बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानको गिलगितबाट ३२ वर्ष अघि उडान भरेको त्यो विमान आखिर कहाँ गयो ?

शुक्रबार, ११ भदौ २०७८, १७ : २९
शुक्रबार, ११ भदौ २०७८

‘मेरा पिताले जीवनको अन्तिम साससम्म आफ्नी छोरी, ज्वाईं र अबोध नातिनीलाई याद गरिरहे । जीवनभरी उनले हिमालयका पहाडदेखि अफगानिस्तान र भारतसँग जोडिएका पाकिस्तानको सीमावर्ती इलाकासम्म उक्त विमानको भग्नावशेष खोज्ने असफल प्रयास गरे, जसमा ती (उनकी छोरी, ज्वाईं र नातिनी) सवार थिए । 

गिलगितमा बस्ने शाहिद इकबाललाई जब पीआईएको त्यो उडान, फ्लाइट नम्बर ४०४, बारे सोधियो तब उनले यसको जवाफ यसरी दिए । 

२५ अगस्ट सन् १९८९ बिहान करिब साढे सात बजे गिलगितबाट इस्लामाबाद जाँदै गरेको पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट नम्बर ४०४ मा यात्री र चालक दलका सदस्यसहित कूल ५४ जना सवार थिए । यसमा पाँच दुधे बालबालिका पनि थिए । 

यो विमानले गिलगितबाट उडान भरेको ३२ वर्ष बितिसकेको छ तर यो अहिले पनि हराइरहेको छ । उक्त विमानमाथि के भयो र कस्ता परिस्थितिमा दुर्घटना भयो, यसबारे केही पत्ता लाग्न सकेको छैन । 

अधिकारीले विमानको भग्नावशेषलाई एउटा लामो तर असफल खोजीपछि विमानमा सवार सबैलाई मृत घोषित गरेको थियो । 

यसै विमानमा सवार यात्रीमा शाहिद इकबालका पिता अब्दुल रज्जाककी छोरी निलोफर, उनका श्रीमान् नासिरुद्दी र सानी नातिनी पनि समावेश थिए । 

मोहम्मद इरफान

कहाँ गयो त्यो विमान ?

शाहिद इकबाल भन्छन्, ‘मेरा पिताले आफ्नो जीवनमा व्यक्तिगत रुपमा उक्त विमान खोज्न अत्यधिक कोसिस गरे किनभने उनले भन्थे, ‘के विमान वा त्यसको भग्नावशेष कुनै सियो हो र जुन खोज्दा पनि नभेटिने ?’’

केही समयअघि अब्दुल रज्जाकको निधन भएको छ । 

विमानमा सवार थिए कूल ४९ यात्रीः

यो विमानमा दुई विदेशी नागरिक र पाँच बालबालिकासमेत ४९ यात्री सवार थिए जबकी चालक दलका पाँच सदस्य सवार थिए । यात्रीमध्ये धेरैजसो गिलगित–बाल्टिस्तानका थिए । 

दुई विदेशी यात्रीमा स्वतन्त्र पत्रकार रेना सिड्रेस र शिक्षक पल म्याकगवर्न पनि समावेश थिए । 

शाहिद इकबाल आफ्नी दिदी निलोफरभन्दा चार वर्ष कान्छा छन् । 

उनी भन्छन्, ‘मेरा भिनाजु नसीरुद्दीन कृषि बैंक गिलगितका म्यानेजर थिए । उनी आफ्ना एक वरिष्ठ सहयोगी आसिफद्दीनसँग इस्लामाबाद गइरहेका थिए । विमानमा आसिफुद्दीनकी श्रीमती र बच्चा पनि सवार थिए ।’

‘म आफैंले मेरी दिदी, भिनाजु र सानी भाञ्जीलाई विमानस्थलमा छोडेको थिएँ । त्यहाँ आसिफुद्दीनको परिवार पनि उपस्थित थियो । विमानस्थलमा दुबै परिवार कुराकानी गरिरहेको थियो । जब बिमानले उडान भर्यो तब म घर आएको थिएँ ।’

उनले भने, ‘करिब डेढ घण्टापछि उनीहरु सुरक्षित इस्लामाबाद पुगे कि पुगेनन् भनेर थाहा पाउन खोज्यौं तर हामीलाई बताइयो कि विमान हराइसकेको छ । यो खबर सुनेपछि हामीमाथि पहाड बर्सिए झैं लाग्यो । ’

फ्लाइट नम्बर ४०४ सँग जोडिएका थुप्रै परिवारको पनि यस्तै कहानी छ । 

उनीहरु हात हल्लाउँदै विमान चढेका थिएः

गिलगित निवासी जहूर अहमद रावलपिंडीमा आफ्नो व्यवसाय चलाउँछन् । उनका भाइ एजाज अहमद, मामाका छोरा मोहम्मद इब्राहिम र भाइका साथी मोहम्मद इरफान पनि त्यसै विमानमा सवार थिए । 

उनी भन्छन्, ‘मेरो भाइ इस्लामाबादको एउटा नाइट कलेटमा इन्टरमिडियटको विद्यार्थी थियो । ऊ छुट्टीमा घर आएको थियो र छुट्टी सकिँदै थियो । हाम्रो घर विमानस्थल नजिकै थियो । म आफैंले उसलाई मोटरसाइकलमा विमानस्थल छोड्न गएको थियो । मोहम्मद इब्राहिम हामी अघि नै विमानस्थल पुगिसकेका थिए जबकी मोहम्मद इरफानसँग उनको भेट विमानस्थलमा नै भएको थियो ।’

जहूर अहमद भन्छन्, ‘तीनजना साथीहरु मेरै अगाडि हाँस्दै खेल्दै विमानमा सवार भएका थिए । यत्तिका वर्ष बितिसकेको छ, अहिले पनि त्यो दृश्य बिर्सन सकेको छैन । उनीहरु तीनैजनाले विमान चढ्नु अघि हात हल्लाएर मलाई ‘खुदा हाफिज’ भनेका थिए ।’

जहूर अहमदका अनुसार उक्त घटनापछि उनकी आमा डिप्रेशनमा गइन् । 

‘आफ्नो छोरा गुमाएपछि मेरी आमा जहिले पनि कुनै विमान दुर्घटनाको खबर सुन्थिन्, रुने गर्थिन् । आज ३२ वर्ष बितिसकेको छ, तर हामीलाई अहिलेसम्म पनि थाहा छैन कि विमान के भयो ?’

फ्लाइट नम्बर ४०४ को के भयो ?

बीबीसीले फ्लाइट ४०४ बारे जानकारी हासिल गर्नका लागि पीआईए र सिभिल एभिएशन अथोरिटीसँग सम्पर्क गरे, उनीहरुले यो निकै पुरानो घटना भएको बताउँदै हाल यसबारे कुनै अनुसन्धान रिपोर्ट रेकर्डमा नभएको जानकारी दिए । 

दुबै एजेन्सीले आफूहरु उक्त फ्लाइटबारे कुनै पनि जानकारी दिन असमर्थ भएको बताए । 

एभिएशन सेफ्टी नेटवर्कका अनुसार फ्लाइट नम्बर ४०४ एउटा फोकर एफ–२७ फ्रेन्डशिप विमान थियो जसले सन् १९६२ मा आफ्नो पहिलो उडान भरेको थियो । 

हराउनु अघि विमानले कूल ४४ हजार घण्टाभन्दा बढी समयको उडान भरिसकेको थियो । 

एभिएशन सेफ्टी नेटवर्कका अनुसार यो विमानले २५ अगस्ट सन् १९८९ शुक्रबारको दिन बिहान ७ः३६ बजे गिलगितबाट उडान भरेको थियो । ७ः४० मा चालक दलले कन्ट्रोल रुमलाई ७ः५९ बजे समुद्रको सतहभन्दा १० हजार फिटको उचाईमा हुने बताएका थिए । 

चालक दलको कन्ट्रोल रुमसँग यो अन्तिम सम्पर्क थियो । त्यतिबेलाका केही मिडिया रिपोर्टका अनुसार विमान केही मिनेटसम्म हावामा बसेपछि गायब भएको थियो । 

अब्दुल रज्जाकले आफ्नी छोरी, ज्वाईं र नातिनीलाई अन्तिम साससम्म याद गरे

विमानको खोजी अभियानः

समाचार पत्रमा प्रकाशित एक रिपोर्ट अनुसार पीआईएका प्रवक्ताले मिडियालाई विमान हराएपछि पाकिस्तानको हिमालय पर्वत श्रृङ्खला क्षेत्रमा विमानको खोजी अभियान चलाइएको बताएका थिए । यो अभियानमा अभियानकर्ता, यो क्षेत्रका जानकार स्थानीय मानिससहित कम्तीमा सात सयजना समावेश थिए । 

विमान खोज्ने यो अभियान थुप्रै दिनसम्म चलाइयो । 

हिमालय पर्वत श्रृङ्खलामा चलेको यो अभियानमा पाकिस्तान वायु सेनाका चार हेलिकोप्टर, दुई सी–१३० र दुई पीआईएका विमानले भाग लिएका थिए । 

पाकिस्तानको अधिकारीको अनुरोधमा भारतीय वायु सेनाले पनि आफ्नो क्षेत्रमा विमानको भग्नावशेष खोज्नका लागि एक अभियान चलाएको थियो । 

त्यतिबेला यसबारे प्रकाशित खबरको अध्ययनबाट थाहा हुन्छ कि खोजीको धेरैजसो काम संसारका सबैभन्दा कठिन पर्वत नागा पर्वत र त्यस आसपास गरिएको थियो । त्यतिबेला, नागा पर्वतमा रहेका दुई बेलायती पर्वतारोहीले मिडियालाई उनीहरुले नागा पर्वतमा एक विमानलाई असाध्यै तल उडिरहेको देखेको बताएका थिए । 

शाहिद इकबाल भन्छन्, ‘अधिकारीले विमानमा सवार मानिसहरुलाई मृत घोषित गर्ने र खोजी अभियानको समाप्तिको घोषणा गरेपछि पनि मेरो पितालाई विश्वास नै लाग्दैनथ्यो । त्यसैले उनी आफैं नागा पर्वतमा मात्रै गएनन्, यसबारे उनले थुप्रै स्थानीय मानिसहरुको सेवा पनि लिएका थिए ।’

शाहिद इकबाल भन्छन्, ‘अधिकारीले अपरेशन समाप्त भएको घोषणा गरेपछि मेरा पिताले झैं थुप्रै परिवारले आफ्नो तर्फबाट विमान खोज्ने कोसिस गरे र यो सिलसिला थुप्रै महिनासम्म चलिरह्यो ।’

‘मेरा पिता अन्य परिवारसँग मिलेर चित्रालसँग जोडिएको अफगानिस्तानका पहाडमा पनि गएका थिए । त्यहाँ पनि स्थानीयसँग सम्पर्क गरेका थिए । नियन्त्रण रेखाको पनि जताततै खोजे । जे जति सम्भव थियो, त्यहाँ खोजी गरे ।’

 बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप