शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख नआएपछि धर्ना छाडेर हिँडे एमाले सांसद् (भिडियोसहित)

शुक्रबार, ०४ भदौ २०७८, १२ : ३४
शुक्रबार, ०४ भदौ २०७८

नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् । 

यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।

एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको आरोप लगाइन् । उनले आज भने सभामुखले आफूहरुसँग फेस गर्न नचाहेको  आरोप लगाइन् ।

‘उहाँले आज हामीसँग फेस गर्न चाहनुभएन’ उनले सञ्चारकर्मीहरूसँग भनिन्, ‘हामीलाई उहाँ भागेको आभास भयो । उहाँ किन त्यसो गर्दै हुनुहुन्छ ? उहाँ कुनै दलको कार्यकर्ता होइन, एउटा संस्था हो । उहाँ जुन पदमा आसिन हुनुहुन्छ, त्यसको गरिमा भुल्दै हुनुहुन्छ भन्ने लाग्छ ।’ धर्नाका क्रममा सभामुखसँग सम्पर्क भएपनि आफू अर्को कार्यक्रममा व्यस्त रहेकाले आउन नभ्याउन जवाफ दिएको उनको भनाइ छ । 

उनले हिजो सभामुखसँग चर्काचर्की भएको स्वीकार्दै भनिन्, ‘हामीले किन ढिलासुस्ती गर्नुभएको छ, हिजो त माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई कारबाही गर्दा कारबाही सिफारिस गरेको २४ घण्टा नबित्दै सिफारिस गर्नुभयो । आज एमालेले कारबाही गर्दा किन बायस्ट हुनुभयो भन्दा उहाँ चर्किनु भयो । किन कसैलाई पाखा र कसैलाई पाखा भन्दै गर्दा उहाँ आफैँ चर्किनुभयो । चर्काचर्की परेकै हो । आज पनि आयौँ, उहाँले फोनमार्फत नै भएपनि यो विषयमा ध्यानाकर्षण भयो भन्नुभाछ ।’

आज पनि सभामुखले पदमुक्त गर्न आलटाल गरे एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप