एकताको १६ महिनामा जसपा विभाजन : दोषी को ?
एकता भएको १६ महिनामै जनता समाजवादी पार्टी नेपाल (जसपा) विधिवत् रुपमा विभाजन भएको छ । २०७७ वैशाखमा तत्कालीन केपी ओली सरकारले ल्याएको अध्यादेशका कारण दल विभाजन हुने खतरा महसुस गर्दै तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ २०७७ वैशाख १० गते गठन भएको थियो । अहिले जनता समाजवादी पार्टी नेपाल शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको सोही प्रकृतिको अध्यादेशपछि विभाजन भएको हो ।
विगतदेखि नै फुट्दै–जुट्दै यहाँसम्म आइपुगेका दलहरुले टुट–फुटको शृङ्खलालाई निरन्तरता दिएका हुन् । गत वर्ष वैशाखमा पार्टी एकता गरेर कार्यकर्तापंक्तिमा एक प्रकारको उत्साह भर्न सफल भएको जसपा नेपाल छोटो समयमै विभाजन भएर तिनै कार्यकर्तालाई निराश तुल्याएको छ । विगतमा सत्ताकै कारण मधेस केन्द्रित दलहरु पटक पटक विभाजन हुँदै आएका थिए । पछिल्लो समय जसपा नेपाल पनि सत्ताकै खिचातानीका कारण विभाजन भएको हो ।
जसपाका अध्यक्ष उपेन्द्र यादव ‘एनी हाउ ओली हटाउ’ पक्षमा थिए भने सोही पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुर ‘एनी हाउ ओली बचाउ’ पक्षमा उभिए । दुवै पक्षबीच तानातान हुँदा जसपा नेपाल अन्ततः विभाजन भएको हो ।
मधेस मामिलाका जानकार तुलानारायण साह नेपालका दलहरु सत्ताको राजनीतिमा असफल भएको यो पछिल्लो उदाहरण रहेको बताउँछन् । उनी भन्छन्, ‘नेपालका पार्टीहरु संघर्षको राजनीतिमा सफल छन् भने सत्ताको राजनीतिमा असफल । अर्थात् जुनसुकै दल सत्ताभन्दा बाहिर हुँदा एकजुट रहन्छन् र ती दलको संघर्ष पनि सफल हुन्छ तर जब सत्तामा जान्छन् अनि विभाजन हुन्छ ।’
उनका अनुसार मधेसका राजनीतिक दलहरु पटक पटक विभाजन हुनुको एउटै कारण हो– नेताको व्यवस्थापन हुन नसक्नु । जसपामा पनि विभाजनको मुख्य कारण सत्ता नै रहेको उनको बुझाइ छ । उनले भने, ‘पार्टी विभाजनमा कुनै व्यक्ति वा नेतालाई दोष दिनुभन्दा पनि पार्टीभित्रको प्रवृत्ति र प्रणालीलाई हेर्नुपर्छ ।’
महन्थ ठाकुर पक्षका नेताहरु उपेन्द्र यादवको पार्टीलाई आफूहरुले जोगाइदिएको बताउँछन् । मध्यरातमा सादा कागजमा हस्ताक्षर गर्न तयार उपेन्द्र यादवले अहिले आएर पार्टी कब्जा गर्ने रणनीतिअन्तर्गत पार्टीलाई विभाजनको अवस्थामा पु¥याएको उनीहरुको आरोप छ । उपेन्द्र यादव पक्षका नेताहरु भने त्यो मान्न तयार छैनन् । उनीहरु भन्छन्, ‘महन्थ ठाकुरहरुले प्रतिगमनकारी केपी शर्मा ओलीलाई साथ दिनुभयो र संसदलाई विघटन गर्नेजस्ता असंवैधानिक काम गर्नुभयो ।’
बुधबार विराटनगरमा पार्टीद्वारा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपेन्द्र यादवले भने, ‘महन्थ ठाकुरहरु ओलीको असंवैधानिक कदमलाई साथ दिएर सत्तामा गएर समाप्त हुनुभयो ।’ त्यतिमात्र होइन, उनले महन्थ ठाकुर अरुको इशारामा ओलीको पक्षमा लागेको आरोप पनि लगाए ।
तत्कालीन प्रधानमन्त्री ओलीले आफूहरुको माग पूरा गरेको कारण सरकारमा गएको दाबी महन्थ ठाकुर पक्षका नेताहरुले गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादव स्वयं ओली सरकारमा १८ महिना रहेर गर्न नसकेको काम आफूहरु ओलीको साथमा रहेर १८ दिनमै गरेर देखाएको दाबी गर्दै आएका छन् । महन्थ ठाकुर पक्षले ओलीलाई आफूहरुले मधेसको मागका कारण समर्थन गरेको दाबी गरिरहेको छ । उनीहरुले मधेसका अधिकांश माग पूरा गर्न ओली तयार भएको कारण आफूहरु सरकारमा सहभागी भएको तर्क गर्दै आएका छन् ।
उपेन्द्र यादव पक्ष भने ओलीले मधेसका कुनै पनि माग पूरा नगरेको बताउँछ । महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा जाने इच्छा भएको कारण मधेसको मुद्दालाई भ-याङ बनाएको सो पक्षको आरोप छ । उपेन्द्र यादवले ओलीमाथि कुनै पनि हालतमा विश्वास नगर्ने, उता महन्थ ठाकुरले ओलीमाथि अति विश्वास गर्ने कारण पार्टी विभाजनको अवस्थामा पुगेको कतिपयको बुझाइ छ ।
जसपा विभाजनको घटनाक्रमलाई नजिकबाट अध्ययन गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो जसपा विभाजनको मुख्य कारण एउटा पक्षले ओलीमाथि अति विश्वास गर्ने र अर्को पक्षले अविश्वास गर्नु नै रहेको दाबी गर्छन् । ‘ओलीले जे गरे पनि उपेन्द्र यादवले कुनै पनि हालतमा विश्वास नगर्ने, उता महन्थ ठाकुरहरुले ओलीले आफूहरुको माग पूरा गर्न लागेको भन्दै आँखा चिम्लेर विश्वास गर्ने, यी दुई कारणले जसपालाई विभाजनसम्म पु¥याएको हो,’ उनले भने ।
उनका अनुसार ओलीको साथमा .१८ महिना काम गरेका कारण उपेन्द्र यादवलाई उनीमाथि विश्वास गर्न गाह्रो थियो, तर मधेसको मागहरु पूरा गर्ने प्रकृया सुरु गरेका कारण महन्थ ठाकुरले खुलेर ओलीमाथि विश्वास गर्न थालेका थिए । ओलीले केही माग पूरा गरेर महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएकै दिन पार्टी विभाजन भएको उनको भनाइ छ ।
विचारका कारण जसपा पार्टी विभाजन भएको बुझाइ इन्जिनियर सत्यनारायण साहको छ । मधेस आन्दोलनमा सक्रिय भएर लागेका उनी भन्छन्, ‘उपेन्द्र यादव र महन्थ ठाकुरको बीचमा विचारकै अन्तर छ, त्यही कारण जसपा एक रहन सकेन ।’ समाजवादी पार्टी र राजपा नेपाल एकीकरण हुन लाग्दा आफूहरुले नेताहरुलाई भेटेर एकीकरण नगर्न भनेको तर जबर्जस्ती एकीकरण गरेका कारण त्यो लामो समय टिक्न नसकेको बताए ।
‘दुवै जनामा ठूलो इगो छ, मधेसमा जे भइरहेका छन्, ती मेरै कारण भइरहेका छन् भन्नेमा दुवै जनाले दाबी गर्दै आइरहनु भएको छ,’ उनले भने, ‘उहाँहरु दुवैले आफूलाई शक्तिशाली देखाइरहनु भएको छ, मधेसको मसिहा बन्न चाहिरहनु भएको छ, यही इगोले पार्टीलाई विभाजन गरायो ।’
अर्का राजनीतिक विश्लेषक जयनिशान्तले जसपा विभाजनमा कसैलाई दोष दिनुभन्दा पनि परिस्थितिलाई दोष दिनुपर्ने टिप्पणी गरे । उनले भने, ‘एउटा परिस्थितिले एकीकरण गरायो भने अर्को परस्थितिले विभाजन गरायो, यसमा परस्थितिलाई नै दोष दिनुपर्छ ।’
मधेसमा एउटा शक्तिको आवश्यकता छ र बनेको शक्ति विभाजन हुनुले दुवै पक्षलाई नोक्सान भएको उनले बताए । उनले एकता, सहकार्य अहिलेको आवश्यकता रहेको बताए । सम्भव भएसम्म अहिले पनि एकताका लागि प्रयास गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘शाक्तिशाली भएकै कारण जसपालाई ओली, प्रचण्ड र शेरबहादुर देउवाले पनि खोजे, कमजोर भएपछि कसैले खोज्दैन र कसैले कुरा पनि सुन्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय