शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

बिहीबार, १० भदौ २०७८, १२ : २२
बिहीबार, १० भदौ २०७८

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । 

प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।  वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाइएको हो । 

मुख्यमन्त्री नियुक्त भएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।  माधव नेपाल पक्षले बुधबार मात्रै निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ भने त्यसको असर प्रदेशमा पर्ने निश्चित छ । 


प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात् ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।

प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियालाई फौजदारी मुद्दा लागेर फरार भएका  कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । समाजवादीमा गएका केही सांसद एमालेमै रहे भनेपनि बहुमत पुर्याउने गरी सांसदलाई एमालेले टिकाउन नसक्ने एक सांसदले बताए । 

यसअघि एमाले सचिव भीम आचार्य माधव नेपाल पक्षमा रहँदा  १८ सांसद माधव नेपालको पक्षमा खुलेका थिए भने ३३ जना ओलीको पक्षमा थिए । तर, तेस्रो धारमा रहेका आचार्य एमालेमै समाहित भएपछि पुरानो समीकरणमा केही फेरबदल आएको छ । अब माधव नेपालको पक्षमा राजेन्द्रकुमार राईसहित ९ सांसद रहेको नेपाल पक्षको दाबी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप