आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

जेठ २ मा फर्कँदा एमाले बैठकमा पूर्वमाओवादी कसरी घुसे ?

मङ्गलबार, ०८ भदौ २०७८, २२ : ३४
मङ्गलबार, ०८ भदौ २०७८

मंगलबार दिउँसो ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकको माहोल अरु दिनभन्दा केही फरक थियो । फरक यसकारण कि गत फागुन २३ यता पटक–पटक बैठक बस्दा एकै ठाउँमा नदेखिएका एमाले नेताहरु मंगलबारको बैठकमा भने एकै ठाउँ बस्न पुगेका थिए ।

तर, एमाले बुझ्नेहरूले उक्त बैठकमा माधव नेपाल र झलनाथ खनालको अभाव खट्किएको सजिलै अनुमान लगाउन सक्थे । यतिमात्रै होइन, मंगलबारको बैठकमा पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरु समेत सहभागी थिए । जबकि फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७५ जेठ २ को संरचनामा पुगिसकेका थिए ।

फागुन २३ को फैसला अनुसार पूर्ववत् अवस्थामा फर्किएको एमालेको पहिलो बैठकमै पूर्वमाओवादी नेतासमेत सहभागी भएपछि प्रश्न उठेको छ, जेठ २ अगाडि फर्केको बैठकमा उनीहरु कसरी घुसे ? यो प्रश्नको जवाफमा एमाले मौन छ ।

​एमालेले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिँदै जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने भनी उल्लेख छ ।

‘२०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने तथा एकीकरणका क्रममा आवद्ध भएका र २०७५ साल जेठ ३ गते पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने । नवीकरण गर्दा ७७ साल चैत्रदेखि ७८ साल चैतसम्मको १३ महिनाको सदस्यता लिने’, एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ ।

त्यसो त मंगलबारकै बैठकपछि नेकपा एमाले २०७५ जेठ २ कै संरचनाको अवस्थाबाट क्रियाशील हुने दावी गरिएको छ । तर, पूर्व माओवादी नेताहरु कसरी बैठकमा बसे भन्ने कहीँ कतै खुलाइएको छैन ।

स्थायी समिति बैठकले विभिन्न आठ बुँदामा विभिन्न १२ वटा निर्णय गर्दै पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ को अवस्थाबाट क्रियाशील हुन निर्देशन पनि दिएको छ । तर यसबारे एमालेले न कुनै ठोस निर्णय नै गरेको छ, न त प्रष्ट धारणा नै सार्वजनिक गरेको छ ।

तेस्रो धार एमालेमै विलीन

यसअघि एमाले विभाजन हुँदा अध्यक्ष ओली र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालको पार्टीतिर नलागी केही दिन तटस्थ बसेका दोस्रो पुस्ताका १० जना नेताहरु पनि मंगलबारबाट एमालेमै विलीन हुन पुगेका छन्, जो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेदेखि नै माधव समूहमा संलग्न भएर संघर्ष गर्दै आएका थिए । ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमको विरोधमा चर्को स्वर गर्ने तिनै नेताहरु पुनः माधव नेपालको पार्टीमा नलागी ओलीसँगै मिसिन पुगेका हुन् ।

​त्यतिमात्रै होइन, जेठ २ मा फर्किएको भनिएको नेकपा एमालेको पहिलो बैठकमै माओवादीवादीबाट एमाले प्रवेश गरेका नेताहरु सहभागी बनेका छन् । जेठ २ को एमाले पार्टी कमिटी क्रियाशील गर्न नै उनीहरुको उपस्थिति हुनुले र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न गठित कार्यदलमा समेत रहनुले जेठ २ मा फर्कने अध्यक्ष ओलीको प्रतिवद्धता कति दिन टिक्ने हो भन्ने प्रश्न पनि उठेको छ ।

सामूहिक तस्विरले दिएको सन्देश

च्यासलमा बसेको मंगलबारको बैठकपछि एमाले नेताहरुले सामूहिक तस्बिर खिचेका छन् । उक्त सामुहिक तस्बिर खिचेर एमालेले एकताको सन्देश दिन खोजेको प्रष्टै बुझ्न सकिन्छ । तर, नियालेर हेर्दा उक्त तस्बिरमा रहेका केही नेताहरुको अनुहारमा उज्यालोपन देखिएको छैन । खासगरी विगतमा ओलीविरुद्धको संघर्षमा लागेका नेताहरुको अनुहार मलिन देख्न सकिन्छ । तस्बिर खिच्ने बेलामा अध्यक्ष ओलीसँगै बसेका उपाध्यक्ष भीम रावल जबरजस्त मुस्कुराउने प्रयास गरेजस्ता देखिन्छन् भने त्यसै लहरमा उभिएका सचिव गोकर्ण विष्ट र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अनुहारमा खुसीको कुनै लक्षण देखिदैन ।

त्यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि केही मुस्कुराउने  भावमा देखिएका छन् भने पछिल्लो लहरमा उभिएका योगेश भट्टराईको मुहारमा पनि खासै चमक देख्न सकिँदैन । नेता रघु पन्त बिरामी जस्तो अनुहारमा देखिन्छन् ।

बरु उनीहरु भन्दा हँसिलो अनुहारमा देखिएका छन् पूर्वमाओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल र लेखराज भट्टहरु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप