शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस र एमालेको महाधिवेशन जुधेपछि ..

बिहीबार, १० भदौ २०७८, १६ : ३७
बिहीबार, १० भदौ २०७८

नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनको मिति जुधेपछि दुईमध्ये कुन दलले आफ्नो महाधिवेशन सार्ने भन्नेबारे अन्योल देखिएको छ ।

नेपाली काँग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म पार्टीको १४ औं महाधिवेशन आयोजना हुने घोषणा गरिसकेको छ । काँग्रेसको गत साउन ३० गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति घोषणा गरेको हो ।

यता, नेकपा एमालेले पनि आफ्नो १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म आयोजना गर्ने घोषणा गरेको छ । काँग्रेसले महाधिवेशनको मिति तोकिसकेपछि एमालेले काँग्रेससँगै जुधाएर महाधिवेशनको मिति तोकेको हो ।

दुई ठूला दलले एउटै समयमा महाधिवेशन घोषणा गरेपछि पार्टीभित्र यसरी महाधिवेशन जुधाउन राम्रो नहुने भन्दै नयाँ मिति घोषणा गर्नुपर्ने चर्चा चलेको छ ।

खासगरी नेकपा एमालेका केही नेताले पार्टीको महाधिवेशन सार्न प्रस्ताव गरेका छन् । काँग्रेसले पहिला नै महाधिवेशनको मिति तोकेका कारण सोही मितिसँग जुध्ने गरी एमालेले महाधिवेशनको मिति तोक्नु राजनीतिक रुपमा राम्रो नहुने भन्दै उनीहरुले महाधिवेशनको नयाँ मिति तोक्न प्रस्ताव गरेका हुन् ।

एमालेको बिहीबार बसेको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे छलफल भएको स्रोत बताउँछ । यद्यपि महाधिवेशनको मिति फेर्नेबारे बैठकले कुनै निर्णय नगरेको एमाले नेता योगेश भट्टराईले रातोपाटीलाई बताए । यसबारे आगामी स्थायी कमिटीको बैठकले ठोस निर्णय लिने बताउँदै भट्टराईले भने, ‘काँग्रेसले पो सार्छ कि ?’

तर, नेपाली काँग्रेससँग भने अब महाधिवेशन पर धकेल्ने विकल्प छैन । काँग्रेसले आफ्नो विधानअनुसार १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद एक वर्ष थप गरिसकेको छ भने संविधानले दिएको छुटसमेतलाई प्रयोग गर्दै थप ६ महिना कार्यकाल लम्ब्याइसकेको छ ।

यसका बाबजुद महाधिवेशन गर्न नसकेपछि काँग्रेसले राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर जरिवाना व्यहोर्ने गरी थप तीन महिना पुरानै कार्यसमितिलाई लम्ब्याउने निधो गरेको हो ।

एमाले नेता योगेश भट्टराईले विहिबारको बैठकमा महाधिवेशन सार्नेबारे  कुनै निर्णय नभएको बताइरहँदा एमाले उपाध्यक्ष भीम रावलले चाहिँ पत्रकारहरुसँग कुरा गर्दै महाधिवेशनको मिति पर सार्ने निर्णय भएको बताएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप