आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

तालिबानको कब्जाका बेला एक अफगानी महिलाको भयानक अनुभव

शुक्रबार, ०४ भदौ २०७८, ११ : ५४
शुक्रबार, ०४ भदौ २०७८

अफगानिस्तानमाथि तालिबानको कब्जापछि बीबीसीले काबुलमा एक महिलासँग कुरा गरेको छ । यी महिलाले अघिल्लो हप्तासम्म लगभग दुई वर्षसम्म अफगान सरकारका लागि काम गरिन् । उनले तालिबानले शहरमा नियन्त्रण लिएपछि र त्यसपछिको भविष्यबारे आफ्नो डरबारे कुराकानी गरेकी छिन् । 

यी महिलाले आइतबारको दिन उनको जीवनको सबैभन्दा भयानक दिन भएको बताएकी छिन् । यहाँ उनको कहानी उनकै शब्दमा दिइएको छ –

म बिहान आफ्नो कार्यालय गएकी थिएँ । त्यहाँ मैले एकमात्र महिला देखेँ । उनी ढोकामा तैनाथ एक सुरक्षाकर्मी थिइन् । त्यहाँ निकै कम मानिस थिए – यो सामान्य स्थिति थिएन । तालिबान शहरको प्रवेशद्वारमा आएका थिए । यसैका कारण मानिसहरु डराएका थिए । तर मलाई आतंककारी शहर भित्र प्रवेश गर्न सक्लान् भन्ने कुरामा विश्वास थिएन । 

मैले अपरान्हमा अफस छोडेँ । मैले आफ्नो मोबाइल फोन चार्जर र केही निजी दस्तावेज लिएकी थिएँ । म बैंकबाट केही पैसा निकाल्नका लागि गएँ किनभने हरेकले जतिसके उति पैसा निकाल्ने कोसिस गरिरहेका थिए । यद्यपि, त्यहाँ लाइन असाध्यै लामो थियो  । त्यहाँको स्थिति निकै तनावपूर्ण थियो । 

जब म बैंकमा प्रवेश गरेँ तब मैले आफ्नाी आमा, बहिनी र भाइको मिस्डकल देखेँ । यसले मलाई निकै त्रसित बनायो । केही भयो कि भन्ने अचानक डर जाग्यो । मैले आफ्नी आमालाई फोन गर्दा उहाँले निकै आत्तिँदै म कहाँ छु भनेर सोध्नुभयो । उहाँले मलाई छिटो घर आउन भनिन् किनभने तालिबान शहरको पश्चिमी इलाकामा आइसकेका थिए । 
‘म असाध्यै डराएकी थिएँ’

म अन्यौलमा थिएँ, आतंकित र असाध्यै डराएकी थिएँ । 

सबैजना डराइरहेका थिए । पसलेले पसलका ढोका लगाइरहेका थिए । सबैजना घर जाने कोसिस गरिरहेका थिए । मेरो भाइले मलाई फोन गरेर मलाई लिन आउने बतायो । तर सडक गाडीका कारण जाम भएको थियो । 

म त्यहाँबाट हिँडे र एउटा ट्याक्सी खोज्ने पनि कोसिस गरेँ । बाटोमा मैले मानिसहरुलाई दौडिरहेको देखेँ । म निकै डराइरहेकी थिएँ कि यदि तालिबानले  मलाई बाटोमा देखे भने उनीहरुले मलाई मार्नेछन् किनभने म आफ्नो अफिसको ड्रेसमा थिएँ । 

लगभग दुई घण्टापछि म अन्ततः आफ्नो घर पुगेँ । म यत्ति डराएकी थिएँ कि म आफ्नो परिवारसँग कुरासमेत गर्न सकिरहेकी थिइनँ । यो यस्तो दिन थियो जुन म कहिल्यै बिर्सन सक्दिनँ । म रातभरी डराएँ । मलाई लागिरहेको थियो कि कोही हाम्रो घरमा ढोका ढक्ढकाउन आउनेछन् ।’

त्यतिबेला सबैजना कतै लुक्ने कोसिस गरिरहेका थिए । म एक आफन्तको घरमा भागेर जान चाहन्थेँ तर बाटोमा समातिने हो कि भन्ने डरले मैले हिम्मत गर्न सकिनँ । 

‘हामीलाई तालिबानमाथि विश्वास छैन ’

म अब घरमा सुरक्षित महसुस गर्छु । यदि उनीहरु हाम्रो घरमा आए भने कसैलाई पनि थाहा हुने छैन कि मैले सरकारका लागि कहिल्यै काम गरेकी छु । तालिबानले भनेको छ कि उनका लडाकू मानिसहरुको घरमा प्रवेश गर्ने छैनन् । तर हामीलाई उनीहरुमाथि विश्वास छैन । म जतिबेला उनीहरुलाई टिभीमा हेर्छु, मलाई असाध्यै डर लाग्छ । म यसमा असाध्यै दुःखी छु ।’

हामीले उनीहरुको क्रुरता देखेका छौं । हामीले उनीहरुमाथि कसरी विश्वास गर्न सक्छौं ? अब मलाई डरका कारण रातभरी निद्रा लाग्दैन । 

म आफ्नो देश छोड्नका लागि भिसाको प्रतीक्षा गरिरहेकी छु । तर यस्तै होला भनेर भन्न सकिन्नँ । यदि म अफगानिस्तानमा बसेँ भने उनीहरुले के मलाई काम गर्न देलान् ? मलाई त्यस्तो लाग्दैन । म अफगानिस्तानमा आफ्नो भविष्य सुरक्षित देख्दिनँ । मलाई लाग्छ कि हाम्रो लागि सबैभन्दा समाप्त भयो ।’

मैले भविष्यका लागि आफ्नो आशा गुमाएकी छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप