मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

देशभरका अस्पतालमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ

आइतबार, ०६ भदौ २०७८, १७ : ५७
आइतबार, ०६ भदौ २०७८

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारा मेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताए । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । उनले भने, “समस्या के हो जानकारी दिनुहोस् पाँच÷दश करोड बजेटको समस्या हुँदैन ।”

उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइने बताए । राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई करिब पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै उनले भने, “हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नु परेको छ ।” सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्ण रुपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा सो हुन नहुने धारणा व्यक्त गरे ।
भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्राडा कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौंडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पुर्याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभई अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप