शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बाढीले ढालेको सीमा स्तम्भ अलपत्र

मङ्गलबार, ०८ भदौ २०७८, १६ : ४८
मङ्गलबार, ०८ भदौ २०७८

 

भदौ २ गते आएको बाढीले भजनी–५ काला पातालमा बगाएको सीमा स्तम्भ अलपत्र परेको छ । बाढीले ढालेको सीमा स्तम्भ मर्मतका लागि दुवै देशको संयुक्त सर्भे टोलीले नापजाँच गरेरमात्र पुनर्स्थापना गर्नुपर्ने भएकाले पूर्ववत् अवस्थामा स्तम्भ कहिले राखिने हो भन्ने टुङ्गो लाग्न सकेको छैन ।

अविरल वर्षापछि मोहोना नदीमा आएको बाढीले सीमा स्तम्भ नम्बर ‘७०९/५’ बगाएको हो । कैलाली, कञ्चनपुर लगायतका क्षेत्रमा यसैगरी सीमा स्तम्भ हराउने र केही वर्षपछि ती क्षेत्रमा सीमा विवाद सिर्जना हुने गरेका कारण लामो समय सीमा स्तम्भ निर्माण हुन नसकेमा काला पाताल क्षेत्रमा त्यस्तै विवाद सिर्जना हुने हो कि भन्ने स्थानीयवासीको आशंका छ ।

सीमा स्तम्भ क्षेत्रमा पानी भएका कारण निर्माण कार्य गर्न नसकिएको कालापाताल भजनीका बिओपी कमाण्डर तथा सशस्त्र प्रहरी बलका सई भिमसिंह ठकुराठीले रातोपाटीलाई जानकारी दिए ।

सीमास्तम्भ बगाएलगत्तै भारत र नेपालका प्रतिनिधिले फोटो खिचेर रेकर्ड राख्ने काम गरेको र सीमास्तम्भ भएको स्थानदेखि बगाएको क्षेत्रसम्म भारततर्फ एसएसबी, नेपालतर्फ सशस्त्र प्रहरीले निगरानी गरेको उनले बताए ।

ठकुराठीका अनुसार वर्षायाम सकिएपछि मात्र दुवै देशका प्रतिनिधि मिलेर उक्त सीमा स्तम्भ निर्माण गर्नेछन् । उक्त सीमा स्तम्भ भएको स्थान, पिलर नम्बर लगायतका रेकर्ड दुवै देशका सम्बन्धित निकायले सुरक्षित राखेको भन्दै उनले वर्षायाम सकिएपछि निर्माण कार्य सुरु हुने बताए ।

वर्षाको समयमा नदी छेउ रहेका धेरैजसो पिलर बाढीले बगाउने गर्दछ । सीमा सुरक्षाका लागि दुवै देशबाट खटिएको टोलीले नियमित रुपमा सीमा क्षेत्रको निरीक्षण गर्ने र सीमा स्तम्भको अवस्थाबारे जानकारी लिने गरेको कैलाली जिल्ला प्रशासन कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार यसरी गस्तीका क्रममा सीमा स्तम्भ बगाएको वा ढलेको पाइए तत्कालै अर्को मुलुकका सरोकारवाला निकायलाई खबर गर्ने र तथ्यांकहरु संकलन गरी माथिल्लो निकायमा जानकारी गराइन्छ ।

यसरी पठाएको रेकर्ड हेरेर दुवै पक्षका तर्फबाट संयुक्त सर्भे टोली आएर नापजाँच गर्ने र सीमा स्तम्भ निर्माण गरिने प्रचलन रहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप