बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रोजगारीका लागि इजरायल जान ९ हजार ६९९ जनाले दिए आवेदन

आइतबार, ०६ भदौ २०७८, १२ : ५९
आइतबार, ०६ भदौ २०७८

इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा जान ९ हजार ६९९ जनाले इच्छा देखाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारीमा जान हालसम्म साढे ९ हजारभन्दा बढीले आवेदन दिएको बताएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ सालको असोजमा नेपाली नागरिकहरुलाई इजरायलमा लग्ने गरी द्विपक्षीय श्रम सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयन गर्न ‘नेपाल सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका,२०७८’ जारी गरिसकेको छ ।

सम्झौता अनुसार इजरायल सरकारले अहिले एक हजार जना सहायक कामदारको माग गरेको छ । इजरायल सरकारको मागअनुसार वैदेशिक रोजगार विभागले इजरायल जान चाहनेहरुका लागि आवेदन खुलाएको थियो ।

हालसम्म आएका साढे ९ हजारभन्दा बढी आवेदन विभागले अध्ययन गरिरहेको छ भने अन्तिम सूचीमा पर्नेहरू लिखित परीक्षामा सहभागी हुनुपर्ने छ । लिखित परीक्षामा उत्तीर्ण हुनेले इजरायल जानका लागि अन्तर्वार्ता समेत दिनुपर्छ । इजरायल जानेहरुको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको परिक्षा विधिको उपयोग गरिने छ ।

मौलायो ठगी धन्दा

सहायक कामदारमा इजरायलको रोजगारी खुलेपछि ठगी धन्दा मौलाएको मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले मन्त्रालय र विभागका अधिकारीसँग आफ्नो सम्बन्ध रहेको देखाई रकम असुल्ने गिरोह सक्रिय भएको गुनासो आएको बताए ।

यस विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको र कसैले पनि त्यस्ता गिरोहलाई रकम नदिन मन्त्रालयले आग्रह गरेको छ । 
गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरितका दुई सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने काम गरेको पाइए प्रचलित कानून बमोजिम जाने चेतावनी मन्त्रालयले दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप