शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

मङ्गलबार, ०८ भदौ २०७८, १५ : ०२
मङ्गलबार, ०८ भदौ २०७८

तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।

तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।

अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।
    
गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।
    
यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासो पूर्णरुपमा हेरेका छन् । उता तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् ।
 
तालिबानहरुको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुनसकेको छैन । यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भइ आएको छ । यसैकारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागि परेका बताइएको छ ।    
    
यतिखेर भने तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कटको व्यवस्थापन गरिरहेका बताइएको छ ।

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ ।    

अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबान नेता स्वदेश फर्किन थालेका छन् ।
 
तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो । उनीहरु पनि अहिले स्वदेश फर्किरहेका छन् ।   

हाल तालिवानका चार संस्थापक नेता रहेका बताइएको छ र तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका बताइएको थियो ।  

अफगानिस्तानको कान्दहार शहरमा तालिबान धेरै रहेका छन् । तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप