शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेड कर्नरमा प्रहरीको सफलता : पोर्चुगलपछि अमेरिकातिर नजर

पवनकुमार कार्कीलाई अमेरिकाले सुपुर्दगी गर्ला ?
बिहीबार, ०३ भदौ २०७८, २२ : ३०
बिहीबार, ०३ भदौ २०७८

नेपाल र पोर्चुगलबीच सुपुर्दगी सन्धी नभए पनि पोर्चुगलले रेड कर्नर नोटिसकै आधारमा वित्तीय अपराधमा संलग्न केदार ढुङ्गानालाई पक्राउ गरेर नेपाललाई बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो र इन्टरपोल शाखाको ध्यान अब अमेरिकातिर केन्द्रित भएको छ ।

नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर अमेरिका पुगेको अभियोगका खोजीको सूचीमा रहेका पवनकुमार कार्कीलाई पनि ढुंगानालाई जस्तै गरी नेपाल ल्याउन सकिनेमा प्रहरी अधिकारीहरु आशावादी देखिएका छन् ।

सीआइबीका डीआइजी धिरजप्रताप सिंह पोर्चुगलबाट केदार ढुङ्गानालाई पक्राउ गरी नेपाल ल्याउन सक्नु संगठनको सफलता भएको बताउँछन् । अब आफूहरुको ध्यान अमेरिकामा रहेका पवनकुमार कार्कीतर्फ सोझिएको उनी बताउँछन् ।

डीआइजी सिंह भन्छन्, ‘पोर्चुगलको सफलताबाट हामी केही उत्साहित र आशावादी छौँ, अब हामी अमेरिकामा रहेका कार्कीलाई नेपाल ल्याउनेबारे थप मेहनत सुरु गर्छौँ ।’

कार्की कसरी पुगे अमेरिका ?

२०६६ सालतिर तत्कालीन क्यापिटल मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडका प्रबन्ध निर्देशक थिए पवन कुमार कार्की । उनले विभिन्न २० वटा कम्पनी खडा गरेर ती कम्पनीहरुका नाममा ऋण लिई उक्त ऋण अनियमितता गरेका थिए ।

२०६५–६६ सालदेखि कार्कीले ऋण लिई अनियमितता गरेका थिए । २०६८ सालमा उनीविरुद्ध ५७ वटा मुद्दा दायर भएका थिए । १०२ जनालाई प्रतिवादी बनाइएको मुद्दामा ४६ जनाले सफाइ पाएका थिए भने ५६ जनाविरुद्ध कैद सजाय तथा जरिवानाको फैसला भएको थियो ।

ती मुद्दामा २०७१ वैशाखमा तत्कालीन पुनरावेदन अदालत पाटनले कार्कीसहितका ५६ जनालाई दोषी ठहर गर्दै कार्कीका नाममा ४९ करोड ५९ लाख ७० हजार १४१ रुपैयाँ जरिवाना तोकेको थियो ।

तर, यता खोजी हुनै लाग्दा कार्की अमेरिका भागिसकेका थिए । कार्की कुन भिसामा कसरी अमेरिका पुगे भन्ने अहिलेसम्म खुलेको छैन । यद्यपि उनी डीभी परेर अमेरिका पुगेको प्रहरीको बुझाइ छ ।

प्रहरीका अनुसार कार्कीले नेपालबाट बैंक ठगी गरेर लगेको पैसाले टेक्सासमा ‘नमस्ते इण्डिया’ नामको ग्रोसरी पसल सञ्चालन गरेका छन् ।

अमेरिकाका विभिन्न स्थानमा उनले व्यापार गरिरहेका छन् र हाल अमेरिकाकै नागरिकसमेत बनिसकेका छन् ।

कार्कीमाथि डिफ्युजन नोटिस र रेड कर्नर नोटिससमेत जारी भइसकेको छ । अमेरिकासँग बारम्बार कुरा भइरहेको भए पनि अमेरिकाले भने कार्की आफ्नो नागरिक रहेको भन्दै दिन नमिल्ने बताइरहेको प्रहरीको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप