सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हाइड्रोपावरको नक्कली कागजात बनाएर ठग्ने भारतीय नागरिक पक्राउ

बिहीबार, ०३ भदौ २०७८, २२ : ०७
बिहीबार, ०३ भदौ २०७८

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश स्थित सिमला घर भएका रविकुमार सिंह छन् । 
उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित सेती पाखाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । 

सुर्खेतको लाटीकोइली गाविस–७ मा जन्मेको भनेर कैलालीबाट नागरिकता बनाएका सिंहले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौता गरेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।  लाजिम्पाटमा रहेको रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालि को नक्कली लेटरप्याड र छाप प्रयोग गरेर सिंहले १ करोड रुपैयाँ ठगी गरेको अनुसन्धानबाट थाहा भएको छ । रोयल हाइड्रोका अध्यक्ष सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले आफ्नो कम्पनीको नाममा ठगेको उजुरी गरेपछि महाशाखाले सिंहबारे अनुसन्धान शुरु गरेको थियो । ‘रोयल हाइड्रो कन्स्ट्रक्सनको अध्यक्ष मै हुँ’ भनेर रविकुमारले ठगी गरेको आरोप छ । 

धनुषा घर भएका प्रदीपकुमार शाहसँग रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ मासिक १ लाख ५० हजार भाडा दिन्छु भन्दै सिंहले ब्रेजा कार लिएर सम्पर्कविहिन भएका थिए । महाशाखाबाट खटिएको टोलीले धनुषाका न्यू शाह एण्ड इन्टरप्राइजेजका सञ्चालक शाहसँग लिएको प्रदेश–३–०१–०२३च ००५० नम्बरको ब्रेजा कारसहित पक्राउ गरेको छ । 

सिंहले हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौता गरेर गाडी र मोटरसाइकल लिने र नक्कली ब्लुबुक बनाएर बेच्ने गरेको एसएसपी खापुङ्गले रातोपाटीलाई बताए । उनले भने–‘गाडी भाडामा लिएर बेच्ने र विश्वास दिलाउनका लागी चेक दिने गरेको खुलेको छ ।’ 

रविकुमार सिंहले विभिन्न मानिसहरुलाई १२ करोड भन्दा बढीको चेक दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीविरुद्ध प्रहरीले बैंकिङ्ग कसुर, नागरिकता किर्ते र ठगीमा अनुसन्धान गरिरहेको छ । जनकपुरमा उनीविरुद्ध संघर्ष समिति गठन भएको थियो । बुटवलका हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई ‘बुटवल–नारायणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको सव–कन्ट्रयाक्ट छ, मेरो अञ्जली कन्स्ट्रक्सनसँग साझेदारी छ’ भनेर लगानी गर्न आग्रह गर्दै ४३ लाख ७३ हजार लिएका थिए । विश्वास दिलाउन उनले मल्ल र श्रेष्ठलाई कुमारी बैंकको चेक दिएका थिए । 

सिंहले एउटा कम्पनीको नाममा ठगी गरेपछि सिमकार्ड परिवर्त गर्ने गरेका थिए । उनले नेपाल टेलिकम र एनसेलका २१ वटा सिमकार्ड चलाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप