शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्जिनियरिङ कलेजको विद्यार्थी आन्दोलन किन ?

शुक्रबार, ०४ भदौ २०७८, १२ : ०५
शुक्रबार, ०४ भदौ २०७८

विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएछि जनजीवनका र शैक्षिक क्षेत्रमा धेरै नै प्रभाव पार्यो । लामो समयसम्म नेपालका शैक्षिक संस्था बन्द हुनपुगे । पठनपाठन ठप्प भयो । जनजीवन अस्तव्यस्त भयो । औपचारिक आँकडा अनुसार संसारभर करिब ५० लाख तथा नेपालमा १० हजारभन्दा धेरैको ज्यान गयो । अर्थव्यवस्था तहसनहस हुने अवस्थामा पुग्यो । भूकम्प तथा भारतीय नाकाबन्दीको समयमा समेत ऋणात्मक नभएको नेपालको आर्थिक वृद्धि यो पटक ऋणात्मक हुन पुग्यो  । 

महामारीको प्रभावले शैक्षिक संस्था लामो समय बन्द हुन पुगे । यसैबीचमा नेपालको इन्जिनियरिङ शिक्षा, खासगरी निजी इन्जिनियरिङ कलेजले पछिल्लो समय अनलाइन प्रविधिमार्फत कक्षा सञ्चालन गरेका थिए । विद्यार्थीहरूको आफ्नै साधन ल्यापटप, मोबाइलमार्फत घरबाट नै भएको अध्ययन अध्यापनपश्चात् सेमेस्टरहरू सकिएका छन् । यसबीचमा अनिवार्य हुनुपर्ने प्रयोगात्मक तथा फिल्ड भिजिटका कुनै काम भएका छैनन् । क्याम्पसका तर्फबाट घरबाटै पढाउने शिक्षकहरू र अनलाइन अध्यापनको सामान्य सफ्टवेयरबाहेक प्रयोग नभएको अवस्था छ । यस्तो अवस्थामा विद्यार्थीहरूबाट पुरानै पूर्ण शुल्क लिने तथा कतै कतै त अझ शुल्क वृद्धि गरेको अवस्था छ ।

इन्जिनियरिङ जस्तो प्रयोगात्मक विषयमा समेत छोटो समयको सैद्धान्तिक अझ त्यो पनि अनलाइनमार्फत भएको अध्यापनले पाठयोजनामा भएको न्यूनतम ज्ञानसमेत हासिल गर्न नसकेको अवस्थामा पुरानै शुल्क लिएर मात्र परीक्षामा सहभागी हुन फाराम भर्ने व्यवस्था गरेपछि स्वाभाविक रूपमा विद्यार्थीहरूमा आक्रोश पैदा भएको छ । देशभरका विद्यार्थीहरू अहिलेको महामारीको समयमा समेत आन्दोलनमा आएका छन् । रिले अनसन, धर्ना, जुलुस, प्लेकार्ड प्रदर्शन लगायत रचनात्मक र शान्तिपूर्ण विधि अपनाउँदै लगभग ६  हजारको सङ्ख्यामा विद्यार्थीहरू प्रत्यक्ष विरोधमा उत्रिएका छन् । शिक्षाको कमजोर गुणस्तर, परीक्षाको अनिश्चितता र अन्योलको बीचमा समेत कलेजले अनिवार्य गरेको चर्को शुल्कको खारेजीको माग गर्दै विद्यार्थीहरू सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

खास समस्या के हो ?

इन्जिनियरिङ शिक्षामा निजीकरण र व्यापारीकरणको कथा नेपालमा शिक्षाको निजीकरणमा गएर जोडिन्छ । सरकारको आफ्नो न्यूनतम जिम्मेवारीमा रहनुपर्ने शिक्षा भ्रष्टाचारको स्रोतमा रूपान्तरण गरेर बजारमा खुल्ला व्यापारको माध्यम बनाएपछि अहिले मुलुकमा तीसभन्दा बढी निजी इन्जिनियरिङ कलेज खुलेका छन् । दाताहरूको सर्तमा सरकारी प्रवीणता प्रमाणपत्र तह खारेज भएपछि खुलेका बग्रेल्ती प्लसटु कलेजहरूले उत्पादन गरेका विद्यार्थीहरूलाई सरकारी इन्जिनियरिङ कलेजले मात्र खपत गर्न सक्ने अवस्था रहेन । यही समयमा निजी इन्जिनियरिङ कलेजले आफूलाई विस्तार गरे । मूलतः घरजग्गा कारोबार, ठेक्का पट्टा तथा तस्करीको नाफालाई सुरक्षित रूपमा लगानी गर्ने क्षेत्रको रूपमा देखा प¥यो ।

अर्कोतर्फ नियमनकारी निकायका रूपमा रहनुपर्ने डिनको कार्यालय, विश्वविद्यालय तथा शिक्षा मन्त्रालयको अधिकारसमेत किटान नगरी दिइएका सम्बन्धनले इन्जिनियरिङ शिक्षालाई पूर्णरूपमा खुल्ला बजारको ‘माल’ जस्तै बनाइदियो । फलतः शुल्क निर्धारणमा निजी शैक्षिक संस्थाको मनोमानी हुन पुग्यो । पछिल्लो समय सुस्ताउँदै गएको मूलधारको विद्यार्थी आन्दोलन तथा राजनीतिक अस्थिरताको फाइदा लिँदै विगत १२ वर्षमा नै ५ गुणाभन्दा धेरै शुल्क वृद्धि हुन पुग्यो । यसरी आज आम नेपालीले चियाउनै नसक्ने स्तरसम्म इन्जिनियरिङ शिक्षा पुग्यो ।

अबको विकल्प के ?

नीतिगत रूपमा नै भुमरीमा परिसकेको जस्तो अवस्थामा पुगेको अहिले शैक्षिक अवस्था र आन्दोलनसामु सीमित मात्रै विकल्प छन् । अबको समाधानको बाटोलाई हामी दुई भागमा बाढेर हेर्न सक्छाँै–तात्कालीन र  दीर्घकालीन समाधान ।

तत्कालीन रूपमा विद्यार्थीका जायज मागलाई ध्यानमा राखेर तत्काल शुल्कमा मागबमोजिम न्यूनतम ५० प्रतिशत छुट दिने र आउँदै गरेको सेमेस्टर अन्तिम परीक्षा दिने वातावरण निर्माण गर्नुपर्छ । साथै यो दौरान भएका दमन तथा मुद्दाहरू फिर्ता गर्ने र घाइतेहरूको निःशुल्क उपचार हुनुपर्छ । यद्यपि यो दीर्घकालीन समाधान हुँदै होइन । दीर्घकालीन रूपमा नेपालको शिक्षा प्रणालीको प्रगतिशील र जनपक्षीय पुनर्संरचना हुनुपर्छ । नाफामूलक कम्पनीमा रूपान्तरण भएका निजी कलेजहरूलाई तत्काल सामुदायिक वा गैरनाफामूलक संस्था हुँदै राज्यको मातहतमा ल्याउने प्रक्रियाको थालनी गर्नुपर्छ ।

हालकै अवस्थामा पनि नियमन तथा शुल्क निर्धारणको अधिकार राज्यका निकायहरू खासगरी डिनको कार्यालय मातहत अनिवार्य ल्याउनुपर्छ । यसैगरी नाङ्गो व्यापारमार्फत अकुत नाफा कमाउने क्षेत्रको रूपमा बालुवा गिट्टी तस्करहरूको लगानी क्षेत्रको रूपमा इन्जिनियरिङ शिक्षालाई लुटतन्त्रको नियन्त्रणमै छोड्ने हो भने ढिलोचाँडो हिमालय, जनकपुर, एड्भान्स, नेसनल, कान्तिपुर कलेजको ढोकामा शान्तिपूर्ण धर्ना बसेका युवा विद्यार्थीहरू मसाल बोकेर सिंहदरबारको मूल ढोकामा आइपुग्नेछन् । यसतर्फ सरोकारवालाहरूको बेलैमा ध्यान जाओस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप