बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर बतायो, भारतबारे पनि बोल्यो

बिहीबार, १० भदौ २०७८, १७ : ४६
बिहीबार, १० भदौ २०७८

तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर बताएको छ । 

तालिबानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले बुधबार यस्तो बयान दिएका हुन् ।

पाकिस्तानी समाचार वेबसाइट एआरवाई न्यूज टिभीका अनुसार मुजाहिनले पाकिस्तान दोस्रो घर भएको र आफ्नो घरविरुद्ध केही हुन नदिने बताएका छन् । 

एआरवाई न्यूज टिभीलाई दिएको एक विशेष अन्तरवार्तामा मुजाहिदले अफगानिस्तानमा चरमपन्थी संगठनको उपस्थिति, भारत प्रशासित कश्मीर र इस्लामिक स्टेटको विषयमा भारत–पाक सम्बन्धमाथि बयान दिएका छन् । 

मुजाहिदले अफगानिस्तानमा इस्लामिक स्टेट र तहरीक–ए–तालिबान (पाकिस्तान)को मुद्दामा भने, ‘हामी आफ्नो जमिन कसैविरुद्ध प्रयोग हुन दिने छैनौं ।’

उनले भने, ‘यो सम्बन्धमा हाम्रो नीति स्पष्ट छ । दाएश (आइएसआइएस) को अफगानिस्तानमा कुनै उपस्थिति छैन ।’

तालिबानले यसअघि थुप्रै पटक यस्तो दाबी गरिसकेको छ र आफ्नो जमिनमा चरमपन्थी तत्वलाई सक्रिय हुन नदिने पनि बताउँदै आएको छ । 

तर चीनसमेत संसारका थुप्रै देशले यो दाबीमाथि शंकाको दृष्टिले हेर्छन् । 

‘भारत–पाकले मिलेर मुद्दा सुल्झाउन्’

मुजाहिनले भारत र पाकिस्तानबीच लामो समयदेखि जारी विवादबारे बोल्दै दुबै देशले सँगै बसेर मुद्दा सुल्झाउनुपर्ने बताए । 

मुजाहिदले भने, ‘पाकिस्तान र भारत आमने सामने भएर आफ्नो पुराना सबै मुद्दा हल गर्नुपर्छ किनभने दुई देश एक–अर्काका छिमेकी हुन् र दुबैको हित एक–अर्कासँग सम्बन्धित छ ।’

भारत प्रशासित कश्मीरको मुद्दामा उनले भने, ‘भारत सरकारले विवादित इलाकाको विषयमा सकारात्मक धारणा राख्न आवश्यक छ ।’

यसबाहेक भोलिका दिनमा भारतसँगको सम्बन्धबारे मुजाहिदले भने, ‘तालिबान चाहन्छ कि भारत सरकारले अफगानिस्तानका जनताको हितलाई ध्यानमा राखेर आफ्नो नीति बनाओस् ।’

यसैबीच रेडियो पाकिस्तानका अनुसार तालिबानी नेता शहाबुद्दीन दिलवरले तीस लाख अफगानी शरणार्थीलाई शरण दिएकोमा धन्यवाद दिएका छन् । 

उनले भने, ‘तालिबान सबै देशसँग आपसी सम्मानको आधारमा शान्तिपूर्ण सम्बन्ध चाहन्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप