शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा विभाजनले मधेस निराश

‘अब विश्वास गर्ने ठाउँ छैन’
शनिबार, ०५ भदौ २०७८, ०७ : ३०
शनिबार, ०५ भदौ २०७८


जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् ।

अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा नेपाल गठन भएपछि तराई मधेसका जनता उत्साहित बनेका थिए । एक्लाएक्लै हुँदा मधेसको माग पूरा नहुने भन्दै उनीहरु एकीकृत भएका थिए । एकीकृत भएपछि प्रदेश तथा संघमा जनता समाजवादी पार्टीले राम्रै उपस्थिति देखाएको थियो भने प्रदेश २ मा एकल बहुमतको सरकार पनि गठन गरेको थियो ।

तर अहिले जसपा नेपाल विभाजनसँगै प्रदेश २ मा जसपा, माओवादी केन्द्र र काँग्रेसको संयुक्त सरकार बनेको छ । संघमा जसपा नेपालका ३४ सांसदमध्ये अहिले १९ सांसद एकातिर र १५ सांसद अर्कोतिर बाँडिएका छन् । महन्थ ठाकुर नेतृत्वको समूहले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरे पनि विपक्षमा बसिरहेको छ भने उपेन्द्र यादव नेतृत्वको जसपाका सांसद सत्ता पक्षको बेञ्चमा बसिरहेका छन् । पार्टी विभाजनका कारण संसदको समीकरणमा पनि फेरबदल भएको छ ।

प्रदेश २ मा जसपाको ५४ प्रदेश सांसदमध्ये अधिकांश उपेन्द्र यादवको पक्षमा लागेका छन् । अहिले प्रदेश २ मा उपेन्द्र यादव नेतृत्वको जसपामा ४० जना प्रदेश सांसद छन् भने १४ जना महन्थ ठाकुर पक्षमा छन् ।

जसपा एकीकृत हुँदा मधेसमा एउटा शक्तिका रुपमा स्थापित थियो । संघीय संसदमा पनि आफ्नो संख्यात्मक उपस्थिति देखाएर अरु दलसँग बार्गेनिङ गरिरहेको थियो तर अहिले अवस्था त्यस्तो रहेन । मधेसवादी दल नै कमजोर भएपछि मधेसको मुद्दा स्वाभाविक रुपमा कमजोर हुने विश्लेषकहरु बताउँछन् ।

लामो समय मधेसको राजनीतिमा रहेर अहिले स्वतन्त्र बसेका खुशीलाल मण्डल (सप्तरी) ले मधेसवादी दलको पटक पटक विभाजनले मधेसको मुद्दा कमजोर हुँदै आएको बताए ।

‘सबै मधेसवादी दल एक ठाउँमा आएपछि एउटा शक्ति निर्माण भएको थियो, त्यसले मधेसमा एउटा आशा जगाएको थियो तर पुनः विभाजनले मधेस र मधेसको मुद्दा कमजोर भएको छ,’ उनले भने ।

नेपाल सद्भावना पार्टी र त्यसअघि वेदानन्दन झाकै पालादेखि मधेस केन्द्रित दलहरु विभाजन हुँदै आएका छन् र पटक पटकको विभाजनले मधेसकै मुद्दा कमजोर भएर अहिलेसम्म माग पूरा नभएको उनले बताए । मधेसवादी दल हरेक पटक सत्ताकै कारणले विभाजित भएको उनको भनाइ छ । उनले सत्ताका कारण दलहरु विभाजन हुने क्रमसँगै मधेसको मुद्दा पनि कमजोर भइरहेको बताए ।

२०४७ सालमा गठन भएको नेपाल सद्भावना पार्टी सत्ताकै लागि पटक पटक विभाजन भएको थियो । त्यही विभाजनका कारण मधेसवादी दलका नेताका हैसियतले मधेसका धेरै नेता सत्तामा पुगे पनि पार्टीले उठाउँदै आएको माग कहिल्यै पूरा नभएको उनको भनाइ छ ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालको उदय भएसँगै मधेसका मुद्दाहरु पुनः जबर्जस्त रुपमा उठ्न थाल्यो । तर त्यो पार्टी पनि विभाजन हुन थाल्यो । विभिन्न टुक्रामा विभाजन भएसँगै मधेसको माग र मुद्दा पनि कमजोर हुँदै गयो । पछि विभिन्न टुक्रामा रहेका नेपाल सद्भावना पार्टी, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, समाजवादी पार्टीलगायतका दलहरु एकीकृत भएर जनता समाजवादी पार्टी बनेको थियो । मधेसका सबै मुलधारका पार्टी एकीकृत भइसकेका थिए । जसपाले संविधान संशोधनलगायतका मागहरु उठाउँदै सरकारसँग बार्गेनिङ गर्न थाल्यो । जसपा सत्ताको केन्द्रमै रह्यो तर एक वर्ष नपुग्दै विवाद सुरु भयो र अन्ततः दुई टुक्रामा विभाजन भयो ।

‘मधेसी जनतामाथि पटक पटक विश्वासघात भएका कारण अहिले आक्रोश देखिएको छ,’ मधेसको राजनीतिमा लामो समयसम्म सक्रिय भएर हाल स्वतन्त्र रुपमा बसेका श्रीमननारायण (रौतहट) भन्छन्, मधेसमा एकखालको आक्रोश छ, मधेसी जनताले दलहरुबाट पटक पटक धोका पाएका छन्, पटक पटक विश्वासघात भएको छ, अब कसमाथि विश्वास गर्ने भन्ने अन्योल जनतामा देखिएको छ ।’

मधेसका नाममा खुलेका दलहरुले मधेसको मुद्दालाई बार्गेनिङको लागि प्रयोग गरेर सत्ताको हिसाब किताब गर्ने गरेको उनको आरोप छ । उनीहरुले योभन्दा बढी केही गर्न सक्दैनन् भन्ने कुरा मधेसका जनताले थाहा पाइसकेको पनि उनले बताए ।

सिरहाका पत्रकार चन्द्रदेव कामतीले पनि मधेसवादी दल पटक पटकको विभाजनले गर्दा जनताबाट विश्वास गुम्न लागेको बताए । ‘अब कोमाथि कति विश्वास गर्ने भन्नेमा जनता अन्योलमा छन्,’ उनले भने, ‘जसपा थियो, त्यसमा एकखालको विश्वास र भरोसा जमेको थियो, जनतामा एकखालको उत्साह थियो तर यो पछिल्लो विभाजनले जनतालाई निराश बनाएको छ ।’

२०७७ वैशाख १० गते मध्यरात तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । त्यसको दुई वर्षअघि विभिन्न ६ वटा मधेसवादी दल मिलेर राजपा नेपाल बनेको थियो । त्यस्तै मधेसी जनअधिकार फोरम नेपाल, नयाँ शक्ति, नेपाल सद्भावना पार्टी, नेपाल संघीय समाजावादी पार्टीलगायत अन्य साना दलहरु मिलेर समाजवादी पार्टी बनेको थियो ।

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको एक वर्ष नबित्दै पार्टीभित्र आन्तरिक विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि अन्ततः सो दल विभाजित भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप