केन फर्किदा स्पर्सको लगातार दोस्रो जीत, युनाइटेड रोकियो
![केन फर्किदा स्पर्सको लगातार दोस्रो जीत, युनाइटेड रोकियो](https://rpcdn.ratopati.com/media/albums/_120205041_whatsubject_II97lI0p1X.jpg)
म्यानचेस्टर सिटी जाने चर्चाबीच ह्यारी केनले टोटनह्याम हटस्पर्सका लागि यो सिजन पहिलो खेलमा सहभागी भएका छन् । आइतबार राति भएको खेलमा केन सब्सटिट्यूटका रुपमा मैदान प्रवेश गरेका हुन् ।
खेलमा वुल्भ्सविरुद्ध १–० जीत निकाल्दै स्पर्सले यो सिजन शत प्रतिशत नतिजालाई कायम राख्न सफल भएको छ । खेलको नवौँ मिनेटमा डेली अलीले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । वुल्भ्सका लागि एडामा ट्राओरेले गोलका थुप्रै अवसर गुमाएका थिए भने उता केनको प्रयासलाई वुल्भ्सका गोलकिपरले बचाऊ गरेका थिए ।
उता, म्यानचेस्टर युनाइटेडले भने साउथह्याम्पटनसँग १–१ को बराबरी खेलेको छ । पहिलो हाफमा फ्रेडले आत्मघाती गोल गरेपछि युनाइटेड पछि परेको थियो ।
तर, दोस्रो हाफमा मेसन ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । युनाइटेडका गोलकिपर डेभिड डि गेयाले साउथह्याम्पटनका थुप्रै प्रहारहरू रोकेका थिए ।