शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किन थुप्रियो काठमाडाैंमा फोहोर ? हेर्नुहोस् सिसडोलको बिजोग (भिडियोसहित)

सिसडोलमा डोजरको यसरी धकेल्दैछ फोहोर बोक्ने गाडी
आइतबार, ०६ भदौ २०७८, २१ : ०९
आइतबार, ०६ भदौ २०७८

शम्भु दंगाल/कृष्ण खड्का

काठमाडौंको सडक अनि घरघरमा फोहोरको डंगुर बढ्न थालेपछि यसको रहस्य बुझ्न रातोपाटीको टिम आइतबार दिउँसो सिसडोलतिर जाँदा बाटोमा कन्तबिजोग देखियो । काठमाडौंमा फोहोर थुप्रिनुको कारण रहेछ, फोहोर व्यवस्थापन गर्ने स्थलको बाटो हिलाम्मे हुनु ।

नुवाकोटको सिसडोलमा काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको छ । तर, गत असारदेखि नै त्यहाँ दुईवटा डोजरको काम फोहोर बोकेका ट्रकलाई धकेल्नु रहेको छ ।

कसैसँग एकछिन बोल्न पनि फुर्सद नहुने गरी डोजरका चालकहरु फोहोरका गाडीलाई दलदले हिलो कटाउन पछाडिबाट धकेलिरहेका हुन्छन् ।

 


 

सिसडोलस्थित कागती गाउँको कोल्पु खोलापारि फोहोर बिर्सजनस्थलसम्म झन्डै २ सय मिटर बाटो नराम्ररी बिग्रिएको छ । हरेक बर्ष बर्खायामका त्यहाँ पुरानै नियति दोहोरिने गरेको सवारी चालकहरु बताउँछन् ।

दलदले हिलोमा गाडीहरु फसेर अगाडि बढ्न नसकेपछि दुईवटा डोजरले छिनछिनमा हिलो सफा गर्ने र पछाडिबाट धकेल्ने गर्छन् । फोहोर बोकेको एउटा गाडीलाई सो बाटो काट्न १० मिनेट बढी समय लाग्ने गरेको छ ।

फोहोर बिर्सजनका लागि झन्डै डेढ सयभन्दा बढी गाडीहरु दुर्गन्ध फैलाउँदै सडकमा लाइन बसेका हुन्छन् ।

बिहान ४ बजे फोहोर बिर्सजन गर्न सिसडोल छेउ पुगेका चालकहरुले दिउँसो दुई तीन बजेसम्म खानासमेत नखाई पालो कुर्नुपर्ने अवस्था छ । जसका कारण काठमाडौं उपत्यकाका सडकमा झन्डै २ सातादेखि फोहोर उठ्न सकेको छैन । यसले एकातिर शहरलाई कुरुप पारेको त छ नै, अर्कोतिर रोगब्याधी फैलने जोखिम पनि बढाएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा लिएका जिम्मेवार निकाय काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतले बाटोको मर्मत नगरेका कारण स्थानीयबासी तथा सवारी चालकले समस्या भोग्नुपरेको स्थानीय र चालकहरुले रातोपाटीलाई बताए ।

नुवाकोटको सिसडोलमा काठमाडौं उपत्यका ३ जिल्लासहित काभ्रेको बनेपा, धुलीखेलसम्मका गरी १९ वटा नगरपालिकाको दैनिक १ हजार मेट्रिकटन भन्दा बढी फोहोर पठाउँदै आएका छन् ।

फोहोरको लेदोमाथि माटो हालेर बाटो, जति भने पनि नगरपालिकाले सुनेनन्

काठमाडौंबाट फाहोर ब्यवस्थापनका लागि सिसडोल जाने गरेका चालक मानबहादुर कार्कीले फोहोरकै लेदोमाथि माटो हालेर बाटो बनाएका कारण समस्या भएको सुनाए । उनले महानगरपालिकाले समस्या समाधान नगरेका कारण विभिन्नखालका समस्या आउने गरेको बताए ।

समयमा फोहोर खसाल्न नपाउँदा लामो समय सडकमा गाडी रोकेर बस्नुपर्दा बेला–बेला स्थानीयले सवारी साधन र चालकमाथि नै आक्रमण गर्ने गरेको उनले सुनाए । उपत्यकाका ३ जिल्लाका मेयरहरुलाई सिसडोलको समस्या थाहा भए पनि समाधानका लागि काम नगरेको उनको गुनासो छ ।

जति भने पनि नगरपालिकाले बाटो बनाउनका लागि नसुनेको स्थानीयबासी तथा चालक सुरेन्द्र बलामीले रातोपाटीलाई बताए । हरेक दिन फोहोर खसाल्ने स्थलमा डोजरले अगाडिबाट तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको उनले बताए । असारदेखि नै यस्तो समस्या भोग्नुपरेको बलामीको भनाइ छ । पछाडिबाट डोजरले ठेल्दा ट्रिपरको पछाडिको ढाला समेत कुच्चिएको उनले बताए ।

दुई–तीन दिनमा बल्ल पालो आउने गरेको, त्यो पनि बिहानै गए पनि बेलुका बल्ल फोहोर खसाल्न सकिने उनले दुःखेसो सुनाए । फोहोरको डङ्गुरमाथि नै गाडी गुडाउनुपर्ने भएकाले फोहोर व्यवस्थापनका लागि समस्या भएको उनले बताए ।

सडकमा हरेक दिन झगडा हुन्छ

सिसडोलमा काठमाडौंबाट फोहोर बोकेर जाने ट्रिपर चालकमध्ये ५० प्रतिशत चालकहरु स्थानीय युवा छन् । उनीहरुले अन्य जिल्लाका चालकहरुको फोहोर व्यवस्थापन गर्ने पालो मिचेर हैरान दिने गरेको बाहिरका चालकको गुनासो छ । यसले गर्दा हरेक दिनजसो कचिंङ्गल हुने गरेको छ ।

पालो मिच्ने गरेका कारण कुपन सिष्टमबाट फोहोर व्यवस्थापन गर्ने व्यवस्था गरिए पनि स्थानीय चालकले बिरोध गरेको र कुपन सिस्टम नमानेको चालक विष्णुबहादुर सार्कीले गुनासो सुनाए ।

बिहानैदेखि फोहोरका गाडी लिएर गएकाहरुले खाना खान नपाउने, स्थानीय पसलमा एक बोतल पानीको ४० रुपैयाँसम्म लिने र चाउचाउको भरमा बस्नुपर्ने उनको गुनासो छ ।

एउटा गाडीलाई फोहोर खसाल्न ५ मिनेट बढी समय लाग्ने बताउँदै फोहोर खसाल्ने स्थानको बाटोमा ढलान गर्ने र भित्तामा पानीको निकास राख्ने हो भने सहज हुने चालक मानबहादुर कार्की बताउँछन् ।

महानगरपालिकाले हेप्यो : प्रकाश बलामी, स्थानीय बासिन्दा

स्थानीयबासी एवं जनजागृति युवा क्लवका उपाध्यक्षसमेत रहेका प्रकाश बलामी बाटोको समस्या समाधान गर्नका लागि जति आग्रह गरे पनि महानगरपालिकाले नसुनेको बताउँछन् ।

उनले रातोपाटीसँग भने, ‘हामीले महानगरपालिकालाई जति सहयोग गरे पनि यहाँका स्थानीयलाई हेपेको, पेलेको अवस्था छ । महानगरपालिकाले नेताहरुसँग सहकार्य गर्ने, तर हाम्रो कुरा सुनिरहेको अवस्था छैन ।’

दुई बर्षका लागि फोहोर फाल्ने भनेर सिसडोललाई लिइए पनि १७ बर्षदेखि फोहोर फालेर पनि स्थानीयको आग्रह नसुनेको बलामीले गुनासो गरे । फोहोर फाल्नका लागि बाटोभरि गाडी रोकेर राख्दा गाउँभरि त्यसको दुर्घन्ध फैलिएको बताउँदै उनले स्थानीयको स्वास्थ्य अवस्थाप्रति सरकार संवेदनशील नभएको गुनासो गरे ।

राति १ बजेदेखि फोहोरका गाडी ह्वारह्वार्ती पठाएर समस्या पारेको बताउँदै उनले जथाभावी र जहाँ पनि फोहोरका गाडी रोकेर स्गानीयबासीलाई समस्यामा पार्ने गरिएको सुनाए ।

स्थानीयबासी समेत रहेका सुरेश बलामीले नगरपालिकाले सडक निर्माणमा ध्यान नदिएको बताए । हिउँदमा धुलो उडेर बस्नै नसक्ने र वर्षामा हिलोले गाडी गुड्ने अवस्था नभएको उनले बताए । 

ललितपुरका मेयर भन्छन्– ‘फोहोर थुप्रन थालेको थाहा छ, सिसडोलमा के भएको छ, जानकारी नै छैन

स्थानीयबासीले महानगरपालिकाले केही नगरेको आरोप लगाए पनि महानगरपालिकालाई भने सिसडोलमा के भइरहेको छ, यसबारे केही थाहा नभएको ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले बताए ।

उनले सो स्थानका केही समस्या आए काठमाडौं महानगरपालिकाले हेर्ने र उसले नसके अरु नगरपालिकासँग समन्वय गर्ने गरिएको बताउँदै यो वर्ष कुनै समस्याबारे जानकारी नआएको बताए ।

शहरका सडकमा फोहोर थुप्रदै गएको थाहा भए पनि सिसडोलमा के भइरहेको छ, त्यसबारे जानकारी नभएको महर्जनले रातोपाटीलाई बताए ।

यता काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठले सिसडोलको अवस्थाबारे जानकार रहेको र फोहोरले सो स्थान भरिएका कारण फोहोरको थुप्रोमाथि नै बाटो बनाउनुपर्ने अवस्था भएकाले समस्या रहेको बताए ।

‘सिसडोलमा अहिले भइरहेको सडक फोहोरमाथिको सडक हो । ट्राफिकलाई पानी प–यो भने गाडीलाई जान नदिनु भनेका छौँ, फोहोरको ८० मिटर उचाइमा बाटो छ । पानी परेन भने ग्राभेल हालेर ब्यवस्था गर्ने गरेका छौँ, पानी प¥यो भने ग्राभेल पनि बगेर जाने गरेको छ’ मेयर महर्जन भन्छन्, ‘सडक विभाग र महानगरपालिकाले आइतबार यसबारे छलफल गरेका छौँ । ग्याविन हालेर बाटो बनाउने तयारी गर्नेबारे छलफल भएको छ ।’

बञ्चरेडाँडामा अझै दुई महिना कुर्नुपर्ने

सरकारले फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पमा नयाँ ठाउँ बनाइरहेको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको स्थल सुचारु हुन अझै २ महिना लाग्ने महर्जनले बताए ।

अहिलेसम्म सिसडोलमा पानी परेको थलथले भागलाई काटेर ग्राभेल गर्दै फोहोर पठाउँदै गरिएको उनले बताए । शहरी विकास मन्त्रालयलाई सिसडोलमा फोहोर व्यवस्थापनमा समस्या हुन्छ भनेर हिँउद्मै बञ्चरे डाँडा जति सक्दो छिटो दिनुपर्छ भने पनि अझै दिन नसकेको श्रेष्ठले बताए । सिसडोलबाट २ किलोमिटर अगाडि रहेको बञ्चरे डाँडा ल्याण्डफिल साइड निर्माण सम्पन्न भएपछि फोहोरको समस्या समाधान हुने उनले बताए ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप