शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क : प्रदेश २ मा छैन कोरोना !

६ वटा प्रदेशमा संक्रमण दर बढ्दा प्रदेश २ मा कसरी घट्यो ?
शुक्रबार, ११ भदौ २०७८, ११ : ३६
शुक्रबार, ११ भदौ २०७८



काठमाडौं उपत्यकासँगै देशका मुख्य शहरहरुमा कोरोना संक्रमित र अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको छ । यद्यपि प्रदेशगत तथ्याङ्क हेर्ने हो भने प्रदेश २ मा संक्रमण निकै न्यून देखिन्छ ।

सातवटा प्रदेशमध्ये बागमतीमा संक्रमितको संख्या सर्वाधिक छ भने प्रदेश २ मा सबैभन्दा कम देखिएको छ । भदौ १ देखि १० गतेसम्मको तथ्याङ्कलाई आधार मान्ने हो भने यो अवधिमा बागमती प्रदेशमा १२ हजार ४१८ नयाँ संक्रमित थपिएका छन् । प्रदेश २ मा भने उक्त १० दिनको अवधिमा जम्मा ७५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, प्रदेश १ मा विगत १० दिनमा ३ हजार ६६१ नयाँ संक्रमित थपिँदा गण्डकी प्रदेशमा २ हजार ७१३, लुम्बिनी प्रदेशमा एक हजार १५८, कर्णाली प्रदेशमा ३८६ र सुदूरपश्चिम प्रदेशमा २६५ संक्रमित थपिएका छन् ।

यो तथ्याङ्कलाई आधार मान्ने हो भने प्रदेश २ अन्य प्रदेशको तुलनामा कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख भएको देखिन्छ । तर जनस्वास्थ्यविद्हरु भने यो तथ्याङ्कलाई त्यसरी बुझ्न नहुने बताउँछन् । उनीहरु परीक्षणको दर कति छ भन्ने तथ्याङ्क अध्ययन गरेरमात्र निष्कर्षमा पुग्न आवश्यक रहेको बताउँछन् ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणलाई सरकारले तीव्रता दिन नसकेको बताउँदै आएका छन् । सरकारले सबै प्रदेशमा कोरोना परीक्षणलाई एउटै गतिमा तीव्रता दिन सकेको छैन । अन्य प्रदेशको तुलनामा प्रदेश २ मा कोरोना परीक्षण दर पनि कम रहेका कारण संक्रमण दर ज्यादै न्यून देखिएको उनीहरुको तर्क छ ।

 

कोरोना परीक्षणको विस्तृत तथ्याङ्कले पनि अन्य प्रदेशको तुलनामा प्रदेश २ मा कोरोना परीक्षण दर न्यून देखाउँछ । परीक्षणको दर न्यून रहेका कारण प्रदेश २ मा स्वाभाविक रुपमा संक्रमितको संख्या पनि घटेको विज्ञहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश २ मा भदौ १ गते २०२ जनाको कोरोना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, २ गते १३१ जनामा परीक्षण गर्दा ७ जना संक्रमित पाइयो भने ३ गते १५१ जनामा परीक्षण गर्दा ८ जना संक्रमित पाइएको छ । यसैगरी ४ गते ६६ जनाको परीक्षण गर्दा ४ संक्रमित, ५ गते १५९ जनामा परीक्षण गर्दा ११ जना संक्रमित, ६ गते ३२ जनामा परीक्षण गर्दा ३ जना संक्रमित, ७ गते ४७ जनामा परीक्षण गर्दा १ जना संक्रमित पाइएको छ । यस्तै, ८ गते १४५ जनामा कोरोना परीक्षण गर्दा ४ जनामा संक्रमण, ९ गते १६२ जनामा परीक्षण गर्दा ८ जनामा र १० गते १२१ जनामा परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाउँछ ।

प्रदेश २ मा कोरोना परीक्षण दर सुस्ताउँदै संक्रमण दर पनि कम देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन् ।

उनका अनुसार नेपालमा कोरोना संक्रमणको जोखिम कायम छ । ‘अस्पतालमा भर्ना हुने बिरामीको दरमा कमी नआएको अवस्थामा प्रदेश २ मा कम संक्रमित पुष्टि हुनु भनेको परीक्षण दर कम भएरै हो,’ उनले भने ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रदेश २ मा यसअघि धेरैजना संक्रमित भइसकेकाले हाल संक्रमितको संख्यामा कमी आएको बताए । यद्यपि उनले प्रदेश २ मा परीक्षण दर पनि कम रहेको बताए । ‘त्यहाँ पहिला धेरै संक्रमित भए, अहिले संक्रमण दर कम छ,’ उनले भने, ‘प्रदेश २ मा पछिल्ला दिन परीक्षण दर कम नै छ ।’

स्वास्थ्य मन्त्रालयले प्रदेश २ मा संक्रमण दर के कारणले कम भयो भन्नेबारे अनुमान लगाए पनि सर्वेक्षण गरी विश्वसनीय आधार भने   सार्वजनिक गरेको छैन । यद्यपि, स्थानीय प्रशासनले संक्रमण बढी देखिएका स्थानमा निषेधाज्ञा थप गर्दै रोकथाप तथा नियन्त्रणका लागि पुरानै तरिकालाई निरन्तरता दिँदै आएको छ ।

यस्तो छ दश दिन यता सातै प्रदेशमा कोरोना संक्रमितको संख्या


१० दिन यता सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले देखाउँछ । तथ्याङ्कअनुसार बागमतीपछि क्रमशः प्रदेश नम्बर १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र सबैभन्दा कम कोरोना संक्रमित प्रदेश नम्बर २ मा देखिन्छ ।

परीक्षण बढाएको दिन संक्रमितको संख्या पनि बढ्ने र परीक्षण घटाएको दिन संक्रमितको संख्या घटेको स्वास्थ्य मन्त्रालयद्वारा जारी आँकडाबाट पनि प्रस्ट हुन्छ ।

भदौ ४ गते देशभर १७ हजार ६५४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ गते १३ हजार ७५ परीक्षण गर्दा २ हजार ७५ जना संक्रमित भए । यस्तै ६ गते १२ हजार ५१६ जनाको परीक्षण गर्दा एक हजार ९२० जनामा संक्रमण पुष्टि भएको थियो भने परीक्षण दर घटेर ११ हजार ३२६ मा सीमित रहँदा ७ गते संक्रमितको संख्या पनि घटेर एक हजार ८०१ रह्यो । भदौ ८ गते परीक्षणको दायरालाई बढाएर १४ हजार ८१० पु–याउँदा संक्रमितको संख्या पनि बढेर २ हजार ५२५ पुग्यो भने ९ गते १५ हजार २९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भयो । भदौ १० गते १४ हजार ३७४ जनाको परीक्षण गर्दा २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ भदौ १ देखि १० सम्मको परीक्षण, संक्रमित र मृत्युको अवस्था

नेपालमा कोरोना संक्रमणको जोखिम उच्च छ । संक्रमण, परीक्षण, मृत्यु र अस्पताल भर्ना हुने बिरामीको संख्यामा कमी नआएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको भनाइ छ । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २१ छ । यस्तै, २०० भन्दा माथि उपचाररत संक्रमित भएको जिल्लाको संख्या २० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप