बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षापछि बाढीको वितण्डा, देशभर कहाँ के भयो ?

शुक्रबार, ११ भदौ २०७८, ११ : ४३
शुक्रबार, ११ भदौ २०७८

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पुनः मनसुन सक्रिय भएको जनाएको छ । मनसुन सक्रिय भएपछि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । 

यो पटकको भदौरे झरी तराई केन्द्रित भएको र त्यस क्षेत्रका धेरै स्थानमा डुबान र कटानको खतरा भएको महाशाखाले जनाएको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षापछि शुक्रबार बिहान तराईका विभिन्न स्थानमा डुबान भएको छ भने पहाडी क्षेत्रका केही स्थानका मुख्य सडकमा पहिरोका कारण आवागमन अवरुद्ध भएको छ । 

सेती दोभानमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

चितवन । चितवनको सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 


 

अविरल परेको वर्षाका कारण आज राति करिब ८ बजेको समयमा  भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ ।

सडकको माथिल्लो भागबाट ठूलो पहिरो खसेकाले तत्काल पहिरो गएको स्थानमा जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा केही कम हुनासाथ भोलि बिहान ५ बजेबाट पहिरो पन्छाउने कार्य सुरु गर्ने तयारी गरिएको उनले बताए ।

उनले पहिरोको जोखिम कायम नै रहेका र यातायातका साधनहरु जाम भएकाले नारायणगढ–मुग्लिङ सडक हुदै यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् ।

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।

अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका  विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए । 

वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।

वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । “अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ”, उनले भने । 

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षात्का कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् ।

नेपालगञ्ज जलमग्न

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गरेको छ । पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षात्ले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् । 

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

अविरल वर्षाले नहरमा क्षति
 
अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।

सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बि–४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १५० मिटर नहर बाँध फुट्दा रु एक करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिए । उनका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।

करिब पन्ध्र सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारालगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् ।

अस्थायी रूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताए । 

रत्न राजमार्ग अवरुद्ध
 
सुर्खेत–नेपालगञ्ज जोड्ने रत्न राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण सुर्खेतको छिन्चु र बाँकेको कोहलपुर खण्डको दुई ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा यातायातका साधन बन्द भएका छन् भने पहिलो हटाउने कार्य भईरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।  पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालयको डोजर परिचालन गरिएको सडक डिभिजन कार्यलय सुर्खेतले जानकारी दिएको छ । 

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए ।

करिडोर अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन बलेवा क्षेत्रमा रोकिएका छन् । वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । वैकल्पिक सडकसमेत पहिरोका कारण लामो समयदेखि अवरुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।​​

मकवानपुरको भैँसे–भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर– अविरल वर्षाका कारण पहिलो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजेको समयमा भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट लेदो माटोसहितको पहिरो खस्दा भैँसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने दुवैतर्फका सवारी साधन रोकिएका छन् । उक्त सडकखण्डमा यातायात सञ्चालनका लागि पहिरो पन्छाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । 

त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा पहिलो जाँदा हेटौँडा–भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । त्यहाँको पनि पहिरो पन्छाउने कार्य भइरहेको प्रवक्ता रिमालले जानकारी दिए ।

भीमदत्त राजमार्ग अवरुद्ध 

गोदावरी– गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिराले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा सडक माथिबाट आएको पहिराले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिराले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सवारी साधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

दोदामा बाढी : तीन दर्जन घर डुबानमा
 
लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।

आज बिहान २ः ०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाले भण्डारण गरेका अन्न भिजाइदिँदा क्षति भएको छ । केही घर भत्किने अवस्थामा छन् ।

‘बाढीले पुर्याएको क्षतिबारे विवरण सङ्कलन गरिरहेका छौँ’, वडाध्यक्ष चौधरीले भने, ‘निकै क्षति गरेको छ, विवरण सङ्कलनपछि मात्रै क्षतिबारे जानकारी दिन सकिने छ ।’ नदीमा बाढी आएको बेलैमा थाहा पाउँदा मानवीय क्षति भने नभएको उनले बताए । झण्डै १० बिघा बढीमा किसानले लगाएको उखुसमेत नदीको बाढीले क्षति गरेको छ । स्थानीय बासिन्दा झक्कुप्रसाद चौधरीले नदीको बाढीले उखु ढलाएपछि लाखौँ क्षति भएको बताए ।

‘दुई दर्जन बढी किसानले खेतमा रोपेको उखु नदीको बाढीले ढलाइ दिएको छ’ उनले भने, ‘चुरे क्षेत्रमा व्यापक वर्षा हुँदा अप्रत्यासित रूपमा क्षति व्यहोरेका छौँ ।’ नदीको बाढी खेतमा पस्दा किसानले रोपेको धानबालीसमेत बालुवाले पुरिदिएको छ । बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्रीसमेत बाढीले बगाएर नोक्सानी पुर्याएको छ ।

अहिले नदीको पानीको सतह घट्दो छ । नदीको पानीको सतह घट्दै गर्दा जग्गा कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताए । पानी पर्ने क्रम अझै जारी रहेका कारण स्थानीयवासी त्रासमा छन् ।

यसैगरी दोदामा आएको बाढीकै कारण शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ । तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडाध्यक्ष बाले रानाले बताए । स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ ।

अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम डुबानमा
 
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम  परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो हुँदा परासी बजारमा बाढी पसेको हो। 

बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन्। बजारको पूर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को सङम टोल, मलटोल,लोकतान्त्रिक टोल, वडा ५ को प्रशासन टोल, ड्राइभ टोल, इमलीटोल, बुध्चोक्टोल र वडा ६ पोखरापाली टोल पूरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएका छन् । 

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेक सहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म पानी पसेर डुबानमा परेको प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । 

डिएसपी लामाले लगातार पानी परिरहेको र पानी बग्ने ठाउँ नहुँदा जिल्लामा कहाँ कति क्षति भएको छ भन्ने विषयमा जानकारी नआएको जानकारी दिए ।   

यता, पूर्वपश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरे स्थित डाइभर्सन पनि भत्केर आवागमन अवरुद्ध भएको छ। बाढीको तीव्र बहावले डाइभर्सन डुबेको छ ।   

यस्तै, राजमार्गमै सुनवल–४ को तुरिया पुल अवरुद्ध हुँदा आवातजावत ठप्प भएको प्रहरीले जनाएको छ।  

त्यसैगरी,  जिल्लाको सरावल, पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरू बाढीले जलमग्न भएको प्रहरीले जनाएको छ। 

यता, सुनवल नगरपालिका वडा–४ मा १४ बर्षिय बालक बेपत्ता भएको प्रहरीले जनाएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप