पाटन अस्पतालमा कोभिडसँगै नन्–कोभिडका बिरामीको सङ्ख्या बढ्दो
निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण दर बढ्न थालेको छ । अस्पतालमा बिरामीहरूको चाप पनि बढ्न थालेको देखिन्छ । कोरोना सङ्क्रमितसँगै नन्–कोभिडका बिरामीको समेत उपचार गर्दै आइरहेको पाटन अस्पतालमा दुवै थरी बिरामीको चाप बढ्न थालेको छ ।
कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्थामा कोभिड र नन्–कोभिड बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालमा कस्ता छन् चुनौती ? तेस्रो लहरसँग जुध्न अस्पतालले के–कस्तो तयारी गरेको छ ?
यी र यस्ता अन्य विषयलाई लिएर रातोपाटीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्यसँग कुराकानी गरेको छ । प्रस्तुत छ, डा. शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश–
पाटन अस्पतालमा अहिले कोभिड बिरामीको चाप कस्तो छ ?
निषेधाज्ञा खुकुलो भएसँगै दुई साता यता अस्पतालमा कोभिडका बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञाको अन्त्यतिर दैनिक सरदर १० जना गम्भीर खालका बिरामी अस्पताल भर्ना भएका थिए । दुई साता यता भने गम्भीर खालका बिरामी दैनिक सरदर ३० जनाभन्दा बढी भर्ना हुने गरेका छन् ।
असार अन्त्यसम्ममा दैनिक १०० जनासम्म कोभिडका बिरामी अस्पताल आउने गरेकोमा दुई साता यता २५० को हाराहारीमा कोभिडका बिरामी अस्पताल आउने गरेका छन् । दुई साता अघिसम्म आईसीयूहरू खालीजस्तै थियो भने अहिले लगभग भरिएका छन् । २१ आईसीयूमध्ये १६ वटा आईसीयूमा गम्भीरखालका बिरामी उपचाररत छन् । एचडीयू पनि भरिएका छन् । ३०० बेडमध्ये २५० बेड भरिएका छन् । आईसीयू चाहिने, हाइफ्लो अक्सिजन चाहिने केही बिरामीलाई कहिलेकाहीँ भर्ना गर्न असम्भव भएर अन्य अस्पतालसँग समन्वय गरेर पठाएका पनि छौँ ।
अस्पतालमा भर्ना हुन आउने बिरामी कस्तो अवस्थाका छन् र कस्ता लक्षण भएका बिरामी आउने गरेका छन् ?
कोरोनाको दोस्रो लहरमा सिकिस्त भई सिधै आईसीयू, भेन्टिलेटरमा भर्ना हुनेको सङ्ख्या ठूलो थियो । अहिले सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेमा पहिलाको तुलनामा स्वास्थ्य अवस्थामा जटिल भई आउनेको सङ्ख्या कम छ । अस्पताल भर्ना भएका कोभिड बिरामीलाई दुईदेखि पाँच लिटरसम्म अक्सिजन दिएपछि स्वास्थ्य ‘मेन्टेन’ भएको पाइएको छ । पहिलाजस्तो गम्भीर प्रकृतिका बिरामी तुलनात्मक रूपमा अलि कम नै आएका छन् । मुख्यतः अक्सिजनको लेबल सही ठाउँ नभएपछि अस्पताल आइपुगेका छन् । पूर्ण लक्षणसहित श्वासप्रश्वासमा समस्या देखिएर निमोनिया भएपछि आउने पनि धेरै छन् ।
पछिल्लो समय अस्पतालमा भर्ना हुने कोभिड बिरामीको सङ्ख्या पुनः बढ्न थालेको छ, के यो कोरोनाको तेस्रो लहरको सङ्केत हो त ?
अस्पतालमा कोभिड बिरामी भर्ना हुने दर बढिरहँदा कतै कोरोना सङ्क्रमणको तेस्रो लहर त होइन भन्ने कुरा यदाकदा सुन्ने गरेको छु । यस विषयबारे भन्ने जनस्वास्थ्य विज्ञ त म होइन । तर हाम्रै अस्पतालमा एक्सपर्ट डाक्टरहरूको टोलीले कोभिड सङ्क्रमितको सङ्ख्या केही बढे पनि अहिले नै तेस्रो लहर नआएको र यो दोस्रो लहर नै भएको बताउनुहुन्छ । मलाई पनि त्यस्तै लाग्छ । दोस्रो लहर अहिले पनि कायम छ ।
असारको अन्यतिर दैनिक करिब साढे नौ हजार सङ्क्रमित पुष्टि हुँदा दोस्रो लहरको उच्च विन्दुमा पुगेर बिस्तारै ओरालो लाग्दै केही समय स्थिर भए पनि केही दिन यता पुनः सङ्क्रमित र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । दोस्रो लहरमा सङ्क्रमित करिब १६०० भन्दा कम भएकै छैन भने मृत्यु दर पनि शून्य भएको अवस्था छैन । त्यसैले सङ्क्रमित बढे पनि यो अवस्थालाई तेस्रो लहर भन्न मिल्दैन कि भन्ने तर्क अस्पतालका विज्ञको पनि छ ।
कोरोनाविरुद्ध खोप लगाएकाहरू सङ्क्रमित भएर अस्पताल आउनु परेको छ कि छैन ?
कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएर सङ्क्रमित भई आईसीयू, भेन्टिलेटरमा राख्नुपर्ने खालका बिरामी न्यून छन् । दुई डोज लगाउनुपर्ने खोपको पहिलो डोज लगाएकाहरू केही संक्रमित भएर अस्पताल आएका छन् । तर त्यस्ता बिरामी अस्पतालमा भर्ना भए पनि चाँडै निको भएको पाइएको छ । खोप नपाउनेहरू एकदमै जोखिममा छन् । कोरोना महामारीको युद्धमा लड्नका लागि मुख्य कुरा खोप नै हो । यद्यपि कोरोनाविरुद्धको खोप लगाएका नागरिकमा पनि जोखिम कायम छ भन्ने बिर्सन हुँदैन ।
कोरोनाविरुद्धको खोप लगाएका र नलगाएकाहरूले सही तरिकाले मास्क लगाउने, सामाजिक दूरी कायम गर्न र बेलाबेलामा हात सफा गर्न बिर्सनु हुँदैन । धेरै जनसङ्ख्यालाई खोप दिएका देशहरूले पनि अनिवार्य रूपमा मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्ने र नियमित हातको सफाइलाई प्राथमिकता दिएका छन् ।
अघिल्ला महामारीमा जस्तै पाटन अस्पतालमा कोभिडका बिरामी बढेपछि नन्–कोभिडका बिरामीको भर्ना दर घटेको हो ?
यसअघि अस्पताल भर्ना हुने कोभिडका बिरामी बढ्दा नन्–कोभिड बिरामी भर्ना हुने दर ज्यादै न्यून थियो । तर पछिल्लो समयमा कोभिड वार्डमा पनि भर्ना हुने बढेका छन्, नन्–कोभिडतर्फ पनि बिरामीको चाप उस्तै छ । यही तरिकाले कोभिड र नन्–कोभिडका बिरामी एकनासले बढ्ने हो भने अस्पताललाई अझै चुनौती बढ्छ । अघिल्ला महामारीमा साधारण रोग भन्दै कोरोनाको त्रासले घरमै बसेका धेरै नन्–कोभिड बिरामीको स्वास्थ्य अवस्था जटिल भएकोसमेत पाएका छौँ । अहिले नन्–कोभिड बिरामी उपचारका लागि अस्पताल आउने क्रम जारी छ । पाटन अस्पताल ७०० बेडको हो । ३०० बेड कोभिडका बिरामीलाई राखेका छौँ भने ३५० नन्–कोभिडका लागि र इमर्जेन्सीका लागि ५० बेड छुट्याएका छौँ ।
कोभिडभन्दा नन्–कोभिड बिरामीले बेड पाउन मुस्किल छ । ओपीडीमा दैनिक १२०० सयदेखि १५०० जना बिरामी आउने गर्छन् । भर्ना हुने सङ्ख्या ३८० भन्दा बढी छ । कोभिडका बिरामीको सङ्ख्या पनि बढिरहेको छ ।
कोभिड, नन्–कोभिड बिरामीको भर्ना यही दरमा बढ्दा पाटन अस्पताललाई जनशक्ति व्यवस्थापन गर्न कठिनाइ त हुँदैन ?
कोभिडसँगै नन्–कोभिडका बिरामीको चाप बढ्दा अस्पतालका लागि चुनौती थपिएको छ । पहिलो लहरमा सम्पूर्ण जनशक्ति कोभिड बिरामीको व्यवस्थापन तथा उपचारमा खटायौँ । सर्जरी गर्ने डाक्टर र विभिन्न रोगका विशेषज्ञ अर्थात् जो–जो खाली छन्, उनीहरूलाई कोभिड वार्डमा खटाएका थियौँ । अहिले सबै डाक्टर, नर्स आफ्नो डिपार्टमेन्टमा बिरामीको सेवाकै लागि खटिएका छन् । कोही पनि खाली छैनन् । जनशक्तिको कमी हुन थालेको छ । कोरोनाविरुद्धका खोप सबै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीले लगाएका छन् । तर पनि समूह–समूह पुनः सङ्क्रमित हुन थालेका छन् । खोप लगाएर स्वास्थ्यमा धेरै समस्या नदेखिए पनि कोरोना पोजेटिभ देखिएपछि डाक्टर नर्सहरू निश्चित समयका लागि होम आइसोलेसन बस्नुपर्ने भएकाले जनशक्तिको समस्या देखिन थालेको हो । त्यसैले जनशक्ति व्यवस्थापनका लागि समस्या सिर्जना भयो । अस्पतालले कोभिड, नन्–कोभिड बिरामीलाई सेवा दिनका लागि अध्ययन गरी विभिन्न विषयमा अध्ययन गरेका तथा अन्तिम वर्ष अध्ययन गरिरहेका नर्स र डाक्टरलाई कसरी खटाउने भनेर पनि कार्ययोजना बनाएको छ । यस्तै, नयाँ डाक्टर, नर्स भर्ना पनि गर्दैछौँ । झण्डै ७० जना नयाँ नर्स आवश्यक पर्ने अस्पतालको आङ्कलन छ ।
अस्पतालले आफै कमाएर आफैले सम्पूर्ण भार व्यहोर्नुपर्ने भएकाले तत्काल चाहिने जति जनशक्ति राख्न पनि चुनौती नै छ । पाटन अस्पताल डाक्टर, नर्स, स्वास्थ्यकर्मी कर्मचारी गरी १५ सय जना छौँ ।
कोरोनाको तेस्रो लहर सामना गर्न पाटन अस्पतालको तयारी कस्तो छ ?
यसअघिका अनुभवबाट पाठ सिक्दै अगाडि बढ्ने तयारी गरेका छौँ । महामारीसँग जुध्नका लागि सरकारले दिएको निर्देशन पाटन अस्पतालले पालना गरेको छ । सरकारले सङ्क्रमणको तेस्रो लहरमा बालबालिका प्रभावित हुन सक्ने भन्दै त्यहीअनुसार तयारी गर्न अस्पतालहरूलाई निर्देशन दिएको थियो । सोहीअनुसार पाटन अस्पतालले तयारी गरेको छ ।
पेडियाट्रिक वार्डमा बालबालिकाका लागि २० आईसीयू छुट्याएका छौँ । पेडियाट्रिक आईसीयू धान्ने जनशक्ति प्राप्त नभएकाले थप जनशक्तिलाई तालिमसमेत दिएका छौँ । साथै देशका विभिन्न भागमा सञ्चालित अस्पतालहरूका स्टाफहरूलाई समेत दैनिकजसो पेडियाट्रिक तालिम दिइरहेका छौँ । अब एक सातामा हाम्रो आफ्नै अक्सिजन प्लान्टको निर्माण कार्य सम्पन्न हुन्छ होला । नयाँ प्लान्टबाट दैनिक २७० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । दोस्रो लहरमा पाटन अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यक परेको थियो । अक्सिजन प्लान्ट निर्माण भएपछि त्यस्तो समस्या हुँदैन ।
कोभिडका बिरामीलाई प्रयोग गरिने औषधिहरू स्टक गरेका छौं । दोस्रो लहर उत्कर्षमा पुग्दाको चापलाई आधार मानेर ३ महिनालाई पुग्ने औषधि स्टक राखेका छौँ । अस्पताल आउनेको भिड कन्ट्रोल गर्न पनि ज्यादै समस्या भएको छ । सामाजिक दूरी कायम गर्न पनि अस्पतालका लागि चुनौती थपिएको छ । त्यसमाथि कोरोना खोप केन्द्र बनाइएका कारण पनि विगतमा झन् गाह्रो भयो । पछिल्लो समय भिडभाडका कारण बाध्य भएर खोप केन्द्र राख्न सकेनौँ । खोप लगाउन आउनेहरूबीच कोरोना फैलने त्रासले पनि केन्द्र राख्न नसकेका हौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता