बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा भारतबाट फर्कनेहरुका कारण कोरोनाको जोखिम बढ्दो

शुक्रबार, ०४ भदौ २०७८, ०९ : ४४
शुक्रबार, ०४ भदौ २०७८

कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका दुई सीमा नाका हुँदै भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ ।

भारतका विभिन्न स्थानबाट कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी सीमा नाका हुँदै भारतबाट नेपालीहरु फर्किन थालेका हुन् ।

कोरोना महामारी सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेशमा संक्रमणको जोखिम यथावत छ । यी नाका हुँदै नेपालीहरु निर्वाध आउजाउ गर्नाले कोरोनाको संक्रमण दर नियन्त्रणमा चुनौती कायम रहने सशस्त्र प्रहरी बल, कञ्चनपुरका प्रमुख विरेन्द्र ऐरले रातोपाटीलाई जानकारी दिए । सीमा नाका व्यवस्थित र चेकजाँचलाई कडा नतुल्याएसम्म कोरोनाको जोखिम कायम रहने उनको भनाइ छ ।

कैलालीको त्रिनगर भन्सार नाका र कंचनपुरको गड्डा चौकी नाकाको तथ्याङ्क अनुसार यी दुवै नाकाबाट साउन २९ गते कुल ७३४ जना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएका छन् भने ८४६ जना भारततर्फ गएका छन् ।

यस्तै, साउन ३० गते ९१० जना भारतबाट नेपाल फर्केका छन् भने ७२६ जना भारततर्फ गएका छन् । ३१ गते एक हजार १६९ जना भारतबाट नेपाल आएका छन् भने ५९४ जना भारततर्फ गएका छन् । साउन ३२ को तथ्याङ्क उपलब्ध हुन सकेन भने भदौ १ गते ८६९ जना नेपाल आएको तथा ७०० जना भारततर्फ गएको देखिन्छ ।

यस्तै, २ गते ९११ जना नेपाल फर्केका छन् भने ७४६ जना भारततर्फ गएका छन् । ३ गते भने ४४३ जना नेपाल आएका तथा ६४६ जना भारततर्फ प्रस्थान गरेको तथ्याङ्क छ ।

भारतबाट उल्लेख्य संख्यामा नेपालीहरु फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

भारतका विभिन्न राज्यमा अझै कोरोनाको जोखिम उच्च रहेका कारण भारतबाट आउने नेपालीहरुमार्फत नेपालमा संक्रमण दर जोखिमपूर्ण अवस्थामा पुग्न सक्ने उनीहरुको भनाइ छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला सीमा नाका व्यवस्थित नगरिएका कारण प्रदेशमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको थियो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारी तथा अन्य कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व सहित गौरा चाड, तीज, जात्राहरू तथा दशैं–तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढ्ने गर्दछ ।

चडपर्व नजिकिएकाले पनि भारतमा रोजगारीमा रहेका वा अन्य कामका लागि गएका सुदूरपश्चिम प्रदेशका बासिन्दाहरू घर फर्किने क्रम बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाका केही व्यवस्थित भए पनि कैलाली र कञ्चनपुरसँग जोडिएको त्रिनगर नाकामा भने थुप्रै समस्या छन् ।

सुरक्षा अधिकारीहरूले त्रिनगर नाकामा एकीकृत टोली गठन गरी महामारी नियन्त्रण तथा व्यवस्थापनमा जुट्नुपर्ने सुझाव दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीले सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने, संक्रमित पुष्टि भएकालाई आइसोलेसनमा राख्ने लगायतको व्यवस्थापन गर्न एकीकृत टोली बनाउनुपर्ने बताए ।

‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि सबै आ–आफ्नै तरिकाले नाका व्यवस्थापनमा लागेकाले दुई पटक प्रदेशमा कोरोना महामारी फैलियो,’ उनले भने, ‘अब सबैले एकै सोचका साथ समुदायस्तरमा महामारी फैलन नदिन काम गरौं ।’

प्रहरी उपरीक्षक अधिकारीले कैलालीको मोहना पुलपारी विद्युतीय रिक्सा, टेम्पो, नगरबस लगायतका सवारी साधन जानबाट रोक्नु उचित हुने बताए । ‘सीमा नाकामै सवारी साधनहरूको चाप हुन्छ, भारतबाट प्रवेश गरेका व्यक्तिहरू तिनै सवारी साधन प्रयोग गरी आ–आफनो क्षेत्रमा गइरहेका छन्,’ उनले भने, ‘मोहना पुलवारी नै सवारी साधन पार्किङको व्यवस्थापन गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप