सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डकी प्रधानमन्त्रीद्वारा अफगानीमाथि धोका

शुक्रबार, ११ भदौ २०७८, १३ : ०९
शुक्रबार, ११ भदौ २०७८

न्युजिल्यान्ड सरकारले अफगानिस्तानबाट नागरिक उद्धार गर्ने कार्य सकिएको घोषणा गरेको छ । अफगानिस्तानमै रहेका दोभासेहरुले भने यसलाई धोकाका रुपमा बुझेका छन् । न्युजिल्यान्डका सैनिकहरुलाई सहयोग गरेका अफगानी दोभासे अली (नाम परिवर्तित) आफूमाथि धोका भएको बताउँछन् । उनले अमेरिकी र नेटो गठबन्धनका सेनालाई सहयोग गरेका थिए । त्यसक्रममा उनी न्युजिल्यान्डको सेनासँग थिए । यसबापत उनलाई न्युजिल्यान्डमा बस्नका लागि भिसा पनि मिलिसकेको छ । तर, उद्धारका लागि अब विमान नपठाउने न्युजिल्यान्डकी प्रधानमन्त्रीको घोषणाले उनी बिलखबन्धनमा परेका छन् । उनी काबुल बस्छन् र न्युजिल्यान्डका सेनालाई सहयोग गर्ने उनीजस्ता ३७ जना दोभासेहरुको एउटा समूह छ । 

अलीका अनुसार उनीहरुमध्ये कसैलाई पनि उद्धार गरिएन । ‘यो निकै स्तब्धकारी समाचार हो । मलाई यसमा विश्वास छैन, म विश्वास गर्न सक्दिन’ उनले भने ।  अब हामीमाथि के हुन्छ ? भिसा प्राप्त गरेका र विगतमा न्युजिल्यान्डको सेनाका लागि काम गरेकाहरूको अवस्था अब के हुन्छ ?’ उनले सोधे ।  उनले आफुहरुमाथि धोका भएको बताए । 

शुक्रबार बिहान न्युजिल्यान्डकी प्रधानमन्त्री जकिन्डा आर्डेनले काबुलमा उद्धारका लागि थप विमान नपठाउने घोषणा गरेकी थिइन् । बिहीबार काबुलमा बम हमला भएपछि अर्डेको यस्तो घोषणा सार्वजनिक भएको हो । हमलामा ९० भन्दा धेरै अफगानी र १३ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ । 

अफगानिस्तानमै छुटेकाहरू निकै आतंकित अवस्थामा रहेको अलीले बताए । उनका अनुसार देशमा गृहयुद्ध निम्तिने परिस्थिती बन्दैछ । अस्ट्रेलियाले पनि नागरिक र अफगानी सहयोगीहरुलाई उद्धारका लागि अब विमान नपठाउने जनाइसकेको छ । यता, अमेरिकाले भन आक्रमणका बाबजुद जोखिममा परेकाहरुलाई निकाल्ने काम जारी रहने जनाएको छ ।

उद्धार कार्य बन्द 
शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्डेनले अफगानिस्तानबाट मानिसहरु निकाल्ने कार्य अन्त्य भएको घोषणा गरिन् । आक्रमणपछि उनको यस्तो घोषणा आएको हो । उनले अफगानिस्तानमा न्युजिल्यान्डको भिसा बोक्ने कति व्यक्तिहरु छन् भन्नेबारे अर्डेनलाई जानकारी दिएन । तर सबैलाई उद्धार गर्नसक्ने अवस्था नरहेको उनले बताइन् । यद्यपी, भिसाधारीहरुलाई घर ल्याउने प्रयास बन्द नगर्ने उनले बताइन् । ‘भविष्यको उद्धार अहिलेको दाँजोमा फरक हुनेछ । त्यो कठिन हुनेछ र धेरै समय लाग्नसक्छ । तर, यसका बाबजुद घर फर्कन जरुरी परेकाहरुलाई सहयोग गर्ने काम हामीले छाड्ने छैनौं ।’

अलीसहित न्युजिल्यान्डका लागि काम गरको धेरै दोभासे र अन्य सहयोगी कामदारले न्युजिल्यान्ड जानका लागि महिनौंदेखि आवेदन दिएका थिए । यी आवेदनका विषयमा न्युजिल्यान्डका मिडियाहरुमा पनि महिनौंदेखि चर्चा भएको थियो । तर, अहिले उनीहरु  अफगानिस्तानमै बस्नुपर्ने अवस्थामा छन् । 

दोभासेहरुको समूहको समूहले पाकिस्तान हुँदै वा अन्य उद्धार उडानमार्फत न्युजिल्यान्ड आउन पाउने व्यवस्था मिलाउन न्युजिल्यान्ड सरकारसँग माग गरिरहेको पनि अलीले बताए ।  अहिले काबुल विमानस्थलमा अमेरिकाको नियन्त्रण छ । सम्झौताअनुसार अमेरिकी सैनिक त्यहाँ ३१ अगस्टसम्ममात्रै बस्न पाउनेछन् ।

पेन्टागनका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार अझै १० हजार मानिसहरु अफगानिस्तानबाट बाहिर निस्कनका लागि काबुल विमानस्थलमा उद्धार उडानको प्रतिक्षामा छ । बेलायत आउन चाहने अफगानीहरुले विमानस्थलमा उद्धार उडान कुर्नुको साटो सीमा क्षेत्र हुँदै बाटो तताउनु राम्रो हुने प्रतिक्रिया यसअघि बेलायती रक्षामन्त्रीले दिएका थिए । 

न्युजिल्यान्डले भने यस विषयमा स्पष्ट धारणा राखेको छैन । यद्यपी, आफ्नो उद्धार उडान नहुने भएपनि अफगानिस्तानमा रहेकाहरुलाई कसरी फर्काउन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय साझेदारहरुसँग छलफल र समन्वय निरन्तर हुने न्युजिल्यान्डका परराष्ट्र मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘जमिनी सीमा हुँदै अफगानिस्तान छाड्नसक्ने न्युजिल्यान्डका नागरिक, स्थायीवासी वा भिसाधारीहरुले सीमा क्षेत्र पार गरिसकेपछि नजिकैको हाई कमिशन, दूतावास र कन्सुलेट जनरलमा सम्पर्क राख्नुहोला,’ विज्ञप्तिमा भनिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप