स्थिर लोकतन्त्रका लागि व्यवहार रूपान्तरण
नेपालको राजनीतिमा आम नागरिकले सहजै बताउने सक्ने एउटा विशेषता भनेको आन्दोलन, सङ्घर्ष, बलिदानमार्फत विद्यमान राज्य प्रणालीमा परिवर्तन ल्याउन सक्ने ल्याकत नेपालका राजनीतिक दल र नागरिक समाजसँग छ । तर, त्यसको संस्थागत विकास गर्ने र परिवर्तित राज्य प्रणालीलाई आत्मसाथ गरी नागरिकहरूको जीवनसँग राज्यका नीति कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने योजना, ल्याकत तथा क्षमताको अभाव निरन्तर महसुस हुने गरेको छ ।
आन्दोलनको नेतृत्व गर्न सक्ने तर राज्यसत्ताको सञ्चालन र परिचालनमार्फत आम नागरिकहरूको जीवनशैलीमा सहजता ल्याउन सक्ने वा परिवर्तनको संस्थागत विकास गरी दिगो रूपमा राज्य सञ्चालनका अनुभवहरूको खडेरी बढ्दै गइरहेको छ । सत्ताको केन्द्रमा रहेर राज्यको नेता आफै रहँदा पनि भूमिका तथा क्रियाकलाप चाहिँ प्रतिपक्षी वा विरोधी मानसिकताबाट बाहिर आउन नसक्ने अवस्थामा आजको दिनमा पनि विद्यमान रहेको छ ।
शक्तिका लागि जे पनि गर्ने, सत्तामा एकपटक बसिसकेपछि त्यहाँबाट बाहिर आउन नखोज्ने प्रवृत्ति र चिन्तनले नेपालको लोकतान्त्रिक भनिएको शासन प्रणालीमाथि सधैँ खतराको घण्टी बजिरहने परिस्थितिको निर्माण जारी छ । शक्तिको विकेन्द्रीकरण होइन कि केन्द्रीकरणका लागि व्यक्ति, पार्टी तथा समर्थकहरू कसैलाई पनि बाँकी नराख्ने मनोदशाबाट नेपालका नेताहरू ग्रसित बन्दै गइरहेका छन् ।
लोकतान्त्रिक प्रणालीविरुद्धका आचरण र व्यवहारहरूको तीव्रताले आम नागरिकहरूमा राजनीतिक दलहरू तथा नेताहरूप्रतिको विश्वासमाथि निरन्तर खिया लागिरहेको छ । शक्तिका लागि जे पनि जायज भन्ने म्याकियाबेली सिद्धान्तका पथप्रदर्शक बन्दै नेपालका नेताहरू अघि बढिरहेका छन् भने विद्यमान परिस्थितिको फाइदा उठाउन स्वदेशी तथा विदेशी सबैलाई राम्रो स्पेस निरन्तर रूपमा दिएर अघि बढिरहेको छ । यो परिस्थितिभित्र राजनीतिक अस्थिरताको बीउ छर्ने काम स्वयं परिवर्तनका वाहक ठानिएका नेपालका राजनीतिक दल आफैंले गरिरहेका छन् । यस्तो अवस्थामा रुपान्तरणका लागि केही अभ्यास आवश्यक छन् र ती अभ्यासमा बहसका लागि यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
लोकतान्त्रिक संस्कृति
लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अभ्यास निकै कम छन् । परिवर्तन वा रूपान्तरणका लागि व्यक्ति स्वयं तयार छ कि छैन ? एकअर्काप्रतिको आदर, सम्मान, पारस्परिक सहयोगको आदान प्रदान, सकारात्मक सोच, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, नागरिक तथा अन्य सरोकारवालासँगको नियमित अन्तरक्रिया, प्राप्त सुझावको ग्रहण गर्ने क्षमताको विकास, अर्थपूर्ण सहभागिताका अवसरको सिर्जना, सँगसँगै काम गर्ने, सामूहिक निर्णयप्रतिको विश्वास साझा सवालहरूप्रति संवेदनशीलता, सबैखाले विचारका बीचमा साझा विचारको निर्माण र कार्यान्वयन, समर्थकहरूको संरक्षण, सह–जिम्मेवारीको पालना, सक्रिय योगदान र अरूको योगदानको कदर जस्ता काम लोकतान्त्रिक संस्कृतिभित्र पर्छन् ।
आफ्नो जिम्मेवारी र भूमिकाप्रति सधैँ सजग बन्ने र गरेका कामको उत्तरदायित्व लिने सवाल लोकतान्त्रिक संस्कृतिभित्रै पर्छ । बोल्दा, हिँड्दा, खाँदा वा अन्य राजनीतिक क्रियाकलापमा सहभागी भइरहँदा अरूप्रतिको दृष्टिलाई सकारात्मक बनाउने र सहयोगी भावनाको विकासले लोकतान्त्रिक संस्कृतिलाई मलजल गर्ने गर्दछ । बहुलता नेपाली समाजले अङ्गीकार गरेको विचार हो, बहुलता भएकै कारणले भिन्न राजनीतिक दलहरू अस्तित्वमा आएका हुन् भन्ने कुरालाई बिर्सनु हुँदैन ।
व्यवहारहरूमा लोकतान्त्रकीरण
कुनै पनि व्यक्तिले लिएको विचार, सिद्धान्त र व्यवहार लोकतान्त्रिक छ कि छैन भन्ने कुराको प्रतिविम्बन व्यक्ति सङ्गठित रहेको सङ्गठनभित्र पर्ने गर्छ । व्यक्तिका आचरण र व्यवहारहरू लोकतान्त्रिक छन् कि छैनन् भन्ने सवाल स्वाभाविक रूपमा व्यक्तिको नैतिकता, इमानदारिता, सहयोगी व्यवहारमा प्रतिविम्बन हुन्छन् । व्यक्तिले बोक्ने मूल्यमान्यता, उसको पारिवारिक संस्कार र सामाजिक वातावरणले लोकतान्त्रिक व्यवहारलाई नियमित वा अनियमित बनाउन भूमिका खेल्ने गर्छ । बहुलवादी खुला समाजमा एउटा राजनीतिज्ञको जीवन सधैँ खुला किताबजस्तै हुनुपर्छ ।
सिक्ने अभिरुचि, आफूलाई कस्तो ठान्ने ? एउटा शिक्षक वा विद्यार्थी ? ठूलो वा सामान्य ? अरूका लागि सिक्ने अवसरको सिर्जना वा निर्देशनको पालना गराउने प्रयत्न ? नेतृत्व विकासको प्रयत्न वा कार्यालयको हाकिम जस्तै आफूलाई जान्ने अरू नजान्ने ठान्ने ? गल्तीको स्वीकारोक्ति वा दोषारोपण ? सकारात्मक सोच र चिन्तन वा सधैँ खराब देख्ने नकारात्मकता ? वर्गीय प्रेम वा घृणा ? आज्ञाकारिता वा सिर्जनशीलता ? जस्ता अवयवहरूले व्यक्तिको लोकतान्त्रिक व्यवहारलाई निर्दिष्ट गर्ने गर्छ । समानता वा असमानता ? विभेद वा सामाजिक न्याय ? आफ्ना लागि वा अरूका लागि ? सेवा वा व्यापार ? जस्ता विचारहरूले व्यक्तिलाई कता डो¥याउने बाटो तय गर्छ । आफ्नै जिद्दी वा अरूको देखेको बाटो पनि ठीक हो कि ? भनेर विश्लेषण गर्ने, कडा भएर अघि जाने वा लचिलो बन्ने ? जस्ता अभ्यासले व्यक्तिका व्यवहारलाई लोकतान्त्रिक बनाउनका लागि योगदान गर्छ ।
लोकतान्त्रिक जवाफदेहिता
शक्तिको केन्द्रीकरण वा विकेन्द्रीकरण ? राज्य संयन्त्रहरु बीचमा सन्तुलन नियन्त्रण वा मनपरी परिचालन ? सार्वजनिक स्रोतमाथि नागरिक नियन्त्रण वा राज्यको ? सुशासन स्थापना वा बेतिथिहरू ? आधारभूत मानव अधिकारको सुनिश्चितता वा उल्लङ्घन ? राज्यका संयन्त्रहरूमाथिको विश्वास वा अविश्वास ? द्वन्द्व व्यवस्थापन वा सिर्जना ? राज्य संयन्त्र र नागरिक सङ्गठनहरूबीचको असल सम्बन्ध निर्माण वा टकराब ? सूचना प्रविधिमाथिको पहुँच सुनिश्चित वा नियन्त्रण ? राज्यका दायित्वहरूको परिपालना वा बेवास्ता ? नागरिक अधिकार र कर्तव्यबीचको सन्तुलन वा ठेगान लगाउने प्रवृत्ति ? जस्ता व्यवहारबाट लोकतान्त्रिक जबाफदेहिता कस्तो भन्ने निक्र्यौल गर्न सकिन्छ ।
राजनीतिक प्रणाली र शासन प्रणालीबीचको तादम्यता कस्तो ? नागरिक सहभागिताका लागि स्पेस कति ? आलोचना सुन्ने र सच्याउने अभ्यास कस्तो ? स्वतन्त्र न्यायपालिकाको स्थापना र सञ्चालनको अवस्था कस्तो ? नागरिक जीवनका हरेक अप्ठ्यराहरूलाई सम्बोधन गर्ने नीति, कार्यक्रम वा अन्य ? संविधान, ऐन कानुनहरूको परिपालना वा उल्लङ्घन ? नागरिकहरूका आवाजहरूको तत्काल सम्बोधन वा त्यसलाई दबाउने अभ्यास कस्तो ? भन्ने सवालले नै लोकतान्त्रिक जवाफदेहिताको मापन गर्ने हो ।
राज्य नागरिकहरूको अभिभावक बन्ने वा राज्यप्रति नागरिकहरू डराउने स्थिति पैदा गर्ने ? नागरिक जीवन सहज बनाउने वा थप अन्योल सिर्जना गर्ने ? राज्यका सेवा सुविधामाथि नागरिकको सहज पहुँच स्थापित गर्ने वा झन्झटिला कार्यप्रक्रियाका कारण कष्टपूर्ण बनाउने ? नागरिकहरूको करको सदुपयोग गर्ने वा दुरुपयोग ? निर्णय प्रक्रियालाई खुला र पारदर्शी बनाउने र गुपचुप काम गर्ने ? आवश्यकताका आधारमा स्रोतको न्यायोचित बाँडफाँट गर्ने वा भागबण्डा ? भन्ने व्यवहारबाट लोकतान्त्रिक जवाफदेहिताको अवस्था देखापर्ने हो ।
लोकतान्त्रिक राज्य प्रणाली
लोकतान्त्रिक राज्य प्रणाली स्थापनाको पहिलो सर्त हो, राजनीतिक दलहरूद्वारा लोकतान्त्रिक प्रणालीको अवलम्बन । दलहरूमा आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ ? लोकतान्त्रिक अभ्यासहरू कति घनीभूत छन् ? दलका हरेक संरचनाको निर्माण र परिचालनको प्रणाली लोकतान्त्रिक छ कि एउटा व्यक्तिको निर्णयका आधारमा सबै चल्छ ?
दलहरूका सबै संरचनाको वैधानिक व्यवस्थाको परिपालना भइरहेको छ कि छैन ? तोकिएको समयमा नेता कार्यकर्ताबाट अनुमोदित हुन्छन् कि हुँदैनन् ? तोकिएका अनुशासनको परिचालन गरिन्छ कि गरिँदैन । नेतृत्व परिवर्तनको प्रणाली कस्तो छ ? एउटा व्यक्ति सधैँभरिका लागि नेता बनिरहन्छ कि परिवर्तन गरिन्छ ? नेतृत्व परिवर्तनको योजना बन्ने र कार्यान्वयन हुने अवस्था कस्तो छ ? पार्टी र राजकीय निकायबीचका भिन्नताका बारेमा सबैले बुझ्छन् कि बुझ्दैनन् ? निर्वाचित व्यक्ति सबै नागरिकको अभिभावक बन्ने अभ्यास कस्तो छ ? यस्ता सवालले नै लोकतान्त्रिक राज्य प्रणाली कस्तो छ भन्ने देखिन्छ ।
आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासन र जवाफदेही सरकार सञ्चालन, राज्यका संरचनाहरूबीचको समन्वय र सहकार्यको अवस्था, नागरिकलाई सहज सेवा प्रवाहको प्रणाली, सीमान्तीकृत र छेउ पारिएका समुदायका मानिसका लागि सामाजिक न्यायको प्रत्याभूतिको प्रणाली, निर्णय प्रक्रियामा नागरिक सहभागिता, लोककल्याणकारी राज्यभित्र विभेदजन्य व्यवहारहरूको निषेधीकरण, दण्डहीनताको अन्त्य र आधारभूत मानव अधिकारको सुनिश्चितता जस्ता सवालको सम्बोधनले राज्य प्रणालीलाई लोकतान्त्रिक बनाउन योगदान गर्छ ।
लोकतन्त्रका लागि नेपाली नागरिकहरूको सङ्गठित, असङ्गठित प्रयास र प्रयत्न वलिदानीपूर्ण रहेको छ । नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणालीको परिवर्तनका लागि निकै लामो सङ्घर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आम नागरिकलाई तयार गर्ने, प्रशिक्षित गर्ने र राजनीतिक दलहरूको झन्डामुनि गोलबन्द गर्ने काम अत्यन्त मिहिनेतका साथ गर्दै आइरहेका छन् तर परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आम जनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि चुकिरहेका छन् ।
किन बारम्बार यस्तो भइरहेको छ भन्ने प्रश्नको जवाफ खोज्ने, आत्मसमीक्षा गर्ने र विगतबाट पाठ सिक्ने प्रवृत्ति वा अभ्यासको अहिले पनि खडेरी नै छ । जबसम्म हामी परिवर्तनलाई संस्थागत गर्न र नेपालमा रहेको स्रोतसाधनको न्यायोचित वितरणको प्रक्रियालाई सबलीकरण गर्न सक्दैनौँ, देश र नागरिक जीवनलाई केन्द्रमा राख्न सक्दैनौँ वा सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि हमला गर्न सक्दैनौँ तबसम्म हाम्रो लोकतन्त्र सधैँ कमजोर रहन्छ र आलोचनामुक्त रहन सक्दैन ।
निष्कर्ष
लोकतन्त्रलाई संस्कार, संस्कृतिमा रूपमा ग्रहण गर्ने, हाम्रा दैनिक व्यवहारलाई लोकतान्त्रिक र जवाफदेही बनाउने तथा नागरिकको जीवनलाई सहज बनाउने कार्यक्रम र योजनालाई कार्यान्वयनको तहमा लैजान जरुरी छ । जबसम्म नेपालका राजनीतिक दलहरूभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौँ, व्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन प्रवृत्तिमाथि हमला बोल्न सक्दैनौँ, त्यसबेलासम्म लोकतन्त्रमाथि खतरा रहीरहन्छ । जबसम्म नागरिक आवाजलाई सुन्ने र प्राप्त भएका नागरिकका आवाजलाई तत्काल सम्बोधन गर्ने प्रणाली स्थापित गर्न सक्दैनौँ, तबसम्म हाम्रो लोकतन्त्रमाथिको कालो बादल निरन्तर रूपमा लागिरहने छ ।
राजनीतिक दल तथा राजकीय सत्ताभित्रको भिन्नतालाई स्वीकार गर्ने, निर्वाचित भएपछि पार्टी नेता कार्यकर्ताभन्दा माथि उठेर आम जनताको प्रतिनिधि ठान्ने र सबै विचार, दर्शन र संरचनाको नेता बन्ने क्षमताको विकास आजको आवश्यकता हो ।
एक जनप्रतिनिधि तथा नेताको जीवन सधैँ खुला र सार्वजनिक जीवन हो भन्ने कुराको बोध गर्ने र आम नागरिकले तिरेको करको हिसाब नागरिककै समृद्धिका लागि खर्च गर्ने प्रणाली स्थापना गर्नुपर्छ । नागरिकप्रति जवाफदेही र उत्तरदायी सरकार, प्रशासन तयार नभएसम्म हामीले जति लोकतन्त्रको गीत गाए पनि आम नागरिक जीवनमा परिवर्तनको कल्पना गर्न सकिँदैन भन्ने बोध सबैमा आउनु जरुरी छ । राजनीतिक दलहरूमा विभाजन र बेमेलका शृङ्खलाहरूको समूल नष्ट नभएसम्म नेपालको लोकतन्त्र दिगो हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल