आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भीमा कोरेगाउँ मामिला : १५ जनामाथि देशविरुद्ध युद्ध सुरु गर्न खोजेको आरोप

अधिकतम सजाय मृत्युदण्ड
सोमबार, ०७ भदौ २०७८, १६ : २२
सोमबार, ०७ भदौ २०७८

राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले एल्गार परिषद् र माओवादीबीच सम्बन्ध जोडिएको मामिलामा आरोपीहरूले देशमा आफ्नो सरकार बनाउन र देशविरुद्ध युद्ध सुरु गर्न चाहेको एक विशेष अदालतसमक्ष पेस गरिएको मस्यौदामा दाबी गरेको छ । एनआईएले यही महिनाको सुरुवातमा मस्यौदा पेस गरेको थियो जसको प्रति सोमबार उपलब्ध गराइएको हो ।

यस मस्यौदामा मानवअधिकार तथा अधिकारकर्मीहरू समेत १५ आरोपीमाथि १७ वटा आरोप लगाइएको छ । उनीहरू विरुद्ध अवैध गतिविधि (रोकथाम) कानुन (यूएपीए) र भारतीय दण्ड संहिता (आईपीसी) का विभिन्न धाराअन्तर्गत आरोप लगाउन अनुरोध गरिएको छ ।

आरोपीहरू प्रतिबन्धित आतङ्कवादी सङ्गठन भारतीय कम्युनिस्ट पार्टी (भाकपा) (माओवादी) का सक्रिय सदस्य रहेको एनआईएको आरोप छ । यस मामिलामा अधिकारकर्मी सुधा भारद्वाज, वर्नोन गोन्जाल्विस, वरवरा राव, हेनी बाबू, आनन्द तेलतुम्बडे, शोमा सेन, गौतम नवलखा, सुधीर धवले, रोना विल्सन, सुरेन्द्र गाडलिंङ, महेश राउत, अरुण फरेरा, रामेश गायचोर, ज्योति जगताप र सागर गोरखे सामेल छन् । यसमा फादर स्टेन स्वमीको नाम पनि उल्लेख छ । उनको गत महिना हिरासतमा नै मृत्यु भइसकेको छ । मस्यौदामा ६ फरार आरोपीको बारेमा उल्लेख गरिएको छ ।

मस्यौदाका अनुसार आरोपितहरूको मुख्य उद्देश्य ‘सरकारबाट सत्ता हत्याउनका लागि सशस्त्र सङ्घर्ष गर्ने र क्रान्तिको माध्यमबाट जनसरकार स्थापित गर्ने रहेको थियो । मस्यौदामा उनीहरूले भारत सरकार र महाराष्ट्र सरकारविरुद्ध युद्ध सुरु गर्ने कोसिस गरेको आरोप पनि लगाइएको छ । देशविरुद्ध युद्ध सुरु गर्ने मुद्दामा अधिकतम सजाय मृत्युदण्ड रहेको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा मस्यौदामा आरोपीहरूले ‘सार्वजनिक पदमा आसिन व्यक्तिको हत्या’ गर्न आधुनिक हतियार जुटाउने षडयन्त्र गरेको उल्लेख छ । यस विषयमा सुरुवाती जाँच गर्ने पुणे प्रहरीले आफ्नो चार्जसिटमा ‘प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या’ गर्ने षडयन्त्रसहित हतियार जुटाउने प्रयास गरिएको थियो । तर, एनआईएले आफ्नो मस्यौदामा प्रधानमन्त्री मोदीको नाम लिएको छैन ।

द वायर/बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप