शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेसमा क्रियाशील सदस्यता सार्वजनिक गर्नेबारे विवाद : के भन्छन् जिल्ला सभापतिहरू ?

बिहीबार, १० भदौ २०७८, १६ : १३
बिहीबार, १० भदौ २०७८

प्रमुख सत्तारूढ नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले आफूहरू महाधिवेशनको विरोधी नभएको स्पष्ट पारेका हुन् । 

उनले भने,‘हामीले महाधिवेशन भाँड्न खोजेको होइन । हामीले सभापतिहरूले पटक–पटक मिटिङ गर्ने काम गर्‍यौँ । नेताहरूलाई विशेष महाधिवेशन गरौँ भन्यौँ, अर्ली महाधिवेशन गर्ने हो भने पनि गरौँ भन्यौँ, पछि टाईम्ली महाधिवेशन गरौँ भन्यौँ । हामीले विगत तीन वर्षदेखि यो कुरा भन्दै आयौँ, सुझाव दिँदै आयौँ । तर, नेतृत्वले हाम्रो कुरा सुनुवाइ गरेन । अहिले हामी धर्नामा छौँ । हाम्रो विचार ८ लाख ५० हजार क्रियाशील सदस्यहरूको विचार हो । धर्नामा बस्दा पनि पार्टीले हाम्रो मागको सुनुवाइ गरेन । हिजोदेखि हामी निरन्तर धर्नामा छौँ ।’

उनले पार्टीले तत्काल क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने बताए । उनले भने,‘नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतदाताको नामावली सार्वजनिक हुनुपर्छ, आजसम्म मतदाता को हो भन्ने कुरा थाहा छैन । मेरो नाम छ कि छैन ? मलाई थाहा छैन । क्रियाशील सदस्यता सार्वजनिकीकरण गरिदिनुहोस् भन्यौँ । जिल्लाबाट विधिसम्मत रूपमा क्रियाशील टुङ्गो लगाएर पठाएको विषयमा पनि केन्द्रबाट प्रविधिको दुरुपयोग गरेर नाम हालिएको छ भन्ने कुरा आएको छ, यदि हो भने त्यो सच्याउनुपर्छ ।’

उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकको समितिले बुझाएको क्रियाशीलको प्रतिवेदनमा सैद्धान्तिक र नीतिगत रूपमा मात्रै सहमति गरेकोले व्यवहारिक रूपमा समाधान हुनुपर्ने धारणा राखे । उनले भने,‘यो पार्टी कसैको पेवा होइन ।’

त्यस्तै, कार्यक्रममा भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहौल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विनम्रतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन ।’ 

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरू उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको भन्दै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पारे । उनले आफूहरूले क्रियाशील वितरण सर्वसम्मत रूपमा वितरण गरेको पनि सुनाए । 

उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराए ।  उनले थपे–‘देशव्यापी रूपमा अधिवेशनको माहौल बन्दै थियो । तर, भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाइटमा सार्वजनिक गर्नुपर्‍यो भनेर धर्नामा हुनुहुन्छ ।’

रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशील सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले भने,‘मतदाता नामावली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली प्रकाशनपछि मात्रै अधिवेशनको सुरुवात गर्नुपर्छ । मेरो रामेछापमा क्रियाशील विवाद छैन । आज बन्द कोठामा राखेर क्रियाशील सदस्यता पठाउने भन्ने कुरा पनि आएको छ, तर यो कुरा हामी मान्दैनौँ ।’

उनले आफूहरू अधिवेशनको विरोधी नभएको पनि जिकिर गरे । उनले भने,‘हामी अधिवेशनको कुनै पनि हालतमा विरोधी होइनौँ, अहिले र भोलि पनि अधिवेशन गर्न जान्छौँ । हामी कोही कसैको दास होइनौँ । लोकतन्त्रमा विश्वास गर्ने जिल्ला सभापति हौँ । हामीले सभापतिको विरोध गरेको होइन । अधिकारको कुरा गरेको हो । मतदाता नामावली निकालेर जाऔँ भनेर नेतृत्वलाई भनेका छौँ । हाम्रो यही माग हो ।’

त्यस्तै धादिङका सभापति रमेश धमलाले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरे । आफूहरू पार्टीको हितमा नै केन्द्रित भएर लागेको पनि उनको स्पष्टोक्ति थियो । उने भने,‘जिल्लाबाट सिफारिस भएअनुसार क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ । वैधानिक दृष्टिकोणमा काँग्रेस अप्ठ्यारोमा छ । यो विषय आम कार्यकर्ताको बीचमा उठेको छ । हामी पार्टी जोगाउन चाहन्छौँ । यो पार्टी नेतृत्वमा रहनेहरूको मात्रै होइन । यो पार्टीलाई आशाको केन्द्र बनाउनुपर्छ । यो अभियानमा काम गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप