बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३९ वर्षीय रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

शनिबार, ०५ भदौ २०७८, १९ : २५
शनिबार, ०५ भदौ २०७८

अभिनेत्री रेखा थापा ३९ वर्ष लागेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । कलाकर्मी, समकक्षी, साथीभाई लगायत थुप्रैले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन् । रेखाको पछिल्लो समय चलचित्र क्षेत्रमा अभिनेत्री, निर्माता र निर्देशकको परिचय बनेको छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत चिन्ने गरिन्छ ।

सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेलको निर्देशन तथा छविराज ओझाको निर्माण रहेको चलचित्र ‘हिरो’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । २ सय हाराहारी चलचित्र अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिराइनको कारणले पनि फिल्म चल्न सक्छ भनेर देखाउँदै हिरोको एकाधिकार समेत तोडेकी छिन् ।

पत्रकारलाई हिर्काउनेदेखि पुष्पकमल दाहाल (प्रचण्ड)सँग नाचेर समय समयमा विभिन्न कारणले चर्चा रहन सफल अभिनेत्री रेखा अहिले भने एक्लो छिन् । केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहँदै आएकी हुन् । चलचित्र क्षेत्रमा अभिनेता राजेश हमालदेखि निखिल उप्रेती, बिराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्नतिर लागेकी छन् ।

चलचित्र क्षेत्रमा स्टारडम खस्कँदै जान थालेपछि राजनीति रोजेकी रेखा तत्कालीन समयमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कम्मर मर्काउँदै माओवादी छिरेकी थिइन् ।  त्यसपछि उनी कमल थापाको विचार मनपर्यो भन्दै राप्रपा प्रवेश गरिन् । अहिले कमल थापा छोडेर उनी राप्रपाका अर्का नेता पशुपतिशमशेर राणा समूहतिर ढल्किएकी छन् ।

यता र उता भौतारिने शैलीले उनको राजनीतिक करियर भने उभो लाग्न सकेको छैन । उनीसँगै राप्रपा छिरेकी गायिका कोमल ओली भने अहिले एमालेकी सांसद छिन् । केही अगाडि सरकारसँग वार्ता गर्दै शान्ति प्रक्रियामा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगै तस्बिर खिचाएको कारणले उनी चर्चामा छाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप