बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जापानको खोप कक्षा १२ का परीक्षार्थीलाई, १८ वर्षभन्दा मुनिकालाई मोडर्ना र फाइजर

बिहीबार, १० भदौ २०७८, १८ : ४५
बिहीबार, १० भदौ २०७८

जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थीहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको बताएका छन् । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ । उनले भने, ‘जापान सरकारले १६ लाख दिएको जुन खोप हो त्यो आइसक्यो । जेष्ठ नागरिकलाई दिइसकेपछि ५÷७ लाख स्टक छ । त्यो स्टक भएको चाहिँ कमसेकम १२ कक्षाका विद्यार्थीलाई देशभर उपलब्ध गराउने भनेर अहिले शुरु भएको छ । त्यो फेजमा आएको हुँदा खेरी १ नम्बर र २ नम्बर प्रदेशमा रिसेन्ट्ली हामीले पठाएका छौँ, ३÷४ दिन भयो । अरु ठाउँमा देशभरी पाँचवटा प्रदेशमा गइसकेको हुँदा खेरी ५ वटा प्रदेशको शहरको, गाउँको सबैले लाउन पाउँछन् ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडी बढाएको बताए । उनले भने, ‘मोडर्ना खोपको पैसा तिरिसकेको छ ९ वर्षदेखि १८ वर्षकाले लगाउने । साना बच्चाले लगाउने १ करोड फाइजर खोप ल्याउने तयारी भइरहेको छ । १८ वर्ष मुनिकालाई मोडर्ना र फाइजर खोप लगाउने जानकारी गराउँछु ।’

उनले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसङ्ख्या कम भएका ग्रामीण भेगमा र काठमाडौँ उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसङ्ख्या बढी भएका स्थानहरूमा खोपको प्राथमिकतामा राखिएको बताए । त्यस्तै पोखरा,  भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको जानकारी दिए । 

यता, कक्षा १२ को परीक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 

निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तीले भने, ‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडी बढ्न हामीले भनिसक्यौँ । स्वास्थ्य मन्त्रालयले गर्ने काम चाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको लागि वातावरण बनाइदिनुप¥यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस् भन्ने म निर्देशन दिन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप