्ट पार्टी भन्न छाड्नुपर्छ ।

यस्तो अवस्थामा माधव नेपाल नेतृत्वको पार्टीको स्पेस कहाँनेर हो ? एमाले, माओवादी वा जसपाभन्दा अलग्गै वामपन्थी पार्टीको स्थान कहाँनेर रहन्छ ? यसबारे प्रष्ट्याउनुपर्ने चुनौती  एकीकृत समाजवादीको काँधमा छ । 

अन्त्यमा,

माधव नेपालले नयाँ पार्टी त बनाए । तर, मूल पार्टी (एमाले) का नेताहरु विगतमा असफल बनेको नेकपा मालेको उदाहरण दिँदै ‘फुटेको पार्टीले नेपालमा गरिखाँदैन’ भन्ने भाष्य स्थापित गर्ने अभियान लागिसकेका छन् । र, मूल चुनौतीपूर्ण प्रश्न नै यहीँनेर छ– माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टीले गरिखाला त ? अथवा, नेकपा एमाले नै  अनन्त कालसम्म अजम्बर, अमर रहिरहला त ?

शायद, बाहिरी उदाहरणहरु दिएर यसको सही जवाफ मिल्दैन । यसका लागि दुबै पक्षको देशभरिको संगठनात्मक स्थितिबारे रिसर्च गर्नुपर्छ । सर्भे गर्नुपर्छ र अनुसन्धानका आधारमा तथ्यहरुको विश्लेषण गर्नुपर्छ । जनताको मनोविज्ञान बुझ्नुपर्छ । ‘भत्रभित्रै के पाकिरहेको छ, त्यो हेर्नुपर्छ । कोठाभित्रबाट पक्षधरतापूर्ण चश्माले हेरेर सत्य पत्ता लगाउन सकिँदैन । र, कतिपय प्रश्नहरुचाहिँ भविश्यलाई नै जिम्मा लगाइदिनुपर्ने हुन्छ ।  

कमेन्ट

  1. Aug. 28, 2021, 10:14 a.m. सचेत नेपाली
    प्रचण्ड र देउवा स‌ग मिली, अाफ्नै पार्टीकाे बहुमत भएकाे सरकार गिराउन गद्दारी भूमिका खेलेका माधव नेपाललाइ इतिहासले समेत माफि गर्नेवाला छैन । केपीलाइ विभिन्न अाराेप लगाउन प्रचण्डलाइ सहयाेग गर्ने, कारवाही गरी पार्टी सदस्य र अध्यक्षबाट नै हटाउने, प्रधानमन्त्री र राष्ट्पतिलाइ महाअभियाेग लगाएर के पी लाइ भित्तैमा पुर्याइदिने, जस्ता पार्टी गद्दारी काम गरेकाे हुनाले माधव नेपालकाे पार्टी कहिल्यै राम्राे पार्टी हुन सक्दैन । सिदान्त नमिल्ने दलस‌गकाे गठबन्धनकाे कारणले कतिवेर गठबन्धन भत्किन्छ भन्न सकिदैन । एक महिना भन्दा बढि भैसक्दा पनि देशले मन्त्रिहरु नपाउनु यसै गठबन्धकाे विग्रदाे उदाहरण हैन भन्न सकिन्न ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।