शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जेबी टुहुरे : एमाले छाडेर, टुहुरै बनेर बिते

बिहीबार, १० भदौ २०७८, १७ : ३२
बिहीबार, १० भदौ २०७८

जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो ।

‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीत गाएका टुहुरेले एमालेमा मन भाँचिएपछि त्यहीँ ‘दास’ बनेर बाँचेनन् । ०६६ सालमै उनी एमालेबाट चित्त दुखाएर माओवादीमा प्रवेश गरे ।

७८ बर्षीय जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)  टुहुरेको विहीबार बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलंकीस्थित आफ्नै निवासमा लडेका उनमा मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप जस्ता दीर्घरोगहरु थिए ।

आमा दिदी बहिनी हो, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँ, दुःखको भोज, रातको अनिँदोलगायत टुहुरेका थुपै्र गीत जनताले रुचाएका छन् । यिनै गीतहरू सुनेर धेरै मानिसहरु नेकपा एमाले बनेका छन्, कम्युनिष्ट बनेका छन् ।

आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पिरमर्कालाई विषयवस्तु बनाउने टुहुरेका गीतमा वर्गीय प्रेम, राष्ट्रप्रेम र विद्रोह पनि उत्तिकै झल्कन्छन् । सरल मिजासका टुहुरेको जीवन सरल किसिमले, दुःख र अभावमै बित्यो । मूलतः उनले आफ्नो पसिनाले सिञ्चित गरेको पार्टी एमालेमा टुहुरो महसुस गरे र नेकपा माओवादी रोजे ।

धरानको पुरानो बजारमा बि.सं २००१ कात्तिक १५ गते  जन्मिएका उनी कृष्णबहादुर खड्गी र दानदेवी खड्गीका जेठा छोरा हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनले २०२१ सालमा बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा आफ्नो नामको पछाडि ‘टुहुरे’ लेख्न थालेका थिए ।

सानैदेखि गीत गाउने, नाच्ने टुहुरेको विसं २०१० बाट औपचारिक सांगीतिक यात्रा सुरु भएको हो । सुरुमा उनी सबैखालका गीत गाउँथे । विसं २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक रहेपछि उनले विद्रोह र जनताका गीत बनाउन थाले  ।

जनताको पक्षमा करिब ५ दशक गीत गाएका टुहुरे आफूलाई राजनीतिज्ञ भन्दा पनि जनवादी गायक तथा कलाकारकै रुपमा चिनाउँथे । ‘चरी भरर’, ‘आमा दिदीबैनी हो’ उनका २०३३ सालतिरका गीत हुन् । जुन गीत उनले पछिल्लो समय पनि कार्यक्रमहरुमा निरन्तर गाउँदै आएका थिए ।

पञ्चायत कालभरि जेबी टुहुरेले एमालेलाई सघाउँदै देशभरि गीत गाउँदै हिँडे । ०४६ सालको परिवर्तनपछि पनि एमालेलाई जनताको मनमा स्थापित गर्न टुहेरेको निकै ठूलो योगदान छ । उनले जनतामा जनवादी चेतनाको बिगुल फुक्न एक समय संकल्प गीति कार्यक्रममार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनले यात्रा गरे ।

एमालेबाट उचित सम्मान पाउन नसकेको गुनासोसहित उनी २०६६ मा नेकपा माओवादीमा आवद्ध भए । माओवादीले २०७० सालमा उनलाई संविधानसभा सदस्य बनायो ।

क्रान्तिकारी गीत गाउँदा पञ्चायतकालमा प्रहरीको हिरासत र यातना भोगेका उनले सत्ताको त्रास, दमन, धरपकडलाई समेत बेवास्ता गर्दै २०६२/०६३ को परिवर्तनसम्म पनि जनतामा गीतमार्फत चेतना जगाउने काम निरन्तर गरिरहे ।

व्यवसायिक गायक भन्दा पनि पार्टीको जनमतका निर्माणमा बढी खटिएका टुहुरेले जीवनभर आर्थिक समस्या झेल्नुपर्यो । जसका कारण उनले जीवन चलाउन विभिन्नखाले व्यापार, होटल, लज, पुस्तक पसलसमेत चलाए ।

बेलाबेलामा मिडियासँगको कुराकानीमा राज्यले आफ्नो योगदानको मूल्याङ्कन गर्न नसकेको टुहुरेले गुनासो पोख्ने गरेका थिए । परिवर्तनका लागि लडेका व्यक्तिहरु नै सत्तामा हुँदा पनि जनताले परिवर्तनको महसुस गर्न नपाएको दुखेसो गर्दा गर्दै विहीबारदेखि उनले हामीलाई सधैंका लागि छाडेर गएका छन् । तर, टुहुरेले गाएका गीतहरू हाम्रो मन मस्तिष्कमा सधैं रहिरहनेछन् ।

अलविदा जनगायक जेबी टुहुरे !

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप