सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सडकमै चालकको आँखा र रक्तचाप जाँच

बिहीबार, १० भदौ २०७८, १३ : ५३
बिहीबार, १० भदौ २०७८

राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ । सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २ को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व–पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी साधनका चालकको सडकमै आँखा र रक्तचाप जाँच गर्न थालेका हुन्  । 

यही भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा.धर्मप्रताप भरखेरले जानकारी दिए । जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उहाँको भनाइ थियो । यस्तै १० प्रतिशतमा मात्र उच्च रक्तचाप देखिएको र तीमध्ये पाँच प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । लामो दूरीका सवारी चालकमा  बाटोमै निदाउने, स्वास्थ्य बिग्रिनेजस्ता समस्या देखिएकाले उनीहरूलाई थप उपचार गराउन सुझाव दिइएको थियो ।  

दुर्घटनाका विविध कारणमध्ये चालकका आँखाको दृष्टि कमजोर र अन्य स्वास्थ्य समस्याका कारण पनि रहेकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाशबहादुर भट्टराईले जानकारी दिए । ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको उक्त शिविरमा चालकलाई आँखा, रक्तचाप, बढ्दो सवारी दुर्घटना र सहज रूपमा गाडी चलाउनेबारे जानकारी दिइएको थियो । 

जाँच पछि सवारी दुर्घटना हुनाका  कारण र न्यूनीकरणका उपायबारे अन्तक्र्रिया गर्दा चालकबाट सडकको दुराव्यवस्था, ट्राफिक नियम विपरीत ठूलो लाइनको प्रयोग, गलत किसिमले बत्ती बाल्ने, युवाले लागुऔषध सेवन गरी सवारी चलाउनेजस्ता कारणले दुर्घटना बढेको सुझाब आएको उनले बताए ।

दैनिक भत्तामा काम गर्ने टिपरका चालकले  बढी कमाउने लोभमा तीव्र गतिमा चलाउने र साना सवारी साधनले गलत साइडबाट उछिन्ने गर्दा पनि दुर्घटना बढ्ने गरेकोजस्ता सुझाव आएको र यसलाई आधार बनाएर  दुर्घटना न्यूनीकरणका लागि योजना बनाइने प्रहरी निरीक्षक भट्टराईले बताए ।

शिविर दुई दिनसम्म मात्र राखिएकामा चालकको सुझावअनुसार थप दुई दिन लम्ब्याइएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप