समाचार

लन्डनमा अनसनरत भूपू गोर्खाले १३ औं दिनमा तोडे अनसन

person explore access_timeभदौ ३, २०७८ chat_bubble_outline0

विगत १३ दिनदेखि आमरण अनसनमा बसेका  भूपू गोर्खाहरुले आजबाट अनसन तोडेका छन् । बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका हुन् ।  


समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले जुलाई २१ देखि १७ दिने रिले अनसनपछि हाल १३ दिनदेखि आमरण अनसन बस्दै आएका थिए । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनमा बस्दै आएका थिए ।



सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनसन तोडिएको बताए ।  ‘जुन किसिमको माग राखेर भोक हड्ताल शुरु गरिएको थियो सोहि अनुरुप दुवै देशका सरकारबीच सहमति भएकाले अनसन तोडिएको हो’ उनले भने ।



राजदूत रेग्मी र दूतावासकी उपनियोग प्रमुख रोशन खनालको योगदान सह्रानीय रहेको राईले बताए । ‘गोर्खाका मुद्दामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको छ । प्राविधिक संयन्त्रको सिफारिसकै जगमा बेलायत, नेपाल र गोर्खाहरु सहितको वार्ताको सहमति बनेको छ’ उनले  भने ।  

सहमतिअनुसार आगामी सेप्टेम्बर ८ मा बेलायत सरकारका अधिकारी र नेपाली अधिकारी तथा गोर्खाहरुबीच प्रारम्भिक  छलफल हुने र डिसेम्बर महिनाबाट वार्ता शुरु हुने प्रमुख संयोजक राईले जानकारी दिए । उनीहरुको यो आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र सिंगो नेपाली समुदायले ऐक्यबद्धता प्रकट गरेको थियो ।

 साथै, बेलायतका भेट्रानहरु, विभिन्न राजनीतिक दल तथा नेता र आम समुदायले समेत उनीहरुलाई व्यापक रुपमा समर्थन जनाएका थिए । अनसनरत  भूपू गोर्खाहरुको विषयलाई लिएर आजमात्र सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत सरकारसँग वार्ता गर्न र आमरण अनसनमा रहेका तीन जना  भूपू गोर्खाहरुको जीवन रक्षाका लागि आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।