शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खानेतेलको मूल्यमा मनपरी वृद्धि, सरकार भन्छ– अध्ययन गर्दैछौँ !

महामारी र महँगीको दोहोरो चपेटामा उपभोक्ता
शनिबार, ०५ भदौ २०७८, १५ : ५६
शनिबार, ०५ भदौ २०७८

खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारवाही अघि बढाएको छैन ।

पछिल्लो एकसाताको अवधिमा खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्यवृद्धिको विषयलाई आफूहरुले नियालिरहेको र अध्ययनको प्रक्रियामा रहेको बताए ।

बजारमा भाउ बढ्नेवित्तिकै कारबाही गर्न नमिल्ने भएकाले वास्तविकता बुझ्नतर्फ लागेको प्रवक्ता सेढाईंले बताए । उनले भने, ‘मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरु मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनतर्फ लाग्छौं । अनुगमनबाट अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढ्नु र ढुवानी लागतमा आएको वृद्धि लगायतले तेलको मूल्य बढाउनुपरेको उद्योगीहरुको तर्क छ । उद्योगी प्रदीप मुरारकाले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरे ।

अहिले प्रतिलिटर तेलमा सामान्य वृद्धि भएको बताउँदै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भए पनि नेपालमा त्यसको प्रभाव परिनसकेको तर्क गर्दै मुरारकाले भने, ‘उद्योगबाट उत्पादित तेल बजारमा जाँदा सामान्य मात्रै मूल्यवृद्धि भएको छ । तर, उपभोक्तासम्म पुग्दा धेरै बढेको हुन सक्छ ।’

कति पुग्यो खानेतेलको मूल्य ?

पछिल्लो एक सातामा सबैखाले खानेतेलको मूल्य प्रतिकार्टुन सय रुपैयाँभन्दा बढेर बजारमा आएको छ । बढेको तेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगिएको व्यापार संघले बताएको छ ।

प्रतिकार्टुन सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टुन २७ सय र भटमास तेलको मूल्य प्रतिकार्टुन २४ सय रुपैयाँ पुगेको छ ।

यस्तै, तोरीको तेलको मूल्य प्रतिकार्टून ३२ सय ५० रुपैयाँसम्म पुगेको छ । सूर्यमुखी तेलको प्रतिलिटर मूल्य २७०, भटमासको २४० र तोरीको ३२५ रुपैयाँभन्दा माथि पुगेको संघले जानकारी दिएको छ । जुन, एक वर्षअघि अर्थात कोरोना महामारी सुरु हुनु अगाडि सबैखाले तेलमा अहिलेकोभन्दा प्रतिलिटर सय रुपैयाँ सस्तो थियो ।

एक महिनाअघि सूर्यमुखी तेलको प्रतिकार्टुन मूल्य २५ सय,  भटमासको २३ सय र तोरीको ३ हजार रुपैयाँ थियो । त्यतिबेला, कच्चा सामग्रीको मूल्य घटेको कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए ।

उत्पादकले ‘मोनोपोली’ गरेको व्यापार संघको गुनासो

पछिल्लो एक सातामा तेलको मूल्य विनाकारण प्रतिलिटर ३० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघको गुनासो छ । उद्योगले एकाएक मूल्य बढाएर पठाएपछि उत्पादकहरुले खानेतेलमा ‘मोनोपोली’ कायम गरेको व्यापार संघले आरोप लगाएको छ ।

उद्योगीहरुले खानेतेलको मूल्य आफूखुसी मूल्य निर्धारण गरेका कारण भाउ ह्वात्तै बढेको संघका निर्वतमान अध्यक्ष पवित्र बज्राचार्यले रातोपाटीलाई बताए । एक महिनाअघि तेलको मूल्य केही घटे पनि फेरि बिनाकारण उकालो लाग्न थालेको उनले बताए ।

अहिले बजारमा सबै प्रकारको खानेतेलको मूल्य १० देखि ३५ रुपैयाँसम्म बढेको संघले बताएको छ । भटमास, तोरी र सूर्यमुखी तेलको मूल्य उद्योगबाटै बढाएर पठाइएकाले उपभोक्ता मूल्य झनै बढ्ने बज्राचार्यको भनाइ छ ।

परिणामस्वरुपः कोरोना महामारीका कारण आम्दानी खुम्चिएका उपभोक्तालाई महँगीको चपेटाले थप मारमा पारेको छ । कोरोना महामारीयता खानेतेलको मूल्य  प्रतिलिटर एक सय रुपैयाँभन्दा बढीले उकालो लागिसकेको छ ।

भारत निकासीको चाप

गत आर्थिक वर्ष २०७७/७८ मा ५३ अर्ब ३७ करोड रुपैयाँको कच्चा भटमास तेल भित्रिएको छ । यसमध्ये नेपालबाट भारततर्फ ५३ अर्ब ६५ करोड रुपैयाँको प्रशोधित भटमासको तेल निकासी भएको छ ।

यस्तै, सोही अवधिमा ७ अर्ब २९ करोड रुपैयाँको कच्चा पाम तेल नेपालमा आयात भएको छ । यस्तै, गत वर्ष विदेशबाट नेपालतर्फ १५ अर्ब २४ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । यसमध्ये भारततर्फ ३४ करोड रुपैयाँको प्रशोधित तेल निकासी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्षको भन्सार तथ्यांक अनुसार भटमास र सूर्यमुखीको तेलमा निकासीको चाप परेको देखिन्छ । भारततर्फ भटमासको तेलको माग बढ्दा आयात भएको कच्चा तेलको परिमाण जति नै तेल निर्यात भएको छ । फलस्वरुपः माग धान्न नसक्दा मूल्य बढेको देखिएको छ ।

नेपालले भटमास तेलको कच्चा पदार्थ अर्जेन्टिनासहित अन्य दक्षिण अमेरिकी मुलुकबाट आयात गर्दै आएको छ । यस्तै, पाम तेलको कच्चा पदार्थ मलेसिया, इण्डोनेसिया, अर्जेन्टिना, पपुवा न्यूगिनी र युक्रेनबाट आउँछ । यसैगरी, सूर्यमुखीको तेलको कच्चा पदार्थ अर्जेन्टिना, रसिया र युक्रेनबाट आउने गरेको भन्सार विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप