शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिक शक्तिको खोजीमा मधेस

सोमबार, ०७ भदौ २०७८, १५ : ४०
सोमबार, ०७ भदौ २०७८

विगत केही महिनादेखि नेपालका राजनीतिक दलभित्र उथलपुथल, नयाँ जोडतोड र गठजोडको प्रक्रिया तीव्र बनेको छ । नेपाली काँग्रेस अहिले सत्तामा पुगेको हुनाले केही शान्त देखिए पनि त्यहाँसमेत बदलिँदो परिस्थितिमा सुति नै राख्ने वा कोल्टे फेर्ने भन्ने उहापोह कतै न कतै कायमै रहेको देखिन्छ ।

माओवादी केन्द्र नेकपाबाट अलग्गिएपछि यस्तै आशङ्काको भुमरीबाट बच्न सत्ताको खेलमा लागेको छ । सत्ताबाटै यो अस्थिर समीकरणलाई टिकाइराख्ने प्रयत्नमा लागेको छ । त्यसकारण माओवादी केन्द्रको केन्द्रमा अहिले समीकरण गर्दै सन्तुलनमा रहने कोसिस पहिलो प्राथमिकता हुनपुगेको हो ।

अहिले दूरदृष्टि वा नीति गौण भएको अवस्था छ । नेकपा एमालेमा टुक्रिएका टुक्राहरू जोड्ने कुनै कुरा फेला परिरहेको छैन । त्यस्तै मधेसको एक मात्र राजनीतिक दलको स्थितिमा पुगिसकेको जनता समाजवादी पार्टी अब फेरि मधेसका दुई राजनीतिक दलहरूमा परिणत भएर बेथितिको मारमा परेको देखिन्छ ।

मधेसका निम्ति बृहत् राजनीतिक शक्ति निर्माणको अभियान केही अवाञ्छित विकृति हुँदाहुँदै पनि जसोतसो एउटा दलका रूपमा देखा परेदेखि नै यसमाथि चारैतिरबाट प्रहार हुन थालेका थिए । त्यसलाई अप्रत्यासित मान्न सकिन्न । तर त्यसको सामना गर्नुपर्नेमा जनता समाजवादी पार्टीका नेताहरू सजिलै षडयन्त्रमा फस्दै गए र पार्टी विभाजित भयो । यो एउटा राजनीतिक दलको विभाजन मात्र होइन, यस विभाजनले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजातिहरू सम्मिलित नेपालको तेस्रो र निर्णायक धार स्थापना गर्ने आशा नै चकनाचुर हुने अवस्थामा पुगेको छ ।

अहिले सतहमा देखिएका घटना परिघटनाको बीजारोपण विगतको आमनिर्वाचनपछि मधेसमा दबाइएका प्रतिनिधिहरूबाट सुरु भएको हो । अर्काे निर्वाचन नहुन्जेल अजेय शक्तिका रूपमा उदाएका नेकपाका नेताहरूले यी दुई दललाई साम, दाम, दण्ड, भेदको नीति लिए । उनीहरुलाई निस्तेज बनाउने ध्याउन्नमा लागेका थिए । नेपाली काँग्रेस आफै बेहाल अवस्थामा थियो । तर पनि छुट्टिन सकेको थिएन । जनता समाजवादी पार्टीका रूपमा एकीकृत भएपछि नयाँ दल सबैको आँखाको तारो बनेको थियो ।

जनता समाजवादी पार्टीको एकीकरण खराब समय र हतारमा भएको थियो । राजनीतिमा समर्पित तमाम विज्ञ र परिपक्व राजनीतिकर्मीलाई एकीकरण नगरी गठबन्धन गरेर जाऔँ भन्दा राजनीतिक स्वार्थले लटपटिएका नेताहरूले सुनेनन् ।

वास्तवमा त्यो समय मधेसी, थारू, आदिवासी–जनजातिहरूको छुट्टै सङ्गठन निर्माण गरी समन्वयात्मक रणनीति बनाएर आन्दोलन तथा निर्वाचनका लागि जाने थियो । तर यसलाई आत्मसात गरिएन । त्यसको परिणाम दुखद् नै रह्यो । यी पार्टी बीचको एकीकरणले कार्यकर्ता सशक्तीकरण र सुदृढ सङ्गठन बनाउन सकेन । त्यसको सट्टा आपसी शक्ति प्रदर्शनले प्रतिक्रियात्मक खतरालाई निम्त्याउने काम गर्याे । अहिलेको परिणतिको मूल कारण पनि यही हो ।

जनता समाजवादी पार्टीको विभाजनले मधेसी, थारु, आदिवासी जनजाति आन्दोलनकारीहरू अहिले पराजयको अनुभूति गरिरहेका छन् । आन्दोलनमा प्रत्यक्ष सहभागी नभए पनि त्यसले उठाएका मुद्दालाई ठीक ठान्नेहरू, विविधताबीच एकतावद्ध राष्ट्रियताका पक्षपातीहरू पनि यसबाट असन्तुष्ट छन् । पहिचान, समावेशिता र राज्यका हरेक अङ्गमा समान सहभागिता नभएसम्म देशमा स्थिरता र समुन्नति प्राप्त गर्न नसकिने तथ्यलाई आत्मसात गरेका व्यक्ति, हिमाल, पहाड र तराईका सबै प्रबुद्धजनहरूलाई यस विभाजनले स्तब्ध बनाएको छ । यस घटनाले मधेसी, थारु र आदिवासी जनजातिको एकत्रित शक्तिलाई खण्डित गरेको छ । मधेसका दुई सशक्त नेतृत्वदायी शक्तिलाई निस्तेज पारेको छ ।

यस विभाजनले पार्टीभित्रकै केही व्यक्ति खुसी पनि देखिएका छन् । त्यसमा आन्दोलनसँग मतलब नभएका तर स्वार्थ र अवसरलाई मात्र ध्यान दिने व्यक्तिहरु पर्छन् । अहिले यस्तै व्यक्तिका समूह दुवै पार्टीको हर्ताकर्ता बनेका छन् । यसले पनि पार्टीका शुभचिन्तकलाई निराश बनाएको छ ।

यी पार्टीहरू किन विभाजित भए ? अब के होला ? अब कसरी आगाडि बढ्ने ? अहिलेका जल्दाबल्दा विषय यिनै प्रश्नहरू हुन् । खासमा सत्ताको लालसा, स्वार्थ र अहंको टकराब, पार्टीमा सद्भावभन्दा स्वार्थी मानसिकताले गर्दा यस्तो अवस्थामा आएको हो ।

समग्रमा भन्दा व्यक्ति केन्द्रित राजनीति भएर यस्तो अवस्था हुन पुगेको हो । यो सबका बाबजुद विभाजन भने अप्रत्यासित थिएन बरू एकीकरण नै अप्रत्यासित थियो । तत्कालको अल्पकालीन समीकरणको निमित्त सन्तुलन हुनै नसक्ने गरी अड्याएर ठड्याइएका स्तम्भहरू कति दिनसम्म टिक्न सक्थे र ? जनता समाजवादी पार्टीको एकीकरण विचारले, प्रशिक्षणको पृष्ठभूमिले र जन आधारको प्रकृतिले पनि विपरीत ध्रुव बीचको मिश्रण झैँ थियो । जो कुनै पनि स्थितिमा पनि यौगिक बन्न नै सक्दैनथ्यो । एकीकरणको स्वाद नमिठो भए पनि आन्दोलनमा प्रतिबद्ध योद्धाहरू भने परिस्थितिलाई हेरेर मिल्न लागिसकेका थिए । तर कतिपय नेता तथा स्वार्थी समूहले त्यस्तो हुन दिएनन् ।

मधेसी र थारूहरूको आआफ्नै नेतृत्वमा राजनीतिक शक्तिको निर्माण गर्ने अभियानका दृष्टिले यो विभाजन एउटा आवश्यक र ऐतिहासिक घटना पनि मान्न सकिन्छ । यसले एउटा स्पष्ट रेखा कोरेको छ । मधेस र आदिवासी जनजातिको आन्दोलनमा लागेका वामपन्थी पङ्क्ति एकातिर समेटिएका छन् । तथ्य पनि यही हो र विस्तारै सबैले मनन गर्ने विषय पनि यही हो ।

यो विभाजन लोकतान्त्रिक र वामपन्थी पङ्क्तिबीच दुई दलका रूपमा भएको भए धेरै हदसम्म ठीक हुन्थ्यो । सहकार्य र गठबन्धनको ठाउँ रहन्थ्यो । तर मधेसी र आदिवासी वामपन्थी पङ्क्ति अहिले खिचडी गठबन्धनमा सामेल भएका छन् । त्यसैले अझै पनि यसका केही अदृश्य पाटा खुल्न बाँकी नै छन् । विभाजित समूह वामपन्थीहरूको एउटा पार्टीका रूपमा प्रकट हुन्छ वा मधेसी र आदिवासी वामपन्थीहरूको समूह बनेर स्वतन्त्र रहन्छ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ । जे भए पनि, त्यस समूहभित्र अर्काे फुट अपरिहार्य र निश्चित छ । वामपन्थी पार्टीभित्र गए त्यसभित्र बाँकी रहेका लोकतन्त्रवादीहरु आफ्नो बाटो लाग्न बाध्य हुनेछन् । अलग्गै एकत्रित हुन खोजे वामपन्थीहरूको नयाँ शक्ति निर्माण गर्ने चाहना भएकाहरू अर्कै बाटो लाग्नेछन् ।

मधेसको आधारभूत जनआधार लोकतन्त्रवादी मानसिकता भएको हुनाले त्यसको पनि प्रभाव पर्ने नै छ । अर्काेतर्फ लोकतान्त्रिक समाजवादी पार्टीको समूहमा यस्ता समस्या छैनन् । तर उनीहरुको बाटो पनि सजिलो भने छैन । यहाँ पनि राजनीतिक मुद्दाभन्दा पनि सत्ताको समीकरणमा अल्झेका, व्यक्तिवादी स्वार्थ र व्यक्तिपूजक लटपटमा लागेका, सङ्गठनमा आइपर्ने समस्या मुकाबिला गर्ने क्षमता नभएका डफ्फाको हालीमुहाली छ ।

नेपालका राजनीतिक दलहरू लगातार असफल हुने मुख्य कारण नेतृत्वमा परिवर्तन नहुनु हो । उनीहरुमा आगामी नेतृत्वका लागि नयाँलाई बाटो छेक्ने एउटा रोगजस्तै बनेको छ । यही कारण यस समूहले पनि नीति र रणनीतिको स्पष्ट धार विकसित गर्न सकेको छैन । राजपा एकीकरणको तौरतरिकाले जन्मेको संस्कार छुट्न सकेको छैन ।

शहीदको आशिष पाएको पार्टीका अधिकांश नेताहरू विगतमा पाएको पदको भूत त्याग्न सकिरहेका छैनन् । त्यसकारण भागबण्डा गरेर खान पल्किएकाहरू नेतृत्वबाट अपेक्षाकृत परिपक्व र प्रशिक्षित समूहबाट पुनः किनारा लगाइने र कनिष्ठहरूको भार बोक्न बाध्य गराइने हो कि भनेर डराएका छन् ।

पहिलो मधेस विद्रोहकै क्रममा मधेसीहरू ‘अब मधेस सरकार’ भन्ने नाराका साथ उत्रेका थिए । यो स्वशासन र सङ्घीयताको पहिलो जनआवाज थियो । मधेसीहरूलाई आफ्नै नेतृत्वमा आफ्नै राजनीतिक सङ्गठनको चाहना राखेका पनि थिए । यो उत्कट आकाङ्क्षा यथारूप अझै कायम छ । आन्दोलनमा नेताहरू जहिले पनि जनताभन्दा पछाडि देखिन्छन् । जनताले बाँधेर तानिरहेको जस्तो भान भइरहको हुन्छ, तर राजनीतिक शक्ति निर्माणको मामिलामा नेताहरू जनतालाई छाडेर एकदमै आगाडि बढेर अलग–थलग परे ।

मधेस र थरूहटका निमित्त अहिलेको आवश्यकता भनेको क्षेत्रीय राजनीतिक शक्तिको निर्माण नै हो, जो पछि मुलुकको शक्ति बन्न सकोस् । तर नेताहरूले क्षेत्रीय आवश्यकताको महत्त्व बुझ्न सकेनन् र यो हालत हुन आयो । सङ्घीयता विरोधी राजनीतिक दलहरूले यसको वास्तविकतालाई राम्ररी बुझेका छन् । बाध्यतावश सङ्घीयता स्वीकारे पनि सङ्घीयता सञ्चालन गर्ने क्षेत्रीय शक्ति बन्न नै नपाओस् भनेर कानुनहरू बनाए । अहिलेको राजनीतिक दलसम्बन्धी ऐन यसको स्पष्ट उदाहरण हो । मधेसका राजनीतिक नेतृत्व यस तथ्यलाई आत्मसात गरी क्षेत्रीय आवश्यकता अनुसार आगाडि बढ्न सके भने अहिलेको स्तब्धताको निदान गर्न सक्छ ।

मधेसी र थरूहट जनताका आगाडि अब कसरी आगाडि बढ्ने भन्ने नै सबभन्दा महत्त्वपूर्ण प्रश्न आएको छ । जे हुनु थियो भइहाल्यो, अब यस क्षतिलाई कसरी पूर्ति गर्ने विषय नै मननीय छ । यसको उत्तर नै अहिले छाएको स्तब्धतालाई समाधान दिने हो । त्यसकारण मधेसी र थारूहरूको समानता, सम्मानपूर्ण पहिचान, समावेशिता र सहभागिताको निमित्तको सङ्घर्षको लक्ष्य प्राप्ति नभएसम्म सङ्घर्षलाई सशक्तका साथ आगाडि बढाउन आफ्नै नेतृत्वको राजनीतिक सङ्गठनको निर्माण गर्नु अहिलेको पहिलो प्राथमिकता हुनुपर्छ । मधेस र थरुहट आन्दोलनका क्रममा भएको नृशंसता र दमनलाई आगामी सङ्घर्षको ऊर्जाको रूपमा प्रयोग गरिनुपर्दछ ।

मधेसीहरू किन आफ्नै नेतृत्व र आफ्नै राजनीतिक शक्ति निर्माण गर्न चाहेका छन्; त्यसको अन्तर्यको आत्मसात गर्नु पनि त्यतिकै जरुरी छ । आफ्नै राजनीतिक शक्ति भनेको आफ्ना मुद्दामाथि प्रतिबद्ध हुनु हो । मुद्दामा केन्द्रित भई प्रतिबद्ध राजनीतिक शक्ति बनाई त्यसलाई मुकामसम्म पुर्याउन सक्ने नेतृत्वको खोजी गर्नु हो । त्यो राजनीतिक शक्ति जात, धर्म वा भाषामा आधारित होइन, मधेसी समाजको राजनीतिक शक्ति हुनुपर्छ । मधेसको विविधताको प्रतिनिधित्व गर्न सक्ने हुनुपर्छ । त्यसको लक्ष्य, दृष्टि, नीति र रणनीति स्पष्ट हुनुपर्छ, अभ्यासमा प्रतिबद्धतासहित परिभाषित हुनुपर्छ ।

यस्तो परिवेशमा असफल नेतृत्वले मधेसको अभिष्ट पूरा गर्नका लागि विश्वास अर्जित गर्न सक्दैन । अब उनीहरूको सल्लाह र सहयोगको भूमिकाले पार्टी निर्माणलाई मजबुत बनाउँदै नयाँ नेतृत्वलाई आगाडि सार्ने प्रयत्नमा लाग्नु आवश्यक छ ।

लोकतान्त्रिक समाजवादी पार्टीहरूले यस कार्यलाई आगाडि बढाउन सक्ने स्थितिमा छ । यसका सम्भावना अझै पर्याप्त छन् । लोकतन्त्रवादीहरूको समूह भएको हुनाले यसले आफूलाई तयार गर्न सक्यो भने भोलिका दिनमा लोकतान्त्रिक शक्तिबीचको सहकार्यमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसकारण हतार नगरी सबभन्दा पहिले पार्टीको लक्ष्य, दृष्टि, नीति, रणनीति र त्यसअनुरूपको योजना परिभाषित गर्नु आवश्यक छ । अनि त्यस अनुरुपको जिम्मेवारी दिन नेतृत्वको विकास गर्नु नै यस पार्टीको अहिलेको प्राथमिकता हो । यति गर्यो भने यो पार्टीले मधेस र थरूहटका तमाम जागरुक र प्रवुद्धहरूको सहयोग पाउने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वृषेशचन्द्र लाल
वृषेशचन्द्र लाल

 लेखक तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष हुन् ।

लेखकबाट थप