शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

शुक्रबार, ०४ भदौ २०७८, १३ : ४७
शुक्रबार, ०४ भदौ २०७८

बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियंका भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ ।

दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले  दिए पनि परिवारले शव बुझेका छैनन् । गत साउन ३१ गते राति करिब ११ बजे घरबाटै बेपत्ता भएकी रानीगन्ज डाँडा टोलका राजेश भुजेलकी  छोरीको शव गत मङ्गलबार राति कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो । 

घटनामा संलग्न रहेको आरोपमा लालबन्दी १७ कै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाललाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

पक्राउ परेका युवाले नै युवतीको शव गाडेको स्थान देखाएका थिए ।  घटनाको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार लालबन्दीमा दुई घण्टा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेका थिए । बिहीबार पनि करिब तीन घण्टा  पीडित पक्ष र सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भएको थियो ।

प्रहरीले १४ वर्षीया भुजेलको उमेर १६ बताएको र दोषीलाई सार्वजनिक नगरेको भन्दै थप आक्रोशित बनेका पीडित पक्षले इलाका प्रहरी कार्यालयबाट न्याय नपाइने भन्दै आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर  ज्ञापनपत्र बुझाउने जनाएका छन् ।  सांसद प्रमोद साहले पनि पीडित पक्षसँग भेट गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सो घटनाबारे जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप