बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

शुक्रबार, ०४ भदौ २०७८, ११ : ००
शुक्रबार, ०४ भदौ २०७८

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । 

प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरीले पोखराको मुख्य चोकहरू महेन्द्रपुल, बगर, चिप्लेढुङगा, अमरसिंह चोक, बुद्धचोक, पृथ्बीचोक, जिलो किलोमिटर लगायतका ठाउँमा चेकजाँच गरेर दर्जनौ सवारी नियन्त्रणमा लिएको छ । 

अनावश्यक काममा बाहिर हिँड्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा पोखराका विभिन्न स्थानबाट अहिलेसम्म १८८ वटा दुई पाङ्ग्रे सवारी साधन र १९ वटा चार पाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एवम् प्रहरी निरिक्षक अमृत बस्नेतले जानकारी दिए । उनका अनुसार कास्कीमा मात्र जोर बिजोर प्रणाली लागू भएकाले पोखराबाट बाहिरिने र पोखरा भित्रिने सवारीका साधनलाई सहजताका लागि पासको ब्यवस्था गरिएको बताए । 

अत्यावश्यक सेवाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । प्रशासनले ३ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ १० गते राति १२ बजेसम्मका लागि एक साता निषेधाज्ञाको समय थपेको छ ।
जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सबै क्षेत्रमा पुनः एक साता बन्देज लगाइएको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पूर्व निर्धारित बाहेकका परीक्षा सञ्चालन नगर्न भनिएको छ । 

भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ । पूर्व निर्धारित वैवाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ । त्यस्तै सार्वजनिक सवारीको ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, यात्रु चालकले अनिवार्य मास्क लगाउनुपर्ने र सहचालकले अनिवार्य मास्कसहित फेस शिल्ड र पञ्जा समेत लगाउनुपर्ने प्रशासनले आदेश जारी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप