शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह

शुक्रबार, ०४ भदौ २०७८, १५ : ५९
शुक्रबार, ०४ भदौ २०७८

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् । 

शुक्रबार आफ्नो पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।  चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए । 

उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । 

श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकमा नेपालको सिमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको छ । 

नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए । नेपालको नक्साको द्वन्द्व, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझून् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप