बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मुख्य राजमार्गको हेटौँडा खण्ड फराकिलो बनाउन माग

बिहीबार, १० भदौ २०७८, १७ : ४८
बिहीबार, १० भदौ २०७८

हेटौंडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौंडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहे पनि यसका कारण विस्थापित हुनेहरू भने  वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् । 

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ कुनै पनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।  आज पत्रकारसँगको कुराकानीमा उनले  दुबै सडक विस्तार गर्न  सङ्घीय सरकारसमक्ष अनुरोध  गरिने जानकारी दिए । 

उनले  पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउँछु भनेर सहि छाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा  सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गरे । प्रमुख महतले राजमार्गको बीचबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर सङ्घीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । सडक फराकिलो बनाउन पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अवरोध गरेको कतिपयले आरोप लगाएकामा  आफूले अवरोध नगरेको जिकिर उनको थियो । 

“मैले त सडकलाई ३२ मिटर फराकिलो बनाउँ भनेको छु, कतिपयले मेरो घर जोगाउन मैले यस्तो प्रस्ताव गरेको भन्छन् तर ३२ मिटर फराकिलो पार्दा मेरो घर भत्किन्छ । हेटौंडाको बजारभित्र ३२ मिटरको सडक अनि नजिकै ५० मिटरको फराकिलो सडक बनाऔँ भनेको हुँ, त्यसो गर्दा हेटौँडामा दुईटा भव्य सडक थपिन्छ र बजार फैलन्छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप