शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले किन भेट्न चाहेनन् उपेन्द्र र बाबुरामलाई ?

बिहीबार, १० भदौ २०७८, २२ : ३४
बिहीबार, १० भदौ २०७८

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको चारदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँग्रेसका नेता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता विष्णु पौडेल लगायतसँग पनि उनले भेट गरे ।

भेटका क्रममा उनले आफू आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आएको बताए । उनले आफ्नो दल भाजपा र नेपालका राजनीतिक दलबीचको सम्बन्ध विस्तार गर्न पनि आफ्नो भ्रमण केन्द्रित रहेको बताए ।

तर उनले नेपाल भ्रमणका क्रममा जनता समाजवादी पार्टी नेपालका कुनै पनि नेतासँग भेट गरेनन् । दलहरूसँग सम्बन्ध बढाउन आएको अभिव्यक्ति दिएका उनले जसपा नेपालका नेताहरुसँग भेट नगर्नुले भाजपाले जसपासँग सम्बन्ध बनाउन नचाहेको हो त भन्ने आशंका स्वाभाविक रुपमा बढेको छ ।

जसपा प्रचार विभागका प्रमुख डम्बर खतिवडाले आफ्ना दलका नेताहरु उपत्यका बाहिर भएका कारण पनि भेटघाट नभएको हुनसक्ने बताए । उनले भने, ‘चौथाइवालेले जसपाका नेतालाई भेट्न चाहनु भयो कि चाहनु भएन भन्ने कुरा मलाई थाहा भएन तर हाम्रो पार्टीका नेताहरु पार्टीको कार्यक्रममा व्यस्त भएर उपत्यका बाहिर हुनुहुन्छ ।’

स्रोतका अनुसार भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई भेट्ने कार्यक्रम नै राखेका थिएनन् । स्रोतका अनुसार उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई भारतले पछिल्लो समय त्यति विश्वास गरेको छैन । त्यसैले पनि चौथाइवालाले उनीहरुसँग भेट्न नमानेको स्रोत बताउँछ ।

तत्कालीन समाजवादी पार्टी विभाजन हुन लाग्दा भारतलाई भनसुन गरेर राजपा नेपालसँग एकीकरण गर्न सफल भएका उपेन्द्र यादवले पछिल्लो समय जसपा विभाजन हुँदा भारतलाई नै मुख्य दोषी ठानेका छन् । दलभित्र विवाद बढ्दा अध्यक्ष यादवले सार्वजनिक रुपमै महन्थ ठाकुरले भारतीय दूतावासको इशारामा पार्टी विभाजन गर्न लागेको भन्दै आएका थिए । दूतावासकै इशारामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई महन्थ ठाकुरहरुले साथ दिएको उनको आरोप छ । जसपा विभाजनसँगै भारत र उपेन्द्र यादवको दुरी बढ्दै गयो ।

त्यस्तै, डा.बाबुराम भट्टराईले पनि आफ्ना ट्वीटरमार्फत हिन्दु धर्मलगायत भारतको विषयमा लेख्ने गरेका कारण भारतलाई चित्त बुझेको छैन । डा.भट्टराईको कतिपय ट्वीटको प्रतिकृया भाजपाका विदेश विभाग प्रमुख चौथाइवाला स्वयंले दिँदै आएका थिए । त्यसले गर्दा दुवैजनाको बीचमा राम्रो सम्बन्ध नरहेको कारण भेटघाट नभएको बताइएको छ ।

चौथाइवालाको भ्रमणमा संलग्न नेपालका प्रतिनिधिले भने, ‘भट्टराईलाई नभेट्ने एउटा कारण धर्मप्रतिको उहाँको लगातारको आक्रमण नै हो । बाबुरामले आफ्नो ट्वीटर र फेसबुकमार्फत जहिले पनि हिन्दु धर्म र आस्थामाथि चोट पुग्नेगरी लेख, र स्टाटस लेख्ने, जेएनयुको भारत विरोधी ‘हिडेन एजेण्डा’लाई सघाउन सक्रिय रहने, भारत सरकारको आन्तरिक नीतिहरूको पनि विरोध गर्ने, मोदीको आलोचना गर्ने र राहुल गान्धीको समर्थन गर्ने जस्ता कुराहरूले पनि भाजपालाई चित्त दुखेको उक्त स्रोतले बतायो ।

पछिल्लो समय डा. भट्टराईले कतिपय भारतीय मिडियामा लेख लेखेर भाजपाको विरोध गर्नुको साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध बगाएको फोटो राखेर ट्वीटरमा आलोचना गरेपछि भट्टराईसँग कुनै सम्बन्ध नराख्ने निष्कर्षमा भाजपा पुगेको स्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप