योद्धा जनकवि धर्मरत्न यमि
बहुआयमिक प्रतिभाका धनी हुन्– स्व. धर्मरत्न यमि । उनी राजनीतिज्ञ, विचारक हुन् । उनी इतिहासविद्, समाज सुधारकका साथै भाषाविद् र साहित्यकार हुन् । बौद्ध दर्शनका ज्ञाता, विशिष्ट विद्वान्, संस्कृतिविद्, प्राज्ञिक व्यक्तित्व पनि हुन् उनी । प्रगतिवादी, जनवादी लेखक, विश्लेषक हुन् । समाजका विद्यमान विभेद र अन्यायविरुद्ध युद्ध लड्ने विद्रोहीचेत भएका योद्धा हुन् । श्रमजीवी जनताले भोगेका दुःख, पीडा र खेपेका अन्यायका अनुभूति कवितामार्फत निरन्तर अभिव्यक्त गर्ने जनकवि हुन् ।
नेवार समुदायका यमिले नेपालभाषामा एक दर्जनभन्दा बढी जीवनी, कथा, कविता काव्य, खण्डकाव्य, आख्यान र लेख सङ्कलित कृतिहरु प्रकाशित छन् । त्यस्तै, नेपाली खस भाषामा बुद्ध मानिस हुन्, शहीदी रक्त, जगत् ज्योति, हाम्रो राष्ट्रियता, बौद्ध दर्शनको रूपरेखा, समाजको यौटा झलक, प्रवासी नेपालीलाई एउटा मेरो विन्ती र गान्धी गौरवजस्ता महत्त्वपूर्ण कृति प्रकाशित छन् । हिन्दी भाषामा प्रकाशित कृति ‘महामनुष्य बुद्ध’ ‘जो, बुद्ध मानिस हुन्’को हिन्दी अनुवाद हो । अङ्ग्रेजीमा उनका प्रकाशित कृतिहरुमा ‘नो थर्ड वे आउट, दी स्टडी अफ क्रिटिकल सिचुएसन अफ नेपाल, प्रेस स्टेटमैन्ट्स एन्ड आर्टिकल अन प्रेजेन्ट रिलेसन बिट्विन नेपाल एन्ड इन्डिया’ पछिल्लो समय प्रकाशित उनको कृति नेपालका कुरामा उल्लेख भएको पाइन्छ । नेपालका कुरा कृति समाज रूपान्तरण अभियानमा जुट्ने र इतिहासका इतिवृत्ति जान्न रुचि राख्ने नयाँ पिँढीका लागि प्रशस्त प्रेरणा र स्रोतको रूपमा लिन सकिन्छ ।
वि.स. १९७२ भाद्र २ गते काठमाडौँको असन कमलाक्षी टोलमा जन्मेका धर्मरत्न यमिले बाह्र वर्षको उमेरसम्म घरमै अनौपचारिक शिक्षा हासिल गरे । तेह्रदेखि सत्र वर्षसम्म बाँडाको ज्यासलमा खलाँती फुक्ने र कपडाको जुत्ता सिउने ज्यालादारी गरे । सत्रदेखि चौबीस वर्षको उमेरसम्म तिब्बत ल्हासाका एक व्यापारीको सहयोगीका रूपमा काम गरे । तिब्बत बसाइका क्रममा महापण्डित राहुल सांकृत्यायनलगायत अन्य भारतीय, तिब्बती तथा चिनियाँ विद्वानहरुको सङ्गत गर्ने मौका पाए । त्यसबेला उनले अनेक विषयका ग्रन्थहरुको अध्ययन गरे । त्यसपछि आफैले साहित्यिक कृति सिर्जना गर्न थाले ।
तिब्बतबाट फर्किएपछि यमि देशभित्र राणा शासनविरोधी गतिविधिमा सामेल हुन थाले । यसैक्रममा वि.स. १९९७ सालको प्रजा परिषद् काण्डमा गिरफ्तार भएपछि सर्वस्वहरणसहित पन्ध्र वर्षको कारावास सजाय पाए । यद्यपि, वि.स. २००२ सालमा उनलाई रिहा गरियो ।
उनको विवाह काठमाडौँकी हिरादेवी कंसाकारसँग वि.स. २००२ साल भाद्र २५ गते भएको थियो । हिरादेवीबाट एक छोरा विद्यारत्न यमि (इन्जिनियर) र छोरीहरु क्रमशः डा. धर्मदेवी राजभण्डारी (चिकित्सक), तिमिला यमि थापा (इन्जिनियर), न्हुच्छेशोेभा तुलाधर (प्राध्यापक), चिरिकशोभा ताम्राकार (प्राध्यापक), डा. कयोदेवी यमि (जीव वैज्ञानिक), हिसिला यमि (इन्जिनियर) हुन् भन्ने कुरा धर्मरत्न यमिका जीवन सरिता कविताकृतिमा कृतिका सम्पादक डा. खुमनारायण पौडेल र डा. ईशान गौतमले भूमिका लेखनमा उल्लेख गरेका छन् । हिरादेवी यमिको वि.स. २०२५ सालमा निधन भएपछि उनको दोस्रो विवाह वि.स. २०२६ सालमा सावित्रीदेवी दाहालसँग भएको कुरा पनि डा. पौडेल र डा. गौतमले जीवन सरितामा उल्लेख गरेका छन् ।
सन् १९४७ अगस्ट १५ तारिखमा अङ्ग्रेज उपनिवेशबाट भारत मुक्त भएको उपलक्ष्यमा श्रीमती हिरादेवी यमिको अध्यक्षतामा सभा गरेबापत दुवै पति–पत्नी गिरफ्तार भएर हिरादेवी केही दिनपछि र धर्मरत्न छ महिनापछि रिहा भएका थिए । भारत अङ्ग्रेजको दासत्व र दलनबाट मुक्तभएझैँ त्यतिखेर नेपाल पनि राणा, राजाको दासत्व र अत्याचारबाट मुक्त हुन चाहन्थ्यो ।
नेपालमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षका संवाहक, समाज रूपान्तरणका अथक योद्धा जनकवि धर्मरत्न यमिको २०३२ सालमा देहावसान भए पनि उनले खनेका बाटो र गोरेटोहरुमा टेक्दै आज देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढिरहेको सबैलाई अवगत छ । तर राज्यले देशका यस्ता विभूति, स्रष्टा र योद्धाहरुलाई चिन्न नसक्नु विडम्बना छ । सम्झन नसक्नु, सम्मान गर्न नसक्नु पनि धर्मरत्न यमिले लड्दालड्दै बाँकी रहन गएको विद्यमान विभेदकारी समाजको सोच र एकात्मक जातिवादी राज्यसत्ताको चिन्तन नै हो भन्दा फरक पर्दैन ।
किनभने राज्य व्यावस्था बदलेका छौँ । तर सोँच, चिन्तन र प्रवृत्ति बदल्न सकेका छैनौँ । यसलाई अविलम्ब बदल्न सक्ने र यसलाई भत्काउन सक्ने सामथ्र्य राख्नुपर्छ । विशेषगरी यसलाई भत्काउन युवा पिँढीले बल गर्नुपर्छ भन्ने लाग्छ ।
सत्य के हो भने यस्ता सोच, चिन्तन र प्रवृत्तिको अन्त्य गर्न नसकेसम्म धर्मरत्न यमिहरुको सपना साकार हुन सक्दैन । धर्मरत्न यमिहरु र योद्धा शहीदहरुको सपना पूरा गर्न विगतबाट सङ्घर्ष हुँदै आएका विविध आन्दोलनबाट प्राप्त उपलब्धिहरुको संविधानतः उल्लेख र रक्षा पहिलो मुख्य सर्त हुन आउँछ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत संरक्षण, विकास र प्रयोग गरेर नेपालको विविधतायुक्त पहिचानलाई न्यायोचित सन्तुलन मिलाउँदै सहभागितामूलक समावेशी आर्थिक विकास गर्नु दोस्रो मुख्य सर्त हो । विद्यमान विकराल दलाल पुँजीवादी व्यावस्था र प्रवृत्तिबाट जोगाउँदै देशलाई छिटो समाजवादी व्यावस्थामा लगेर आम जनतालाई गाँस, बास, कपासको राहत, सामाजिक सुरक्षा र अधिकार सम्पन्न बनाउन पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख शासकीय प्रणालीमा जानु तेस्रो मुख्य सर्त हो ।
अहिलेको राज्य व्यावस्थाको प्रवृत्ति दलाल पुँजीवादी हो भन्ने प्रष्ट हुनसक्छौँ भने मात्रै आम पार्टीहरुको प्रवृत्ति पनि त्योबाट अछुतो छैन भन्ने प्रष्ट हुन्छौँ । तर यति कुरा प्रष्ट हुन धेरै कुरा अध्ययन गर्नुपर्छ । यसलाई टेवा पुग्नसक्ने धर्मरत्न यमिको नेपालका कुरा पनि विशेष अध्ययन गर्नु पर्छ । ध्रुवसत्य कुरा यही हो कि समाजवादी मोडेलमा द्रुत देश विकास गर्दै समुन्नत र शान्त समाज निर्माण गर्नु आजको हाम्रो सुन्दर देश नेपालको मूलभूत आवश्यकता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’