शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एम्बाप्पेका लागि रियलको नयाँ अफर

शुक्रबार, ११ भदौ २०७८, ०८ : ३२
शुक्रबार, ११ भदौ २०७८

पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउन रियल म्याड्रिडले दोस्रो अफर प्रस्तुत गरेको छ । गोल डटकमका अनुसार रियलले २० करोड डलर र थप १.२ करोड एडअनको अफर प्रस्तुत गरेको हो । यसअघि रियलले १८.८ करोड डलरको अफर पीएसजीसामु गरेको थियो । तर, त्यसलाई क्लबले अस्वीकार गरेको थियो ।

अहिले नयाँ अफर राखेपछि स्पेनिस महारथी २२ वर्षीय सुपरस्टारलाई क्लबमा भित्र्याउनेमा विश्वस्त देखिएको छ । यो सिजनको अन्त्यमा एम्बाप्पेको पीएसजीसँगको करार सकिँदैछ । पीएसजीले उनलाई क्लबमा राख्न ६ वटा नवीकरणको अफरहरु राखे पनि उनले त्यसलाई अस्वीकार गरेका छन् । फरवार्डले आफ्नो सपना रियल म्याड्रिडसँग आबद्ध हुनु रहेको स्पष्ट पारेका छन् । यसका लागि आफूले जे पनि गर्न तयार रहेको उनले बताएका छन् । 

पीएसजीका निर्देशक लियोनार्दोले पनि एम्बाप्पेले क्लब छाडेर जान चाहेको स्वीकार गरेका छन् । तर, साथसाथै अनैतिक ढंगले खेलाडीसँग सम्पर्क गरेकोमा रियलको आलोचना पनि गरेका छन् । पीएसजीले एम्बाप्पेका लागि २५.९ करोड डलर माग गरेको छ । रियलले भने त्यति धेरै रकम नतिर्ने स्पष्ट पारेको छ । पीएसजीका हेड कोच माउरिसियो पोचेटिन्होले पनि एम्बाप्पेले क्लब छाड्ने कुरालाई स्वीकार गरिसकेको बताइएको छ ।

सन् २०१७ मा मोनाकोबाट पीएसजीसँग आबद्ध भएपछि २२ वर्षीय खेलाडी विश्वकै उत्कृष्ट फरवार्डका रुपमा आफूलाई विकास गरेका छन् । पछिल्ला तीनवटा सिजनमा उनी लिग वानको सर्वाधिक गोलकर्ताको सूचीमा रहेका छन् । त्यसमध्ये दुई सिजन उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

लियोनेल मेस्सी क्लबमा आएपछि मेस्सी, एम्बाप्पे र नेयमारको सशक्त फरवार्ड लाइन बनाउने पीएसजीको सपना भने पुरा नहुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप