‘एसएमजी’ हतियार प्रकरण : छानबिन प्रतिवेदन जङ्गी अड्डामा

काठमाडौँ । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गएको समितिले प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।
साउन ७ मा चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । गुरुङको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकालले हतियार आफैँले चोरेको स्विकारेका छन् ।
०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । ढकालको साथबाट चितवन प्रहरीले सट मेशिन गन (एसएमजी) बरामद गरेपछि सेनाले छानबिन गर्न ‘विशेष टोली’ लाई चितवन पठाएको थियो ।
चितवनबाट फर्केको कोर्ट अफ इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । कोर्ट अफ इन्क्वायरीले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्टमार्सल ( मुद्दा सुनुवाइ गर्ने टिम) गठन गरेका छन् ।
जिल्ला अदालत चितवनले जवान गंगाधर ढकाललाई सैनिक अदालतको जिम्मा लगाएको छ । अदालतको आदेशपछि काठमाडौँ ल्याइएका ढकाललाई कार्यवाहक सेनापतिले तोकेका सैनिक अधिकृतहरूले जंगी अड्डामा कोर्टमार्सल गरिरहेका छन् । कोर्टमार्सल शुक्रवार साँझसम्म सकिने बताइएको छ ।
कोर्टमार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ ।
हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरू अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायकरथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।
‘एसएमजी’ हतियार सहित पक्राउ परेका सैनिक जवान गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् ।
हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ । ढकालले प्रहरीसँग ‘अङ्कुसेले तानेर एसएमजी चोरेको’ बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू
-
बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिइने
-
दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
-
निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बाटो खुल्यो