कश्यपको कथा : अरुलाई दोष दिनु भनेको आफैँ दोषी हुनुको प्रमाण हो
धेरै पहिलेको कुरा हो । अविश्वासपुरमा अन्धक नामका राजा थिए । अन्धविश्वासका भक्त यी राजा सत्यतथ्यको विचारै नगरी जसले जे भन्यो त्यसैको पछि दौडन्थे । यसैका कारण कतिको घरवास उडेको थियो कतिको ज्यानै गएको थियो । भनिन्छ, ‘यथा राजा तथा प्रजा ।’ राजा जस्ता छन् प्रजा पनि त्यस्तै हुने नै भए । देशवासी सबै अन्धविश्वासकै पक्षपाती थिए ।
समय बित्दै गयो, जेनतेन देश पनि चलेकै थियो । आखिर चल्नुसम्म न हो जसरी पनि चल्छ । कसरी चलेको छ भन्ने महत्वपूर्ण कुरा हो । यस्तो सोच्ने फुर्सद यहाँ कसलाई थियो र । एक दिनको कुरा हो गाउँका सेठ कतै जान लाग्दा एक गरीबले बाटो काटेछ । उनी धनीमानी थिए । गरीव मन पराउन्न थे । गरीवहरू पापी हुन्छन्, पापको फल हो भन्ने उनको मान्यता थियो । मन नपरेको मानिसले बिहानै बाटो काटेको देखेर उनलाई रिस उठ्यो । मुखले केही नभने पनि मनमनै आज यसले बिहानै बाटो काट्यो साइत पर्दैन कि क्या हो भन्दै गए । नभन्दै त्यस दिन उनको काम बनेन । यसको कारण उनले उही गरविले बाटो काट्नुलाई माने र घर पुगेर श्रीमतीलाई सुनाए ।
श्रीमती यस मामिलामा उनीभन्दा एक बित्ता अगाडि थिइन् । उनले तत्कालै फलानो व्यक्ति अपशकुनी छ भनेर गाउँभरि हल्ला फिँजाइन् । नराम्रो कुराको फिँजिन किन बेर लाग्थ्यो र । एककान दुई कान हुँदै चाडै नै अविश्वासपुरभरि फैलियो । कसैका लहडका कारण एउटा निर्दोष व्यक्ति अपशकुनी बन्न पुग्यो । उसलाई देख्ने बित्तिकै सबै परपर हुन्थे । विचरालाई गाउँमा काम पाउनै मुस्किल पर्न थाल्यो । आफैँ गरीव थिए । बाबुबाजेको सम्पत्तिको नाममा एउटा झुपडी मात्र थियो । गाउँमा कामसमेत पाउन छाडेपछि खानै नपाएर मर्नुपर्ने अवस्था सिर्जना भयो ।
गरीवीले सताएपछि एकदिन उसकी स्वास्नी मङ्गलीले भनी–
‘भुन्टीको बा ! यसरी कति दिन चल्छ ? घरमा खाने दानो छैन, बालबच्चा भोकै छन्, कतै काम खोज्ने होइन भन्या ?’
मङ्गलेले लामो सास फेर्दै भन्यो–
‘खोज्ने त भनेको हो नि मङ्गली ! के गर्ने खोइ ? के दशा लागेछ कुन्नि, कोही पनि काम दिन मान्दैनन् । सबै देख्ने बित्तिकै परपर हुन्छन् ।’
मङ्गलीले सम्झाउँदै भनी–
‘बरु राजाको दरवारतिर पो जाने हो कि । अन्त नपाए पनि दरवारमा त कसो काम नपाइएला र । खानै पाइएन भनेपछि राजालाई पनि केही गर्न कर लाग्छ । आखिर हामी उनकै प्रजा हौँ क्यारे ।’
मङ्गलीको कुरा ठीकै लागेकाले ऊ खुइय गर्दै दरबारतिर लाग्यो । उसलाई देख्ने बित्तिकै राजाले छेलपर्दै सोधे–
‘किन आइस् मङ्गले एकाबिहानै ?’
उसले हात जोड्दै भन्यो–
‘महराज ! गाउँलेहरूले काम दिन छाडे, बालबच्चा भोकै छन् । कुनै काम माग्न आएको हुँ ।’
‘तँ आफैँ अपशकुनी छस् त के गरौँ मङ्गले ।’ रुखो पारामा राजाले भने–
‘आफ्नै अनुहार त्यस्तै छ भने अरुलाई दोष दिन पाइन्छ ? परिवार भोको छ भने त्यो तेरो समस्या हो मङ्गले ! तेरो भलाइ यसैमा छ कि तुरुन्तै गइहाल । आफ्नो अपशकुनी अनुहारले मेरो साइत बिगा¥यो भने त्यो भन्दा नराम्रो केही हुनेछैन ।’
‘गरीव जरुर हुँ सरकार ! अपशकुनी होइन ।’ मङ्गलेले अनुनय गर्दै भन्यो–
‘सरकारले पनि त्यसो भनेपछि हामी गरीव कहाँ जाने ? फेरि पनि भन्छु म अपशकुनी होइन । विश्वास लाग्दैन भने जाँच्न सक्नुहुन्छ ।’
त्यसपछि राजाले केही सोचे जस्तो गर्दै भने–
‘ठीकै छ आजलाई भण्डारेसित भनेर केही खाना लिएर जान सक्छस् । भोलि बिहानै जाँच लिन आउँछु । सही ठहरिस् भने दरवारमै काम पाउनेछस् । होइन भने जे पनि हुन सक्छ ।’
जो हुकुम सरकार ! भन्दै मङ्गले केही खाना लिएर गयो । भोलिपल्ट बिहानै राजाले उसको मुख हेरेर आए । संयोगवश भइदियो के भने त्यस दिन बिहान उनले खान पाएनन् । खानै लागेको बेला कसैको घरमा आगलागी भएको खबर आयो । उनी त्यतै लागे । त्यसपछि उनले मङ्गलेकै कारण यस्तो भएको हो भन्ने ठाने र यस्ता अपशकुनीलाई बाँकी राख्न हुन्न भन्दै भोलि बिहानै झुन्ड्याएर मार्ने आदेश दिए ।
यो कुरा मङ्गले परिवारसम्म पनि पुग्यो । अब उसलाई थप आपत आइलाग्यो । काम पाइएला भनेर दरवार गएको बाँच्नै नपाइने भयो तर मङ्गलेकी स्वास्नी निकै समझदार थिई । उसले तत्कालै विश्वासपुर निवासी चतुरे (चतुर्भुज शर्मा) कहाँ जाने निधो गरी, जसले यस अघि आपत विपतमा परेका धेरैको ज्यान बचाएका थिए । मङ्गली मध्यरातमा लोग्नेको साथमा उनको ढोका ढकढक्याउन पुगी ।
उनीहरूको कुरा सुनिसकेपछि चतुरेले केही सोचे जस्तो गरी मङ्गलेलाई केही सुनाएर पढाइदिए ।
रात बित्यो भोलिपल्ट बिहानै राज कर्मचारीले मङ्गलेलाई घिच्याउँदै चौबाटोमा पु¥याए । झुन्ड्याउनै लागेको बेला राजाले आएर भने–
‘मर्ने मानिसको ईच्छा सोध्नु भन्छन्, भन् मङ्गले ! तेरो अन्तिम ईच्छा के छ ?’
त्यसपछि मङ्गलेले विनम्रता पूर्वक भन्यो–
‘हो महाराज ! म अपशकुनी हुँ, मेरो अनुहार देखेपछि हजुरले समेत खान पाउनु भएन तर हजुरको अनुहार त यति अपशकुनी रहेछ कि जसलाई देखेपछि बाँच्नसम्म नपाइने रहेछ । दुनियाँलाई यही कुरा सुनाइयोस् भन्ने चाहन्छु महाराज !’
उनको कुरा सुनेर राजा झस्के । तत्कालै शान्त हुँदै सोधे–
‘भन मङ्गले ’ यस्तो कुरा कसले सिकायो ?’
मङ्गलेले सम्पूर्ण वृतान्त बतायो । त्यसपछि राजाले चतुरेलाई बोलाएर अपराध गर्नबाट बचाए वापत धन्यवाद दिए । मङ्गलेलाई क्षतिपूर्ति स्वरूप खाइजिविकाको व्यवस्था मिलाएर फर्के । त्यस दिनदेखि मनमा कहिल्यै त्यस्तो भावना आउन दिएनन् ।
भनिन्छ, अरुलाई दोष दिनु भनेको आफैँ दोषी हुनुको गतिलो प्रमाण हो । अरुलाई एउटा औँलो देखाउँदा बाँकी औँलाले आफैँलाई देखाइरहेको हुन्छ भन्ने उखान त्यत्तिकै चलेको कहाँ हो र ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन