आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको अभिव्यक्तिप्रति ओलीको आपत्ति

बुधबार, ०९ भदौ २०७८, १५ : ०३
बुधबार, ०९ भदौ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति आपत्ति जनाएका छन् । 

अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कुलै झुट बोलेको दाबी गर्दै देशका अगाडि बेइमानीपूर्ण कुरा नगर्न पनि चेतावनी दिए । 
बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबीसमेत गरे । 

 आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो । उनले भने, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । एकजना मित्रले भन्नु भयो– पहिलेको र अहिलको उस्तै हो भनेर– कोही नअलमलिनु होला भनेर । पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी हिसाबमा उस्तै होइन यो फरक छ । तर उहाँले साफ झुट बोल्नु भो, देशका अगाडि बेइमानीपूर्ण कुरा गर्नुभयो । उहाँले चाहिँ देशका लागि । नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सत्ताले यस्तो, सरकारले राजनीतिक पार्टीभित्र बदनीयतका साथ हात हालेर अनुचित ढङ्गले कानुन निर्माण गरेर, अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक कार्य हो, यो नैतिक कार्य होइन । यो बिलकुलै अनैतिक कार्य हो । त्यसकारण यस्तो अनुचित कार्य उचित होइन । देश जोगाउनका लागि अध्यादेश । यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो । यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश खत्रक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने ? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि । देश जोगाउनका लागि यो अध्यादेश । यो वितण्डा, असंवैधानिक क्रियाकलाप, यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ? यो विल्कुल गलत परिभाषा हो, गलत व्याख्या हो । यस्ता गलत व्याख्यामा हामी कोही पनि पर्नु हुँदैन भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबीसमेत गरे । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दाबी गर्दै उनले वर्तमान सरकार आफैले विकास निर्माणको काम ठप्प पारेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप