आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

तीन वर्षमा विपद्का घटनाबाट करिब ६ अर्ब क्षति

शनिबार, ०५ भदौ २०७८, २१ : ३५
शनिबार, ०५ भदौ २०७८

– दिलकुमार लिम्बू
ताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ ।

आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ । रु नौ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिरोबाट र  चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएका विपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पछिल्लो तीन आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ मा भएका विपद्का घटनामा सबैभन्दा बढी आगलागीले क्षति गरेको तथ्याङ्क रहेको जानकारी दिए ।

प्रजिअ पाण्डेका अनुसार गएको आव २०७७–७८ मा ताप्लेजुङमा रु चार अर्ब पाँच करोड ६२ लाख पाँच हजार ३७९ बराबरको क्षति भएको छ । उक्त कूल क्षतिमध्ये आगलागी घटनाबाट मात्रै रु चार अर्ब तीन करोड ७५ लाख २१ हजार ३७९ बराबरको क्षति भएको तथ्याङ्क रहेको पाण्डेले बताए । गत वर्ष बाढी र पहिरोबाट रु एक करोड ६७ लाख ६८ हजार, चट्याङबाट रु १३ लाख १६ हजार र भूकम्पबाट रु छ लाख बराबरको क्षति भएको छ ।

गत आवमा आगलागी र चट्याङबाट एक–एक तथा बाढी र पहिरोबाट पाँच गरी सात जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो वर्ष विपद्जन्य घटनाबाट २९ वटा पशु चौपाया मरेका छन् भने सात घाइते भएका छन् । यस्तै दैवीप्रकोप तथा विपद्जन्य घटनाका कारण १०२ वटा कच्ची र छ पक्कासहित १०८ घरमा क्षति पुगेको समितिको तथ्याङ्क छ ।

त्यस्तै आव २०७५–७६ मा भएका प्रकोप तथा विपद्का घटनाबाट रु सात करोड १३ लाख ७७ हजार ७५० बराबरको क्षति भएको छ । सो बराबरको क्षतिमध्ये आगलागीका घटनाबाट मात्र रु तीन करोड ७० लाख ४७ हजार २५० बराबरको क्षति भएको छ । उक्त आवमा बाढी र पहिरोबाट रु तीन करोड ३१ लाख ९० हजार ५०० र हुरीबतासबाट रु ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ । विपद्मा परेर एक जनाको मृत्यु र छ घाइते भएका थिए । सो आवमा ८७ वटा घरमा क्षति पुगेको थियो ।

त्यसैगरी आव २०७६–७७ मा विपद्जन्य घटनाबाट रु १५ करोड १५ लाख ७५ हजार ३५० बराबरको क्षति भएको थियो । सो वर्ष आगलागीजन्य घटनाबाट मात्र रु १० करोड ५३ लाख २० हजार ३५० बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

सोही आवमा बाढी र पहिरोबाट रु चार करोड ६१ लाख चार हजार र चट्याङबाट रु एक लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो । विपद्का घटनामा सो वर्ष एक जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । पशु चौपाया सातवटा मरेका थिए । एक पक्कीसहित ३२ वटा घरमा क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप