शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र नयाँ पार्टी रोज्न पाउने
बुधबार, ०९ भदौ २०७८, २३ : ११
बुधबार, ०९ भदौ २०७८

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार गरेको छ ।

शुरुमा नेपाल समूहमा नलागी पछि निवेदन दिएका चार सांसदमध्ये पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् ।

आयोगले पछि परेको निवेदनमा सनाखत नगर्ने भनेपछि बुधबार यसबारे आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच केहीबेर गर्मागर्मी बहस भएको थियो । अन्ततः आयोगले उनीहरुलाई सनाखतमा सहभागी नगर्ने निर्णय सुनायो ।

निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब उनीहरुले सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ । उनीहरु अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित छ ।

आयोगका एक पदाधिकारीले रातोपाटीसँग भने, ‘अब उहाँहरुलाई एमालेले कारवाही गरेन र मूल पार्टीमै रहनुभयो भने पद जाँदैन, नयाँ पार्टीमा लाग्ने हो भने सांसद पद गुम्छ ।

तर, नेकपा एमालेले भने विहीबार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी चारजना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरुलाई प्रक्रिया पुर्याएर कारवाही गर्ने एमालेका एक नेताले जानकारी दिए ।

 नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरुमै लागेका ३० सांसदको भने पद जोगिएको छ । एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले उनीहरुको समेत सांसद पद जोगिएको छ । तर, ढिलो गरी नेपाल पक्षमा खुलेका चारजनाले भने सांसद पद नै गुमाउनुपर्ने अवस्था आएको छ ।

तीन केन्द्रीय सदस्यको पनि सनाखत भएन

निर्वाचन आयोगले नेपाल पक्षका थप तीनजना केन्द्रीय सदस्यहरुको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले बताए । केन्द्रीय सदस्यहरु रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत नगरेको हो । तर, उनीहरुलाई एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने ढोका भने खुल्लै छ ।

उता, सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय पनि केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुन सक्ने ठाउँ सुरक्षित छ ।

सबै केन्द्रीय कमिटीका सदस्यहरु र सांसदलाई आयोगले मान्यता दिएको  भए प्रतिशत अरु बढ्ने र सांसदमा पनि २० प्रतिशत कट्ने भन्दै नेपाल समूहका केही नेताहरुले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

उता, मूल पार्टी नेकपा एमालेले भने माधव नेपालसहितका १४ सांसदलाई समेत सनाखत नगर्न आयोगलाई दबाव दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप