शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

द्वन्द्वपीडितको डायरी : मन सुटुक्क बदलिदियो...

आइतबार, ०६ भदौ २०७८, १३ : १९
आइतबार, ०६ भदौ २०७८

नेपालमा सञ्चालित १० वर्षे सशस्त्र द्वन्द्वले धेरैको मुटु चुँडायो । परिवारविहीन बनायो । कैयाैँको काख रित्यायो । कैयौं जेलनेल, यातना, हत्या, बलात्कार, घाइते अपाङ्ग बन्न पुगे । यसबाट म पनि अछुतो रहन सकिनँ ।

पटक–पटक हिरासतको बसाइले अहिले पनि शरीर स्वस्थ्य छैन । शरीरभरि बर्सिएका लठ्ठीले दिएको दुखाइ, अझ भनांै त्यो बन्द कोठाभित्र रातको चकमन्नतामा आँखामा पट्टी बाँधेर बर्साएको लठ्ठीको दुखाइ भौतिकरुपमा त सञ्चो भएको छ, तर मानसिक दुखाइ भने जीवनभर रहिरहेको छ ।

जीवनमा दुःख–सुखका उकाली ओराली पार गर्ने सपना सजाउँदै ५ वर्षे प्रेम सम्बन्धलाई औपचारिकतामा ढालेको १० महिना नपुग्दै, दाम्पत्य जीवनको महसुस नै हुन नपाई, श्रीमान–श्रीमती वीचमा फक्रिएको प्रेमले मूर्त रुप लिन नपाउँदै, एकआपसमा एकआपसलाई सामान्य पनि बुझ्न नपाउँदै २०६० फागुन १७ गते रुपन्देहीको पर्रोहामा मेरो प्रिय मान्छे लगायत चारजनालाई तात्कालीन शाही सेनाद्वारा अत्यन्तै निर्ममतापूर्वक हत्या गरियो ।

रणशार्दूल गणका तत्कालीन मेजरको नेतृत्वमा गएको शाही फोर्सले हात एकातिर, खुट्टा एकातिर, दाँत एकातिर गराएर अन्तिममा एम–सिक्सटिनका दर्जनौं राउण्ड गोलीले चरा मारे जसरी मेरो प्रिय मान्छेलाई मारियो । यति गरेर पनि नपुगेर मृत शरीर जुटको बोरामा गुन्द्रुक खाँदेजसरी खाँदेर परिवारलाई समेत दिइएन ।

यसरी मेरो सुन्दर सपनाको महल एकाएक भत्कियो । मेरो सपनाको महल सिसा फुटे जसरी टुक्रा–टुक्रा भयो । मेरो जिन्दगीमा आएको यो बज्रपातबाट म निकै विक्षिप्त बन्न पुगें । मेरो भावना चुँडियो, मुटु टुक्रियो । अनि आँखामा कालो बादलरुपी समुद्र छचल्कियो । सपना हो कि विपना जस्तो लाग्न थाल्यो ।

मृत शरीर भए पनि अन्तिम पटक हेर्नेसमेत ईच्छा पूरा हुन सकेन । जीवन त्यसै–त्यसै खल्लो लाग्न थाल्यो । सपनाहरु अधुरै रहे । यो विक्षिप्ततालाई सामना गर्न  त्यति सजिलो थिएन ।  तर, मसँग सामना गर्नुको विकल्प पनि थिएन ।

निकै प्रयास गर्दा पनि मुटुमा गाँठो पारेर शोकको यो  विक्षिप्तताबाट बाहिर निस्कन मलाई २ वर्ष लाग्यो । लामो समयपछि मैले जिन्दगीको नयाँ  परिभाषा खोज्न थालें । समाजमा अलिअलि अन्तरघुलन हुन खोज्दै थिएँ । आघातजन्य घटनाले विक्षिप्त बनेको मेरो घाउमा अलिअलि खाटो बस्न के लागेको थियो, फेरि मेरा श्रीमानका आमाबुवा र दाइद्वारा कुटाइले मात्र नपुगेर घरबाट समेत पनि निकालिनुपर्‍यो ।

सानै उमेरमा अर्को बज्रपातको सामना गर्नु पर्यो, जुन मृत्युभन्दा सैयौं गुणा कष्टकर थियो । शोकबाट भन्दा पनि मलाई पारिवारिक पीडाले दिएको आघातबाट बाहिर निस्कन निकै कठिन भयो ।

जीवनले थोरै वसन्तमा नै जीवनसाथीको मृत्युजस्तो दर्दनाक पीडामा मल्हमपट्टी त पाएन पाएन, घरबाट निकालिएर सडकमा बास हुन पुग्दाको अर्को कहालीलाग्दो चित्कारको सामना गर्नुप¥यो । एकपछि अर्को डरलाग्दो आघातले पलपल मृत्युको सामना गर्नु पर्दाको क्षण म शब्दमा ब्यक्त गर्न त सक्दिनँ, तर महशुस भने सधैं गरि नै रहन्छु  ।

यो आघातले मेरो जीवनको केही वसन्तमा मज्जासँग मोज गर्‍यो । राम्रोसँग राज गर्न पुग्यो । ती वसन्तबाट बाहिर निस्कन निकै दर्द रहेछ । विभिन्न घेरा तोड्न मृत्युभन्दा पनि जटिल रहेछ । मलाई यो घेरा तोड्न ८ वर्ष लाग्यो । जुन मैले अहिले पनि छटपटिएर स्मरण गर्ने गर्दछु ।

मैले तिनै स्मृतिहरुबाट उठेर जिन्दगीको परिभाषा खोज्न थालें । ०५४ सालबाट टुटेको पढाइको कडी पनि जोड्ने रहर थियो । मेरा सबै शैक्षिक प्रमाणपत्र तात्कालीन शाही सेनाले लगिसकेको थियो । माइती परिवारमा दाइ, आमा, बुवालाई मेरा कारण पटक–पटक गिरफ्तार गर्ने, यातना दिने, तेरी छोरी मरिसकी भनिदिने गर्थे । उहाँहरुको यातनाको कुनै हिसाब–किताव नै थिएन ।

जहाँबाट मैले पढ्न छाडेकी थिएँ । त्यही पहिला बुझाएको प्रमाणपत्र खोजेर त्यसैको छायाप्रतिको सहारामा स्नातकोत्तर अध्ययन शुरु गरें । नयाँ जिन्दगीको परिभाषा खोज्दै जाँदा पद्म कन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्न पुगेँ ।

हो मैले शैक्षिक योग्यता त पाएँ । तर, अहँ जीवनको परिभाषा भेट्न सकिनँ । जीवनको परिभाषा खोल्दै म सडकका गल्ली गल्ली भौँतारिएँ । क्षितिज चुम्ने सपनामा बहकिएँ । तर, जीवनको परिभाषा कतै फेला पारिनँ । ज–जसले, जस्तो व्यवहार गरे पनि मलाई अन्तर्घुलन हुन कठिन मात्रै रह्यो । कसैलाई विश्वास नगर्ने, कसैसँग नबोल्ने, समूहमा बस्न मन नपराउने जस्ता समस्याले ग्रसित बन्न पुगेँ ।

द्वन्द्वमा सहभागी साथीभन्दा अरुको समूहमा आफूलाई अन्तरघुलन गर्न निकै जटिलता थपिएको थियो । तर, पछिल्लो समयमा जब परिवारले कुटेर निकाले, त्यसपछि त द्वन्द्वमा सहभागी साथीहरुप्रति पनि उत्तिकै अविश्वास पैदा हुन थाल्यो ।

तर, पनि समाजमा मजस्तो घरबाट लखेटिएका, अन्यायले थिलोथिलो भएका व्यक्तिहरुको पक्षमा आवाज उठाउने हुटहुटीले भने कहिल्यै छाडेन । त्यसैले पद्म कन्या क्याम्पसमा रहेको ‘वमन स्टडी’ पढ्ने रहरले भर्ना फर्म बुझाउन क्याम्पसको गेटमा पुगेँ । त्यहाँ साथी रामकान्त तिवारीले समाजशास्त्रमा जेण्डर पढिसकेकाले मनोपरामर्श पढ्न सुझाए । उनको सुझाव मलाई मनासिव नै लाग्यो र म त्यतै हानिएँ  ।

विडम्वना भन्नुपर्छ, एक वर्षे पोष्ट ग्राजुएट शुरु गर्ना साथ प्राकृतिक विपत्ति भूकम्प आयो र क्याम्पस बन्द हुन पुग्यो । फेरि केही समयपश्चात भारतीय नाकाबन्दीको सामना गर्नु पर्दा ठीक दुई वर्षमा मेरो मनोपरामर्शको एकवर्षे कक्षा सकिन पुग्यो ।

यो अध्ययनले द्वन्द्वले चुँडिएको मनमा एकमात्र अचूक उपचार मनोपरामर्श हो भन्ने थाहा पाएँ । योबीचमा थुप्रै तालिम, अध्ययनले मलाई जीवनको वास्तविकता बुझ्न सहज बनायो । जीवनको परिभाषा खोज्न कहीँ जानुपर्दैन, त्यो त आफैंभित्र रहेछ भन्ने थाहा पाएँ । खुशी सडकमा खोजेर, अन्त खोजेर पाउने कुरा होइन भन्ने थाहा पाएँ । खुशी आफैसँग हुने रहेछ भन्ने बुझें ।

शान्ति प्रक्रियाको लामो समय बित्दासमेत जबरजस्त समाजमा केही योगदान दिने मनस्थिति बनाए पनि आत्मैबाट खुशी हुन नसकेकी म जब मनोसामाजिक परामर्शको अध्ययन गर्न थालेँ, त्यसपछि भने एकाएक मेरो जीवनमा परिवर्तन आउन थाल्यो ।

मलाई मनोसामाजिक परामर्शको अध्ययनबाट साथीहरुसँग सहज लाग्न थाल्यो । आफूले अभिव्यक्त गरेको कुरा बाहिर नजाने विश्वसनीयता भएपछि सहज ढङ्गले आफ्ना विषयवस्तु अभिव्यक्त गर्न थालेँ । म समूहमा रमाउन थालेँ । नयाँ साथीहरु बनाउन थालेँ । साथीहरुले पनि मलाई आघातबाट बाहिर निकाल्न निकै सहयोग गरे ।

दोस्रो विश्वयुद्ध पश्चात मानसिकरुपमा विक्षिप्त बनेका मानिसहरुको हकमा औषधिले कुनै काम नगरेपछि उपचारको विधि खोज्दै जाँदा भावना चुँडिएका, मुटु टुक्रिएका मानिसको उपचार मनको कुराकानी अर्थात मनोपरामर्श मात्र उपचार विधि रहेछ भन्ने वैज्ञानिकहरुले पत्ता लगाए । नेपालमा पनि १० वर्षे सशस्त्र द्वन्द्वले क्षतविक्षत भएका व्यक्तिहरुलाई मानसिकरुपमा स्वस्थ्य बनाउन  र सकारात्मक सोचको विकास गर्न त्रिभुवन विश्वविद्यालयको मातहतमा रहेको त्रिचन्द्र क्याम्पसबाट ०६१ साल माघ २४ गतेबाट  मनोपरामर्श सेवाको औपचारिक अध्ययन शुरु भएको पाइन्छ । यसले नेपालमा मानसिकरुपमा अस्वस्थ्य रहेका व्यक्तिहरुलाई मनोपरामर्शको माध्यमबाट स्वस्थ्य बनाउने औपचारिक अध्ययनको ढोका खोलेको पाइन्छ ।

एकातिर द्वन्द्वले विक्षिप्त बनेकी म, अर्कोतिर राजनीतिक र घरेलु हिंसाले सडकमा पुर्‍याइएकीले पनि साथीले राम्रो सुझाएको महसुस गरी मनोसामाजिक परामर्श निकै मेहनतका साथ, तनमन लगाएर अध्ययन गर्न पुगें । अध्ययनको शुरुवातीमा आघातजन्य घटनाले हरेक क्रियाकलापमा मेरो अनियमितता झल्किन्थ्यो । तर, अध्ययनको बीचतिर आइपुग्दा मेरो जीवनमा निकै ठूलो परिवर्तन देखिन शुरु गरेको थियो ।

परिवारले घरबाट निकालेको प्रतिशोधले पनि म निकै आक्रामक थिएँ । तर, मनोसामाजिक परामर्श पढ्दै जाँदा मलाई ती सब चिजबाट पछि हटेर स्वस्थ्य छलफल गर्न सक्ने वातावरण बनाउन सिकायो । घटनालाई आफ्नो मात्रै होइन, अरुको बुझाइबाट पनि हेर्न सिकायो ।  घटनालाई उहाँहरुले कसरी बुझ्नुभएको छ, त्यसको अध्ययनविना आफ्नो बुझाइले मात्रै त तनाब मात्रै निम्तन्छ भन्ने लाग्यो ।

घरबाट निकालिए पछि मेरो प्रिय मान्छेको परिवारप्रति निकै प्रतिशोध थियो । अस्तित्वको खोजीमा अदालतको ढोका ढक्ढकाएँ । अदालतले जे न्याय भन्ने गरेको छ, त्यो दियो । सामाजिकरुपमा मलाई जितेको भनियो । मलाई पनि त्यस्तै लाग्यो । मुद्दाको छिनोफानो पश्चात मेरो भागमा परेको चलअचल सबै सम्पत्ति परिवारलाई फिर्ता गरें । मैले चाहेको भनेको चिज प्राप्त गरे पनि अहँ, म खुशी हुन सकिनँ ।

अध्ययन र अनुभवले मलाई उहाँहरुप्रति प्रतिशोध होइन कि सम्मान गर्न सिकायो । सबै व्यक्तिप्रतिको फरक–फरक क्षमता स्वीकार्न सिकायो । खुलेर हाँस्न सिकायो । तनावको तहलाई ब्यवस्थापन गर्न सिकायो । अनि समस्यामा रहेका व्यक्तिहरुलाई खुलेर मनोपरामर्श सेवा प्रदान गर्न उत्प्रेरित गर्यो । मेरो जीवनमा आएका यी सब परिवर्तनले अब भने अन्यायमा परेका व्यक्तिहरुलाई न्यायका लागि पहल गर्ने जुन सपनाको महल थियो, त्यो विस्तारै भत्कँदै मानसिकरुपले विक्षिप्त व्यक्तिको सेवामा आफ्नो बाँकी जीवन समर्पित गर्ने तिब्र अभिलाषा पलाउँदै गयो । द्वन्द्वले क्षत–विक्षत घायल आत्माको घाउमा मलमपट्टि लगाउने सपना खचाखच हुन थाल्यो ।

अहिले तिब्र प्रतिस्पर्धाले मानिसलाई महत्वाकांक्षी बनाउँदै लगेको छ ।  वर्तमान परिवेशमा द्रुत गतिमा बढ्दै गैरहेको प्रविधिको विकास र मानिसको जीवनशैलीले मानिसमा निराशा, कुण्ठादेखि लिएर विभिन्न किसिमको मानसिक अस्वस्थता बढ्दै गैरहेको छ ।

मानिस यतिबेला मेसिनजस्तै कुदिरहेको छ, चलिरहेको छ  । भौतिक चिजमा रमाइरहेको छ । तर, स्वहेरचाहमा कत्ति पनि ध्यान छैन । मानिस रातदिन कुदेको कुद्यै छ । तर, उस हाँसो, खुशी, मनोरञ्जन, घुमघाम, परिवार, सबै कुराबाट एक्लिएको छ । यसरी एक्लिँदै जाँदा विभिन्न किसिमका मानसिक रोगको शिकार बन्ने क्रमसँगै ममा पनि मानसिक रोगले ग्रसित ब्यक्तिको सेवामा जीवन समर्पित गर्ने तिब्र अभिलाषा बढ्दै गयो । यतिबेला सर्वप्रथम ममा आफू खुशी हुने, आफू स्वस्थ्य हुने र अरुलाई पनि स्वस्थ्य बनाउने मनोविज्ञान विकास भएको छ  ।

मनोसामाजिक परामर्शको अध्ययनको सिलसिलामा आन्तरिक मूल्याङ्कन अन्तर्गत काठमाडौंका अधिकांश मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा जाने अवसर जुर्यो । जसमध्ये मलाई दुईवटा संस्थामा रहेका ब्यक्तित्वहरुले धेरै समय डेरा जमाउन पुगे । एउटा त भक्तपुरको बालसुधार गृह र अर्को रक्षा नेपाल ।

बालसुधार गृहका अधिकांश बच्चा, जसले अपराध गरेका छन् तर, उमेर नपुगेकाले सजाय दिन पनि मिलेन । उमेर नपुग्दासम्म बालसुधार गृहमा शिक्षा दीक्षा दिएर राखिने गरिन्छ । तिनलाई मानसिकरुपमा असर पर्छ कि भनेर मनोविद् तथा मनोपरामर्शदाता समेत त्यहाँ हुने गर्दछन् ।

तीमध्येको एउटा बच्चाको घटनाले मलाई निकै तड्पायो । बालक १३ वर्षकै हुँदा उनले छिमेकमा मजदुरी गर्ने परिवारकी १० वर्षकी केटीलाई बलात्कार गरेका रहेछन् । केटीको अवस्था क्षतविक्षत थियो, तर केटोचाहिँ सुधारगृहमा पढ्दै थिए । यो घटनाले बच्चा जन्माउने मात्रै होइन, कसरी हुर्काइयो भन्ने कुराको पनि महत्व प्रष्टाएको देखिन्थ्यो ।

राम्रोसँग शिक्षा दीक्षा दिन नसक्दा बच्चामा यस्ता घटना हुने गर्दछन् । न त घटना गराउने बच्चालाई नै अपराध गरेको भन्न पाइयो, न त पीडितको अवस्था सामान्य रह्यो । त्यसैले यो घटना मेरा निम्ति निकै अविस्मरणीय थियो ।

अर्को, रक्षा नेपाल जहाँ अधिकांश बच्चीहरु आफ्नै रक्तसम्बन्धबाट ईच्छाविपरीतको यौनजन्य क्रियाकलापबाट पीडित बनेका रहेछन् । बुवा, दाइ, भाइ, मामा, काका, यस्तै–यस्तै । रक्त सम्बन्धभन्दा बाहिरी मान्छेबाट बलात्कृत बच्चीहरु निकै कम छन् । कतिपय बलात्कृतले बच्चा पनि जन्माएका छन् । ती सबैको अभिभावक बनेको छ–रक्षा नेपाल । ३ वर्षदेखि २५ वर्षसम्मका बलात्कृत बच्चीहरुलाई रक्षा नेपालले आश्रय मात्रै दिएको छैन, उनीहरुको ब्यक्तित्व विकासका साथै शिक्षादीक्षादेखि सबै विकासमा निकै ध्यान दिएको छ ।

आफ्नै बुवा र हजुरबुबाले बलात्कार गरेका बच्चीलाई देख्दा मलाई सबैभन्दा सकस भयो । मन सम्हाल्न कठिन भयो । छिनछिनमा बेहोस हुने, केटा मान्छे देख्दा निकै आत्तिने, चिटचिट पसिना आउने, टाउको दुख्ने, ध्यान केन्द्रित गर्न नसक्ने, टोलाएर बस्ने जस्ता समस्याले ग्रसित रहेछन् । उनीहरुलाई आघातबाट बाहिर निकाल्न त्यहाँ मनोविदसमेत रहने गरेका छन्  ।

यी सबै देखेपछि मैले त्यहाँ उनीहरुको क्रियाकलाप हेर्ने मात्रै गरें । मनोविमर्शका लागि मैले थप अध्ययन गर्न जरुरी ठानें । यो ज्ञान अपूरो हुन्छ भन्ने महशुस गरें । यो ज्ञानले मान्छेको मनोभावना बुझेर परामर्श दिन सक्छु भन्ने आटँ आएन । त्यसो त हामीकहाँ ६ महिना मनोपरामर्श तालिमप्राप्त थुप्रै मनोपरामर्शदाता पनि छन् । तर, खै मलाई आत्मविश्वास नै भएन ।

म रातभर सुत्न  सक्दिनथेँ । धेरै रोएर आँशु सकिएका थिए । खाना खाने कुनै निश्चित समय थिएन । रुदारुँदै निदाउँथे । स्वहेरचाह भन्ने कुन चराको नाम हो, केही थाहा थिएन । शरीर चाहिन्छ भन्ने नै थिएन ।

तर, यो एकवर्षे मनोसामाजिक परामर्शको अध्ययनले मेरो मन बदलिदियो । विभिन्न किसिमका समस्याबाट गुज्रिएका ब्यक्तिहरुसँगको सहकार्यले मलाई मेरो समस्या त खास लागेन । सोच्ने तरिकामा परिवर्तन ल्याइदियो । मान्छेसँग हाँसेर बोल्ने बानी बसायो । खाने, सुत्ने, आफ्नो शरीरको हेरचाह गर्ने कुरामा निकै ध्यान दिन थालेँ । मेरो जीवन बहुमुल्य छ भन्ने महसुस हुन थाल्यो ।

अझ अब त मलाई आफूमात्रै होइन मजस्ता तमाम विभिन्न किसिमका समस्याले क्षतविक्षत भएका मान्छेहरुलाई मल्हमपट्टि लगाउनुपर्छ भन्ने जिम्मेवारी पनि वोध हुन थाल्यो । जीवनका भोगाइमा मेरो यो एकवर्षे मनोसामाजिक परामर्शको अध्ययनले जीवन नै परिवर्तन गरिदियो । जीवनका उद्देश्यहरु परिवर्तन गरिदियो । अझ भनौं, मेरो सोचाइमा धेरै ठूलो परिवर्तन ल्याइदियो । अनि सुटुक्क मेरो मन पनि बदलिदियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खिमा रिजाल
खिमा रिजाल
लेखकबाट थप