विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर, ११ महिनाको आयात खर्च धान्न पुग्ने
नेपाल राष्ट्र बैंकले मुलुकको ढुकुटीमा ११ महिनाको आयात खर्च धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक रिर्पोट सार्वजनिक गरेको बैंकले हाल नेपाल सरकारसँग ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी मुद्राको सञ्चिति रहेको जनाउदै यसले ११ महिनाको वस्तु तथा सेवा आयातको खर्च धान्न सक्ने बताएको हो ।
आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जनाएको छ ।
२०७८ असार मसान्तमा विदेशी विनिमयदर सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेकोमा २०७७ असार मसान्तसम्म यस्तो अनुपात क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेको बैंकले जनाएको छ ।