शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षमा सक्नुपर्ने पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएन

बिहीबार, १० भदौ २०७८, १७ : १९
बिहीबार, १० भदौ २०७८

रोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

उनका अनुसार बर्खाको समयमा खोला बढेर तर्न नसकिने भएकाले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । विद्यालय जाने बालबालिका खोला तर्न नसक्ने भएकाले अभिभावकले नै पु-याउनु पर्ने बाध्यता रहेको रोका मगर सुनाउँछन् ।

थवाङ खोलामा निर्माण भइरहेको पुल तोकिएको समयमा सम्पन्न नहुँदा सवारी साधन आवतजावत गर्न निकै कठिन छ । जसका कारण स्थानीयलाई सामान ढुवानी गर्न र वारपार गर्न सास्ती खेप्नुपर्ने बाध्यता छ ।

सहिद मार्ग भएर जिल्ला सदरमुकाम लिवाङ लगायत प्रदेश राजधानीसम्म पुग्नुपर्छ तर गाउँपालिकाको केन्द्र नजिकै रहेको पुल निर्माणको कामले लामो समयमसम्म पनि पूर्णता नपाउँदा समस्या झेल्नु परेको थवाङका स्वर्णिम रोका मगरले बताए ।

सहिद मार्ग सडक परियोजना र सैलुङ एसएबी इलाट जेभी ललितपुरबीच २०७३ साल असार ३० गते पुल निर्माणका लागि १२ करोड ७४ लाख ६६ हजार १२० रुपैयाँमा (भ्याटसहित) सम्झौता भएको थियो । सम्झौता अनुसार २०७५ पुस २९ मा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो तर अहिलेसम्म पुल निर्माणले पूर्णता पाएको छैन ।

सहिद मार्ग सडक परियोजना रोल्पाका प्रोजेक्ट म्यानेजर विष्णु पाण्डेले कोरोना संक्रमणको जोखिमका कारण पनि पुल निर्माणमा ढिलाई भएको प्रतिक्रिया दिए । दुर्गममा भएकाले सामग्रीहरु समयमै पु¥याउन समस्या भएकाले पनि अपेक्षा अनुसार काम नभएको उनको भनाइ छ ।

सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २९ मा सम्पन्न हुनुपर्ने हो । तर अहिलेसम्म सरकारले दुई पटक म्याद थपिसकेको छ । सहिद मार्ग सडक परियोजनाले अबको दुई÷तीन महिनामा पुल निर्माण सम्पन्न हुने दाबी गरेको छ । दुई वर्षमै सम्पन्न हुनुपर्ने पुल पाँच वर्षसम्म पनि निर्माण नहुँदा स्थानीय जनता आक्रोशित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप